Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन सीईओहरूलाई सुझाव

सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन सीईओहरूलाई सुझाव


काठमाडौं । सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई सरोकारवालाहरूले सुझाव दिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजनामा राजधानीमा बुधबारदेखि सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठीका वक्ताहरूले वित्तीय सुशासनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

यस्तै उनीहरूले सहकारीका सञ्चालकहरूले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरूले गर्नुपर्ने समेत सुझाव दिएका छन् । यस्तै अधिकांश सहकारीकर्मीहरूले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेकोप्रति चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए । ‘देशमा आर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ? किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’, घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’ यस्तै उनले सहकारी गाउँ–गाउँमा गरिब किसानहरूको साना–साना पुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको बताए ।

पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृत्ति बढ्दै गएको भन्ने गुनासाहरू पनि आइरहेको भन्दै उनले यस्तो कार्यलाई नियन्त्रण गर्नुपर्ने बताए । यस्तै उनले सात खर्बभन्दा बढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित नभएको बताए । ‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामी पनि चाहँदैनौँ, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’ उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो । सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस् ।’ कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताए । सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरू भने समस्यामा फसेको उनको भनाइ थियो । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले उनीहरू अझ बढी जिम्मेबार हुनुपर्ने उनले बताए ।

‘उद्यमी बन्न ऋण प्राथमिकता दिनुपर्छ, घरघडेरीमा ऋण दिन कडाइ गर्नुपर्छ । चलायमान हुने ठाउँमा मात्र ऋण दिए आर्थिक रूपान्तरण हुने हो । तर, अधिकांश संघ संस्थाले घडेरीमा ऋण लगानी गरेका छन्, कतिपय सहकारी आफैँले घडेरी किनलेकाले समस्या आएको हो’ उनले भने । बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दवाडीले भने, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौँ ।’ उनले पनि सहकारीमा २५ लाखको सीमा हटाउन माग गरे । सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनरविचार हुन सक्ने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताए । ‘सहकारीमा केही चुनौती थपिएका छन् । सहकारी तीन तहमा गए पनि तल संरचना बन्न नसक्दा समस्या आएको हो’, सचिव रेग्मीले भने, ‘कोभिडका कारण समग्र वित्तीय क्षेत्र नै आक्रान्त बन्दा समेत सहकारीमा असर परेको छ । सहकारीकर्मीहरू सचेत भए वित्तीय सुशासन कायम गर्ने हो भने समस्या आउँदैन’ उनले भने ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेको बताए । सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको उनको भनाइ छ । ‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, ती सहकारी होइन, बदनाम गरिरहेका छन्’, उनले भने । देशैभरि सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौँ बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थअनुकूल खोलिएका कम्पनीमा लगानी गर्दा समस्या आएको उनले बताए । विश्वमै आएको समस्या नेपाली वित्तीय क्षेत्रमा पर्नु स्वाभाविक भए पनि सहकारीमा त्यसको असर नपरेको उनको दाबी छ । सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशतभन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनको भनाइ थियो । ‘सीईओ भ्रष्ट भए, सहकारी बदनामी हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ, निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’, उनले भने ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष परितोष पौडेले सहकारीका चालक (व्यवस्थापक)हरू सक्षम भए संस्थाहरू दुर्घटनामा नपर्ने बताए । नेपालका सहकारीलाई स्थरीकरण र स्तरीकरण गर्नुपर्नेमा उनले जोड दिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया