Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४९ हजारको परीक्षण १२ जना घर फर्किए

४९ हजारको परीक्षण १२ जना घर फर्किए


काठमाडौं,बैशाख १४

सरकारले पछिल्लो समयमा कोरोना परीक्षणलाई तीव्रता दिएको छ । शनिबारसम्म कुल ४९ हजार ३ सय ३६ बराबरको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पीसीआर परीक्षण सङ्ख्या नौ हजार ६ सय ६६ रहेको छ भने ¥यापिड डायग्नोस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।

त्यस आधारमा कुल परीक्षण ४९ हजार ३ सय ३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९ सय ४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कुल चार हजार १ सय ६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कुल पाँच हजार ४४, वाग्मती प्रदेशमा कुल सात हजार ४ सय ६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कुल चार हजार ८ सय ७१, प्रदेश नं ५ मा दुई हजार ९ सय ५०, कर्णाली प्रदेशमा चार हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा कुल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कुल १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कुल ८७ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कुल एक हजार ९ सय जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कुल २५ हजार ९ सय ६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कुल रेड जोनमा भने २ सय ९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुवईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै धौलागिरि अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ । हालसम्म देशभर कुल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् । हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

सो अवसरमा गर्मी बढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत मन्त्रालयले आम जनसमुदायमा आग्रह गरेको छ । आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ । लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा. देवकोटाले आग्रह गरे ।

नेपालले सन् २०२५ सम्म औलो पूर्णरुपमा उन्मूलन गर्ने लक्ष्य राखेको उनको भनाइ छ । ‘गर्मीयाम सुरु भएकाले क्वारेन्टाइनमा रहेकाको समेत औलोको परीक्षण गरिएको छ, औलोको जोखिमबाट आफू पनि बचाँै र अरुलाई पनि बचाऔँ’, प्रवक्ता डा. देवकोटाले भने । औलोबाट विशेष गरी गर्भवती महिला र बच्चालाई जोगाउनुपर्ने जानकारी दिँदै उनले कोभिड–१९ बाट जोगिँदै गर्दा औलोको पनि जोखिम बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले लकडाउनको समयमा घरमै रहँदा गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले स्यानिटाइजर तथा हात साबुनपानीले हात धुन, सकभर भीडभाडमा नजान, चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नसमेत आग्रह गरे ।

उनले ठूलो समस्या नपरी अस्पताल नजान आग्रह गर्दै ज्वरो आए, प्रेसर बढ्यो शरीर सुन्निएको अवस्थामा भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आउनसमेत आग्रह गरे । गर्भवती महिलालाई केन्द्रित गरेर नै अस्पतालले सेवा दिएको उल्लेख गर्दै उनले कोभिड– १९ भएका गर्भवती महिलालाई समेत आवश्यक सेवा दिने गरी शय्या तयार गरिएको र चिकित्सकको समेत व्यवस्था गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया