Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशस्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु


बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ ।

ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउँछिन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।

ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।

बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।

बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । “आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्”, व्यवसायी अर्जुन चोखालले भने, “स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।”

पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । “पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ”, थोक बिक्रेता गोपाल कँडेलले भने, “बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।”

उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको राससलाई बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।

स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । “स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन”, सापकोटाले भने, “पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।” स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बैंसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।

अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्याङ्क छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्याङ्क छ । प्रतिकिलो रु. ३० मा मात्रै बेच्न सक्दा किसानले रु. एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए ।

उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । “बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ”, भट्टराइले भने, “राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।”

ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।

आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।

आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।

“जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्याङ्क राखिएको छ”, पुनले भने, “बजारमा आलुको मूल्य रु. ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।” तथ्याङ्कका लागि किसानले रु. ३० मात्र पाएको रेकर्ड बनाए पनि रु. एक अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, सहकारी–कृषि

तपाईको प्रतिक्रिया