Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई गहुँ भित्र्याउन समस्या

किसानलाई गहुँ भित्र्याउन समस्या


दोलखा । किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो छ । मंसिर पुसमा छरेको गहुँ हिजोआज खेतैभरि पहेँलपुर भएर पाकेका छन् । गहुँ समयमा पाके पनि मौसम खराबीका कारण किसानले भित्र्याउन भने पाएका छैनन् ।

केही दिनदेखिको वर्षाले खेतमै गहुँ कुहिन थालेको स्थानीय किसानको गुनासो छ । गहुँ काट्ने, चुट्ने र थन्क्याउने सिजन चलेकै समय मौसम धुम्म बन्दै लगातार झरी परेपछि किसान समस्यामा परेका हुन् । पाकेको गहुँबाली काटेर सके पनि घाम नलागेको कारण सुकाउन नपाएकाले गहुँमा कालो पसेर कुहिन थालेको स्थानीय किसान दल बहादुर राउतले बताए । उनका अनुसार यतिबेला जिल्लाका टारी खेतमा लगाइएको गहुँ काट्ने समय सुरु भएको छ । गहुँ काट्ने तथा टिप्ने चटारो चलिरहेको समयमा मौसममा आएको खराबीले जिल्लाका सबै गहुँ किसान मारमा परेको उनले बताए ।

पछिल्लो दुई सातादेखि दोलखामा मौसम खुल्न सकिरहेको छैन । लगातार मौसम धुम्म हुने तथा छिनछिनमा पानी पर्ने क्रम जारी छ । जिल्लाको बैतेश्वर गाउँपालिकाका किसानीले खेतमा गहुँ काटेर तिर्पाल ओढाएर राखेका छन् ।

यहाँका सयौँ रोपनी खेतमा लगाइएको गहुँ घाम नलागेको कारण काट्न र कुट्न समस्या भएको किसान नविन दाहालले बताए । दाहालले १० रोपनी खेतमा लगाएको गहुँ काट्न भ्याए पनि घाम नलागेको कारण कुट्न नपाएको बताए । गत वर्ष असिनाले धेरै गहुँ क्षति गरेको थियो । यसवर्ष अहिलेसम्म असिना नपरेको भए पनि पानीले गहुँ काटेर थुपारेकै ठाउँमा कुहिएर उम्रिन लागेको अर्का किसान गणेश कार्कीले बताए ।

यस्तै गहुँबालीको खेती वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्या रहँदै आएको बेला यहाँका किसान पछिल्लो समय प्रविधिको प्रयोग गर्दै गहुँ कुट्ने गरेका छन् । परम्परागत गहुँ झार्ने शैलीलाई त्यागेर जिल्लाका किसान थ्रेसरप्रति आकर्षित भएका हुन् । तर दुई तीन दिन गहुँ नसुकाए थ्रेसरले गहुँ नचुट्ने हुँदा किसानलाई घाम नलागेर गहुँ भित्र्याउन समस्या भएको हो । अझै मौसम खुल्न नसकेकोले गहुँ बालीमा थप क्षति हुने भन्दै यहाँका किसान चिन्तित बनेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया