पोखरा महानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया
घरलगायत सम्पत्तिहरूको बीमा गराउन आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा सोमबार बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरभित्रका घरलगायत सम्पत्तिहरूको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरे ।
अध्यक्ष सिलवालले आर्थिकरूपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गरे । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बीमादाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमासम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा महानगरलाई सहयोग गर्न प्राधिकरणसँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घरलगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल (अधिकारी)ले बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरूले बीमादाबी भुक्तानी प्रक्रिया जटिल रहेको, बीमा कम्पनीबाट दाबी भुक्तानी पहुँचवालाले सहजै पाउने तर सामान्य नागरिकले दाबी भुक्तानी पाउन कठिन हुनेगरेको, सरकार र महानगरपालिकाको अनुदानमा गरिएको कृषि तथा पशुपन्छीको बीमा दाबी भुक्तानी नहुनेगरेको, हुँदै नभएको बाली र पशुको समेत बीमा गर्नेगरेको, बीमा कम्पनीले कम दाबी भुक्तानी दिने गरेको लगायतका गुनासाहरू राखेका थिए ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारी, नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्का, एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, पोखरा च्याप्टरका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्तालगायतको सहभागिता रहेको थियो ।
निप्स, पोखरा शाखासँग अन्तरक्रिया
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग मंगलबार पोखरामा बीमासम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरूपमा काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । अध्यक्ष सिलवालले बीमा सर्भेयरहरूले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरू थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरूले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनबमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा सहभागी सर्भेयरहरूले सर्भेयरको परिक्षा, वर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेसाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, निप्सका पदाधिकारी, बीमा कम्पनीका केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयका पदाधिकारीहरू, बीमा सर्भेयर, बीमा अभिकर्तालगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया