Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा ज्यान गुमाएका ७१ जनाको शव ल्याउन समस्या

वैदेशिक रोजगारीमा ज्यान गुमाएका ७१ जनाको शव ल्याउन समस्या


काठमाडौं,बैशाख १०
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ७१ जना युवाको विदेशमा मृत्यु भएको छ । खाडी, दक्षिण कोरियालगायत आठ मुलुकमा पुगेको युवाको मृत्यु विदेशमा भएसँगै शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विभिन्न आठवटा मुलुकमा ज्यान गुमाएका ७१ जनाको शव ल्याउन कठिनाइ भएको छ । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद श्रेष्ठले कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा मृत्यु भएका युवाहरुको शव ल्याउन समस्या भएको बताए । ‘अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् जसले गर्दा मृतकहरुको शव ल्याउन कठिन भएको छ’, उनले भने, ‘हामीले मृतक परिवारसँग सम्पर्क गरी शव ल्याउन समस्या हुँदा विदेशमै अन्तिम संस्कार गर्ने वा स्वदेशमा गर्ने भन्ने विषयमा सम्बन्धित परिवारसँग छलफल अघि बढाएका छौँ ।’

वैदेशिक रोजागारीको क्रममा गएका युवाहरुमध्ये साउदी अरबमा २८ जना, मलेसियामा १५ जना, संयुक्त अरब इमिरेट्समा ११ जना, कतारमा आठ जना युवाको मृत्यु भएको छ । यस्तै कुवेतमा छ जना, दक्षिण कोरिया, साइप्रस र सेसल्समा भने क्रमशः एक÷एक जना युवाको मृत्यु भएको बोर्डले जनाएको छ । मृतकहरुमध्ये युएईमा मृत्यु हुनेमा रुपन्देहीकी महिला हुन् भने उनीमा कोरोना भाइरसको संक्रमणको समेत पुष्टि भएको बोर्डले जनाएको छ ।

निर्देशक क्षेष्ठले दक्षिण कोरिया र सेसेल्समा मृत्यु भएका नेपालीहरुको उतै दाहसंस्कारको लागि परिवार सहमत भएको बताए । ‘शव ल्याउन समस्या भएसँगै परिवारसँगको छलफलसँगै शव उतै दाहसंस्कार गर्ने तयारी गरिएको हो’, उनले भने, ‘बोर्डले स्थानीय निकायको सहयोगमा मृतक परिवारसँग छलफल गरी अघि बढेको छ ।’बोर्डका अनुसार मृतकका परिवारहरुमध्ये कतिपयले स्वदेशमा अन्तिम दाहसंस्कार गर्ने भने पनि त्यसको लागि समस्या भएको बताइएको छ । ‘अन्तर्राष्ट्रिय उडान कहिलेसम्म बन्द हुने वा खुल्ने त्यसको निश्चित नहुँदा शव ल्याउन समस्या भएको हो’, बोर्डका एक अधिकारीले भने ।

बोर्डले विमान चार्टर गरेर शव ल्याउन भने नसक्ने जनाएको छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि कोरोना भाइरसको कारण र सरकारले कुनै तत्परता नदेखाउँदै मृत्युपछि पनि आफ्नो मुलुक पराए बन्न पुगेको छ । यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउने विषयमा छलफल नभएको बताएको छ । कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले विदेशमा रहेका जीवित नेपाली नागरिकलाई ल्याउन नसकेको अवस्थामा शव ल्याउन सम्भव नभएको बताए ।

(आर्थिक दैनिक बाट)

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया