Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन थपिए ११ जना कोरोना सङ्क्रमित

एकैदिन थपिए ११ जना कोरोना सङ्क्रमित


काठमाडौं,बैशाख १०

मंगलबार उदयपुरमा थप ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यसअघि १३ जनामा पुष्टि भएको थियो । यसअघि कोरोना पुष्टि भएका सबै भारतीय नागरिक हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुई जनाको सङ्क्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार बिहानको परीक्षणका क्रममा एक ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । बाँकीको भने साँझ मात्र संक्रमण पुष्टि भएको हो । ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै मुस्लिम समुदायका हुन् ।

नेपालमा यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रो पटक हो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यो तीन महिनामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा सङ्क्रमण देखिएको थियो । पाँच जना भने उपचारपछि घर फर्किएका छन् । काठमाडौंबाट दुई जना, धनगढीबाट दुई र बागलुङबाट एक जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

मंगलबार साँझ पुष्टि भएका सङ्क्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एक जना उमेर नखुलेको महिला रहेका छन् । उनीहरू सबैको विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यसअघि उदयपुरमा देखिएका सङ्क्रमितको संसर्गमा रहेका २ सय ६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुई जनाको सङ्क्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ ।

यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको थियो । प्रदेश १ सरकारले उदयपुरलाई विशेष निगरानीमा राखेर हेर्ने भएको छ । यसैबीच, सङ्क्रमितहरू बसेको सप्तरीको दुई नगरपालिकामा २१७ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । सङ्क्रमित बसेको नयाँ क्षेत्र पत्ता लागेपछि मंगलबार कञ्चनरुप नगरपालिका–१२ मा आरडीटी परीक्षण सुरु गरिएको हो । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना सङ्क्रमित भुल्केभन्दा पहिले बसेको सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा २१७ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको राससले जनाएको छ । आफ्नो समुदायभित्र इस्लाम धर्मको प्रचारप्रसार गर्न हिँडेका जमातीहरू सप्तरीको विभिन्न मस्जिद हुँदै उदयपुर पुगेको पत्ता लाग्दै गएपछि सो क्षेत्रमा तीव्रतासाथ आरडीटी परीक्षण गर्न लागिएको हो ।

सप्तकोशी नगरपालिकाको मस्जिद रहेको वडा नम्बर १, २ र ४ मा १ सय ७१ जनाको परीक्षणपछि कञ्चनरुप नगरपालिकामा–२ बरमझियामा २७ जनाको परीक्षण सकिएको छ । यसैगरी कञ्चनरुपको क्वारेन्टाइनमा रहेका ६ र इलाका प्रहरी कार्यालय कञ्चनरुपको थुनाका १० जनाको परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपले जनाएको छ । उदयपुरको बेलटारबाट सप्तरीको बाटो हुँदै रातको समयमा भागिरहेका तीन भारतीयलाई नियन्त्रणमा लिई सोमबार राति आरडीटी परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले बताएका पनि राससले जनाएको छ ।

उनीहरूलाई कञ्चनरुप–५ बाट कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी ब्यारेकको सेनाले खेतमा समातेका थिए । कञ्चनरुप नगरपालिका–२ स्थित मस्जिदमा बस्नुअघि कञ्चनरुप नगरपालिका १२ चर्खियास्थित मस्जिदमा बसेको पत्ता लागेपछि अहिले स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि सो स्थान पुगेका छन् । अहेव गुप्ताका अनुसार पहिलो चरणमा चर्खिया क्षेत्रमा सङ्क्रमित जमातीको प्रत्यक्ष सम्पर्कमा आउने २३ जनाको आरडीटी परीक्षण गरिनेछ । हालसम्म सप्तरीमा ४० जनाको स्वाब र ५ सय ४१ जनाको आरडीटी परीक्षण भएको छ । आरडीटी परीक्षण गर्नेमा ६४ महिला र ४ सय ७२ पुरुष छन् । २३ जनाको परीक्षण गर्ने लक्ष्यका साथ सुरु गरिएको कञ्चनरुप नगरपालिका–१२ मा अहिले परीक्षण सुरु भइसकेको छ ।

कोरोनामुक्त भएपछि धनगढीबाट थप एक युवा डिस्चार्जकोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार दुईपटक गरिएको नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का ३४ वर्षीय अमृत शाही हुन् । दुवईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुगेका उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रूपमा उपचारका लागि उनी सो अस्पतालमा भर्ना भएका थिए । कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राजु विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

सो अस्पतालमा कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्कीचुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाकोे छुट्टै आईसीयू (सघन उपचार कक्ष) सेवा मंगलबारबाटै सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसैगरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच शय्याको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया