Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिएभोकाडो खेतीमा रमाउँदै सोलुका किसान

एभोकाडो खेतीमा रमाउँदै सोलुका किसान


सोलुखुम्बु । पोषिलो र बहुउपयोगी फलको रूपमा परिचित एभोकाडो अर्थात् घिउफलको माग नेपाली बजारमा उच्च भए पनि उत्पादन भने सीमित छ । संसारभर लोकप्रियता आकाशिँदो रहेको यस फलको खेती तर्फ सोलुका किसान अग्रसर देखिएका छन् ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका केशव राईले पाँच वर्षअघि विस्तार गरेको एभोकाडोको बिरुवाले अहिले उत्पादन दिन थालेको छ । परीक्षणका लागि रोपेको एभोकाडोको बिरुवाले अहिले राम्रो उत्पादनसँगै आम्दानी दिन थालेपछि राई निकै दङ्ग छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले करिब दुई वर्षअघि देउसा क्षेत्रमा १२ सय ५० बोट एभोकाडोको बिरुवा वितरण गरेको थियो । ती बिरुवाहरू अहिले हुर्किरहेको कृषकहरू बताउँछन् । जिल्लामा हाल १३ सय बोटजति एभोकाडोको बिरुवा हुर्किरहेको ज्ञान केन्द्रको अनुमान छ । बलौटे माटोमा खेती गर्न सकिने एभोकाडो जिल्लाकोे थुलुङ दुधकोशी, नेचासल्यान, सोलुदुधकुण्डलगायतको क्षेत्रमा लगाउन सकिने कृषि प्राविधिकहरू बताउँछन् । करिब पाँच वर्षअघि रोपेको बिरुवा अहिले राम्रो आम्दानीको स्रोत बन्न थालेको नेचासल्यान ४ सिरान्देलकी शान्ती राईको भनाइ छ ।

वातावरणीय हिसाबमा समेत बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित भएको छ ।

बजारमा यसको माग उच्च रहेकाले कृषिबाटै आम्दानी लिन चहानेहरूका लागि यस फलको खेती उपयुक्त हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत कुलबहादुुर राई बताउँछन् । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमिनले पनि अबको दिनमा करोडौँको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ । एभोकाडोलाई त्यतिकै खान पनि सकिन्छ भने धेरै उत्पादन भए क्रिम, बटर, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालुएडेड चिजहरू बन्छ । नेपालमा फैलिँदै गरेको यो बालीले नयाँ प्राविधिक उत्पादनको आह्वान गरिरहेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया