Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ मुलुकका साढे ४ हजार विदेशी आफ्नै देश फर्किए

१७ मुलुकका साढे ४ हजार विदेशी आफ्नै देश फर्किए


काठमाण्डौं,बैशाख ११

नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा नै एक किसिमको असहज परिस्थिति आएको समयमा नेपाल पनि सो परिस्थितिबाट अलग रहन सकेन । जसको कारण नेपालमा रहेका स्वदेशी विदेशी सबैले कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिसँग जुध्नुप¥यो । यसै क्रममा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु आफ्नो भ्रमण छोट्याई स्वदेश फर्किनका लागि बाध्य भए ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकभर नै लकडाउन ग¥यो । सोसँगै विदेशी पर्यटकहरु आफ्नो मुलुक फर्किन थाले । यसै क्रममा लकडाउनको अवधिमा नेपालबाट फर्किने पर्यटकको संख्या चार हजार चार सय ७९ जना रहेको पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका अधिकृत एवम संकट व्यवस्थापन र सञ्चार एकाई (सीएमसीए)का सदस्य कविन्द्र भटल मुलुकमा लकडाउन गरेको केही समयपछि विदेशी पर्यटकहरु आफ्नो मुलुक फर्किन थालेकोमा सोमबारसम्ममा १० वटा विमानमार्फत चार हजार चार सय ७९ जना पर्यटक आफ्नो मुलुक फर्किएको बताए । ‘यसरी नेपाल भ्रमणमा आई आफ्नो मुलुक फर्किनेमा जर्मनी, फान्स, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, बंगलादेशलगायत १७ मुलुकका नागरिकहरु छन्’, उनले भने, ‘उनीहरु भ्रमण छोटाई स्वदेश फर्किएका हुन् ।’

उनले नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग समन्वय गरी मुलुकका विभिन्न स्थानमा रहेका पर्यटकहरुलाई काठमाडौं ल्याई स्वदेश फर्काउने काम गरेको बताए । पहिलो चरणमा पोखरा, लुक्ला, बन्दीपुरलगायत विभिन्न स्थानमा रहेका पर्यटकलाई काठमाडौं ल्याई उनीहरुलाई विमान चार्टरमार्फत आ–आफ्नो मुलुक पठाएको उनको भनाइ छ । ‘पछिल्लो समय अर्थात् गत आइतबार र सोमबार माल्दिभ्स र रसियाले आफ्ना नागरिक नेपालबाट फिर्ता लगेका हुन्’, उनले भने, ‘आइतबार १८ जना माल्दिभ्सका नागरिक र सोमबार एक सय १० जना रसियन नागरिक आफ्नो मुलुक फर्किएका छन् ।’ माल्दिभ्सका नागरिक नेपाल एयरलाइन्स र रसियन नागरिक रोयल फल्ईको विमानमार्फत आफनो मुलुक फर्किएका हुन् ।

यस्तै गत १४ अप्रिलमा ३४ जना ब्राजिलियन र १३ जना बंगलादेशी, १७ अप्रिलमा दुई सय २८ जना ब्रिटिश १८ अप्रिलमा दुई जना भुटानी नागरिक नेपालबाट फर्किएका थिए । विदेशी नागरिक आफनो मुलुक फर्किने क्रममा ११ अप्रिलमा दुई सय सात जना क्यानेडियन, १० अप्रिलमा दुई सय ८६ जना जापनिज, एक सय ७५ जना कोरियन, दुई सय सात जना बेलायती तथा ८ अप्रिलमा दुई सय ८६ जना जर्मनी र दुई सय ५० जना बेलायती नागरिक नेपालबाट फर्किएका थिए ।

यस्तै ५ अप्रिलमा तीन सय तीन जना अमेरिकन नागरिक आफनो मुलुक फर्किएका छन् भने सोभन्दा अघि एक हजारभन्दा बढी विदेशी आफनो मुलुक फर्किएको बोर्डले जनाएको छ अर्थात् ४ अप्रिलभन्दा अघिको समयमा छ सय छ जना जर्मनी, तीन सय पाँच जना फेन्च, तीन सय दुई जना अमेरिकन, दुई सय ५७ जना अष्टेलियन र एक सय २२ जना डच नागरिक गरेर कुल एक हजार पाँच सय ९२ जना विदेशी आफनो मुलुक फर्किएका थिए ।

यस्तै अध्यागमन विभागले भने हाल गैरआवसीय नेपाली (एनआरएन) सहित नेपालमा करिब १७ ÷१८ हजार जना पर्यटक रहेको जनाएको छ । विभागका प्रवक्ता रामचन्द्र तिवारीले विदेशबाट आएका एनआरएन तथा विशुद्ध पर्यटक गरी हाल नेपालमा करिब १७ ÷१८ हजार जना पर्यटक नेपालमा रहे पनि फर्किनेको संख्या भने एकीन हुन नसकेको बताए । बोर्डले भने करिब दश हजारको संख्यामा विदेशी पर्यटक रहेको बताएको छ । बोर्डका अधिकृत भट्टले बोर्डले गरेको सानो सर्वेक्षणअनुसार दशहजार पर्यटक रहेको जानकारीमा आएको छ । ‘त्यसैले गर्दा आगामी दिनमा पनि विभिन्न मुलुकबाट पर्यटक लिनको लागि विमान आउने जानकारीमा आएको छ’, उनले भने, ‘अमेरिकन बेलायती नागरिक लिन अबको केहि दिनमा विमान आउनेछ । यसको लागि दूतावाससँग समन्वय समेत भइरहेको छ ।’

यता नेपाल नागरिक उडडयान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने उनीहरु नेपाल एयरलाइन्ससहित अन्य मुलुकका विमानहरुको २३ वटा उडानमार्फत स्वदेश फर्केको बताए । ‘नेपालमा रहेका जति पनि विदेशी पर्यटकहरु थिए उनीहरु विमान चार्टर गरी स्वदेश फर्केका हुन्’, उनले भने, ‘यसमा नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, कतार एयरलाइन्स लगायतका ती मुलुकहरुका आफना एयरलाइन्समार्फत आफनो मुलुक फर्किएका हुन् ।’

प्राधिकरणका अनुसार नेपाल एयरलाईन्स, कतार एयरलाइन्स, मलेसियन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, श्रीलंकन एयर, कोरियन एयरलाइन्स, बुद्ध एयरलाइन्स, टाइटन एयरलाइन्स ड्क एयरलाइन्स र रोयल फ्लाइको विमानमार्फत आफना ती नागरिकहरु आफनो मुलुक फर्किएका हुन् । उनले लकडाउनको अवधिमा हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३० वटा उडान भएको बताए । मेडिकल सामग्री लिन नेपाल एयरलाइन्स चीन गएको तथा श्रीएयरलाइन्सको सुडान उडान गरेर विमानस्थलबाट करिब ३० वटा उडान भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया