Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिजानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै

जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै


महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमी शुक्रबारका दिन धुमधामका साथ जानकी नवमी मनाइँदैछ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित गरिएको विविध धार्मिक अनुष्ठान शुक्रबार सम्पन्न हुँदैछ ।

हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ ।

सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउछन् ।

जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण मानिएको छ । पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान जताततै गुञ्जिरहेका छन् ।

यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन हुनुका साथै मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् ।

यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरका साथै घरघरमा तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको थियो । जानकी मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । मन्दिरमा पूजा गर्न देशका विभिन्न भागका साथै भारतबाट पनि भक्तजनको आगमन भएको छ ।

यसै पावन अवसरमा मधेस प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार बिहानै जनकपुरधामस्थित दुधमती नदीमा शाहीस्नान सम्पन्न भएको छ । यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ ।

जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले शुक्रबार मध्याह्न विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकारी दिएका छन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x