Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगाउँ नै गोलभेँडाको व्यावसायिक खेतीमा

गाउँ नै गोलभेँडाको व्यावसायिक खेतीमा


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ को एउटा सिङ्गो गाउँ नै व्यावसायिक गोलभेडा खेतीमा सक्रिय रहेका छन् । यहाँका स्थानीयले वर्षाैदेखि व्यावसायिकरूपमा गोलभेँडा खेती गर्दै आएका हुन् । पालिकाको वडा नम्बर ४ को काब्रे उनियाचौर गाउँका १८ घरधुरी घरपरिवारले परम्परागत खेती प्रणालीलाई त्यागेर व्यावसायिक गोलभेँडा खेतीमा लागेपछि यस गाउँलाई धेरैले गोलभेँडाको गाउँ भनेर चिन्न थालेका छन् ।

समुद्रीसतहदेखि एक हजार छ सय ८९ मिटर उचाइमा रहेको उनियाचौर गाउँका स्थानीयले यसवर्षको पहिलो सिजनमा फलाएको गोलभेँडा बेच्न भ्याइसकेका छन् । १६ वर्षअघि २०६३ सालदेखि नियाचौर गाउँमा चन्द्र बहादुर दाहाल र शिव दाहालले पहिलो पटक गोलभेँडाको खेती सुरु गरेका थिए । त्यसयता गाउँका एकपछि अर्को किसानले खेती गर्न थालेका हुन् । अहिले यहाँको सिङ्गो गाउँ नै गोलभेँडा खेतीको थलो बनेको छ । सोही गाउँका गोलभेडा कृषक गोरे सार्कीका अनुसार यहाँका सबै किसानको बारीमा गोलभेँडाको टनेल छ । उनले भने अन्य कृषकको भन्दा थोरै गोलभेँडा लगाएको बताए । उनले घरमाथिको पाखोबारीमा छवटा गोलभेडाको टनेल हालेका छन् । घरखर्च चलाउने आम्दानीको प्रमुख स्रोत गोलभेँडा नै बनाएको उनले बताए ।

उनका अनुसार गाउँका १८ घरपरिवारका दुई सय १७ वटा गोलभेँडाको टनेल रहेका छन् । सुरुमा सो गाउँमा चन्द्र बहादुर दाहाल र शिव प्रसाद दाहाल दाजुभाइको गोलभेडा खेतीमा प्रतिस्पर्धा नै हुने गथ्र्यो । तर पछि गाउँमा एकपछि अर्कोले खेती गर्दै गएपछि सिगो गाउँ नै गोलभेँडाको गाउँ बन्न पुगेको कृषक शिव दाहाल बताउँछन् । सुरु–सुरुमा गाउँका कतिपय किसानले स्थानीय सहकारीबाट सहुलियत ऋण लिएर समेत गोलभेँडा खेतीमा लागेका थिए । अहिले गोलभेँडाले नै आफूहरुलाई आत्मनिर्भर बनाएको उनीहरुको भनाइ छ । दाहालका अनुसार उनियाचौरको माथिल्लो र तल्लो क्षेत्रमा लगाइएको गोलभेँडाबाट सिजनमा एक करोडभन्दा माथिको कारोबार हुनेगरेको छ ।

गाउँमा उत्पादन भएको गोलभेडा बिक्री गर्न बजार अभाव भएपछि तराईका जिल्लामा समेत बैतेश्वर काब्रेको गोलभेँडा पुग्ने गरेको छ । गाउँमा उत्पादन गरिएको धेरैजसो गोलभेँडा स्थानीय बजारमा मात्रै खपत नहुने भएकाले यहाँका व्यवसायीले बाहिरी जिल्लाका व्यापारीलाई गाउँमै गोलभेँडा लिन बोलाउने गरेका छन् । स्थानीय बजारमा गोलभेडा बिक्री गर्न सहज नहुँदा बजार मूल्यभन्दा सस्तोमा अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको यहाँका किसानहरुले बताएका छन् । यहाँका किसानले आफूलाई व्यस्त राख्न गोलभेँडाबाहेकको अन्य बेमौसमी तरकारी खेती गर्दै आएका छन् । यो समय गाउँमा गोलभेँडा, साग, काउली, मुला, लसुन तथा आलुखेतीले गाउँ नै हरियाली देखिएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया