Techie IT
×
गृहपृष्ठसहकारी–कृषिदाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्


देउखुरी । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा धानप्रति क्विन्टल दुई हजार दुई सय रुपैयाँमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताए । ‘महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएजस्तो हुन्छ’, उनले भने । यस्तै लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रतिक्विन्टल दुई हजार एक सय रूपैयाँमा स्थानीय व्यापारीलाई बेचेको बताए । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यसवर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनको भनाइ छ । उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गरे ।

लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यसवर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार एक सय रुपैयाँ र मसिनो धान प्रतिक्विन्टल दुई हजार पाँच सय रुपैयाँमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उनले बताए । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय २८ रूपैयाँ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ रुपैयाँभन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् ।

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । संघीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन ।

भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उनले बताए । कृषि ज्ञान केन्द्र दाङको तथ्यांकअनुसार ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया