Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारभन्सारमा थन्किए नयाँ गाडी, राजस्वमा पर्‍यो अर्बौँको मार

भन्सारमा थन्किए नयाँ गाडी, राजस्वमा पर्‍यो अर्बौँको मार


काठमाडौं,वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) परिसर अहिले नयाँ सवारी साधनले भरिभराउ छन्।

हाल चौकी परिसरमा जिप, कार, भ्यान, बस, ट्रक टिपरका नयाँ च्यासिस, ट्र्याक्टर, ट्याम्पो, मालवाहक सवारीसाधन गरी २ हजार भन्दा बढी सवारीसाधन आयातकर्ताले नलगेको अवस्थामा असरल्ल छन्।

यसरी आयातकर्ताले जाँच पास गराएर नलग्दा वीरगन्ज भन्सार नाकामा ठूलो सङ्ख्यामा नयाँ सवारीसाधन थन्किएको कारण स्थान अभावसँगै राजश्व सङ्कलनमा पनि प्रभाव परेको अधिकारीहरूले जनाएका छन्।

आयातकर्ताले पुरानै प्रतीतपत्रमार्फत् भारत तथा तेस्रो मुलुकबाट मगाएका सवारीसाधन भन्सार परिसरमा ल्याएर पार्किङ गरी राख्ने गरेका छन्।अत्यधिक मात्रामा सवारीसाधन थन्किएपछि चौकी परिसरमा पार्किङको समस्या भएको छ।

नेपाल इन्टर मोडल यातायातका अनुसार चौकी परिसरमा कुल २,४८४ नयाँ सवारी साधन थन्किएको एक वर्षभन्दा बढी दिन पुग्दा समेत आयातकर्ताले लगेका छैनन्।

के भन्छन् सरोकारवाला?
भन्सारमा अड्किएका सवारीसाधनको निकासको सम्बन्धमा सरोकारवालाहरू बिचको बैठक बसे पनि तथा हालै सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरे पनि विभिन्न बाधा अवरोधका कारण अझ पनि समस्या रहिरहने बताइएको छ।

इन्टर मोडल यातायात विकास समिति एवम् एकीकृत सुरक्षा जाँच चौकीका प्रमुख कमल ज्ञवाली भन्छन्, “विगत केही महिनादेखि देखिएको सवारीसाधन थन्किने समस्या अझ पनि उस्तै छ। अहिले पनि २ हजार भन्दा बढी सवारीसाधन थन्किएका छन्।”

“हालै थोरै भए पनि गाडी निकाल्ने कार्य भइरहेको छ तर गाडी थपिने क्रम पनि जारी रहँदा गाडीको सङ्ख्या भने घटेको छैन। यसले अब पार्किङमा एकदमै समस्या भइरहेको छ। अब चौकीमा स्थान खालि छैन। अब गाडी आयो भने कता राख्ने भन्ने चिन्ता पनि छ।”

वीरगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालले सवारीसाधन त्यसरी आइसिपीमा थन्किँदा सबैभन्दा बढी राजश्वमा प्रभाव परेको बताए।

“अब अहिले आयातकर्ताले समयमा नलगेको २ हजार जति नयाँ गाडी छन्। यो भन्दा पहिले यस्तो कहिले भएको थिएन। आयातकर्ताले बजारमा गाडी लग्न नसक्दा त्यसको प्रभाव राजश्वमा परेकै हो।”

“गत वर्ष यही अवधिमा १५ अर्ब रुपैयाँ जति नयाँ सवारीसधान आयातबाट मात्रै राजश्व आम्दानी भएको थियो। चालु आर्थिक वर्षको अहिलेको यही अवधिमा ३ अर्ब रुपैयाँ जति मात्रै सवारीसाधनबाट राजश्व आम्दानी भएको छ। करिब ११/१२ अर्बको घाटा सवारीसाधन थन्किएकै कारण भएको छ।”

किन थन्कियो सवारीसाधन?
आयातकर्ताले थन्किएका सवारीसाधन राख्न पाउनुपर्ने माग गरिरहँदा आइसीपी परिसरमा भने अब नयाँ सवारीसाधन राख्ने स्थानको अभाव पूर्ण रूपमा भएकै छ। यसले आइसिपीलाई मात्र नभई आयातकर्ताका लागि पनि उत्तिकै असहज वातावरण सिर्जना गरेको आयातकर्ताहरूको गुनासो छ।

नेपालमा नयाँ गाडी किन्ने क्रम ह्वात्तै घटेपछि आयातकर्ताले प्रतीत पत्र (एलसी) खोलेर ल्याएका गाडी समेत भन्सार पास नगराइकन थुपारेका छन्।यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ताहरू सिप्रदी, टोयोटा, आईएमई मोटर्स , लक्ष्मी ईन्टरकन्टिनेन्टल, अग्नी ईन्कर्पोरेटेड, युनाईटेड ट्रेडर्स लगायतका रहेका छन्।

असरल्ल थन्किएका गाडीमा करिब ६ करोड रुपैयाँसम्म मूल्य पर्ने सवारीसाधन समेत छन्। ब्याङ्कले सवारीसाधन किन्न प्रदान गर्दै आएको कर्जा ‘अटो लोन’ मा कडाइ गर्दा नयाँ सवारीसाधनको खरिदबिक्री नै ठप्प भएकाले तत्काललाई सवारीसाधन छुटाएर गन्तव्यसम्म लग्न असमर्थ रहेको आयातकर्ताहरूले बताउँदै आएका छन्।

मागमा मन्दीको मार?
चर्को ब्याजका कारण आर्थिक गतिविधि सुस्ताएका बेला मागमा मन्दी आएको भन्दै अर्थविद्हरूले त्यसैका कारण आयात खस्किएको बताउँदै आएका छन्।

भन्सार आइपुगेका गाडी भित्र्याउन सरकारले तोकेको भन्सार तिर्नुपर्ने तर भन्सार तिरेर सवारीसाधन भित्र्याउने आर्थिक क्षमता व्यवसायीसँग नभएको कारण समस्या भएको व्यापारीहरूको भनाइ छ ।

आयातकर्ताहरू मध्ये महिन्द्र कम्पनीका आयातकर्ता विक्की सिँह भन्छन्,“एकातिर बजार माग छैन अर्कोतर्फ सरकार तथा नेपाल राष्ट्र ब्याङ्कको अव्यवहारिक नीतिले हामी आयातकर्ता र व्यवसायीलाई आर्थिक भार मात्रै परेको छ।”

ब्याङ्कले सवारीसाधनमा लगानी तथा ऋणमा सहजता प्रदान गरेको छैन। यसले झन् आयातकर्तालाई नै चारैतिरबाट मार परेको छ। पैसाकै अभावमा निकाल्न नसक्दा प्रत्येक दिन आइसिपीमा गाडी थन्किएकै कारण तिर्नुपर्ने जरिबानाले झन् आर्थिक भार परेको छ।”(बीबीसी)


क्याटेगोरी : अटो बजार

तपाईको प्रतिक्रिया