Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन २५ गतेसम्म थपियो, अन्तर्राष्ट्रिय नाका वैशाख ३१ सम्म बन्द

लकडाउन २५ गतेसम्म थपियो, अन्तर्राष्ट्रिय नाका वैशाख ३१ सम्म बन्द


काठमाडौं, वैशाख १५
कोरोना भाइरस कोभिड–१९ को जोखिम कायम रहेको भन्दै सरकारले लकडाउनको अवधि आगामी वैशाख २५ गते राति १२ बजेसम्मका लागि थप गरेको छ । लाकडाउन आज सोमबार राति १२ बजेदेखि सकिँदै थियो । लकडाउनको पूर्वघोषित मिति सकिनु अघिल्लो दिन आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दश दिन थप गर्दै वैशाख २५ गते राति १२ बजेसम्मका लागि पु-याएको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सीमा नाकाहरूबाट आवागमन गर्न वैशाख ३१ बुधबार मध्यरातिसम्म बढाइएको छ । ‘बाह्य जगत्बाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो’, मन्त्री डा. खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो । विकास निर्माणको काम र साना व्यवसायलाई सहज बनाउनुपर्ने माग उठेको बेला सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्मका लागि बढाएको हो । सरकारले विकास निर्माणको कामलाई बाधा नपर्ने गरी पास उपलब्ध गराएको भन्दै सर्वसाधारणको आवतजावतलाई थप कडा बनाउने निर्णय गरेको हो । आज सोमबारदेखि लकडाउन खुल्ने अपेक्षा गर्दै नागरिकहरुले योजनाहरु बनाउँदै गर्दा सरकारले २५ गतेसम्म लकडाउन जारी रहने निर्णय गरिदिएका कारण सबैका योजनाहरु भताभुंग भएका छन् ।

काठमाडौं, उपत्यका मध्यपहाडी क्षेत्रका जिल्ला र हिमाली जिल्लामा लकडाउन खुकुलो गर्नुपर्ने आवाज उठेको थियो । तर, मन्त्रिपरिषद् बैठकले त्यसलाई बेवास्ता गर्दै लकडाउनलाई बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा गत बिहीबारदेखि नै एक जना पनि कोरोना संक्रमित छैनन् । गत बिहीबार अस्पतालबाट डिस्चार्ज भएसँगै काठमाडौंका अस्पतालमा पनि कोरोना संक्रमित नभएका हुन् ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो पटक चैत १८ गतेसम्मका लागि लकडाउन गरिएको थियो । त्यसपछि दोस्रो चरणमा चैत २५ गतेसम्मका लागि बढाइएको थियो । तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरिएको थियो भने चौथोपटक आज वैशाख १५ गतेसम्मका लागि थप गरिएको थियो । अब पाँचौँ पटक वैशाख २५ गतेसम्मका लागि लकडाउन बढाइएको छ । अझै कति पटक थप हुने निश्चित छैन । कोरोना संक्रमितको संख्या बढेमा अझै लकडाउन बढाउने सरकारी योजना छ । यो राजनीतिक मुद्दा नभएको कारण परिस्थिति हेरेर निर्णय गरिने सरकारले जनाएको छ ।

यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले ईपीएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा. खतिवडाले भने, ‘दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।’ कोरिया जान भाषा परीक्षा र अन्य परीक्षा उत्तीर्ण भएर भिसा लागेर बसेकाहरु सरकारी निर्णयको प्रतीक्षामा थिए । सरकारले कोरियामा कोरोना लागेको भन्दै नेपाली कामदार जान बन्द गरेपछि कोरियाले विरोध गरेको थियो । बन्द गरिरहँदा रोजगारी नै गुम्ने देखिएपछि सरकारले कोरिया जान खुल्ला गरेको हो ।

एकैदिन थप तीनमा कोरोना सङ्क्रमण, ५२ पुगे सङ्क्रमित १६ जना घर फर्किए
आइतबार एकैदिन थप तीन जनामा कोरोना संक्रमण भएको देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको समेत गरी संक्रमितको संख्या ५२ पुगेको हो । आइतबार भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्जका दुई जना पुरुषमा सङ्क्रमण देखिएको थियो । आइतबार देखिएका देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको हो । यसैगरी पूर्णरूपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् । आइतबार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’लाई निरन्तरताको निर्णय गरेको थियो ।

यस्तै, हालसम्म कूल ५१ हजार ३ सय ६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९ सय ३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कुल पाँच हजार १ सय ४१, वाग्मती प्रदेशमा कूल सात हजार ५ सय ९१ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ९ सय २४, प्रदेश नं ५ मा तीन हजार ३ सय २६, कर्णाली प्रदेशमा चार हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा कुल ११ हजार १ सय ७२ नमूना परीक्षण गरिएको छ । हालसम्म कूल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कुल१ सय १० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया