Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंका सडकमा रंग लगाउने मात्र होइन निर्माणमा पनि तीव्रता

काठमाडौंका सडकमा रंग लगाउने मात्र होइन निर्माणमा पनि तीव्रता


काठमाडौं, वैशाख १६
लकडाउन सुरु भएको एक सातापछि काठमाडौंका मुख्य सडकहरु रंगरोगन गरेका तस्बिरहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भए । भौतिकमन्त्री वसन्त कुमार नेम्वाङ मात्र होइन भौतिक सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपाली सडकमै खटिएर कामको अनुगमन गरेर काम गर्ने वातावरण मिलाए ।

लकडाउनमा काठमाडौं जस्तो घनाबस्ती भएको ठाउँमा काम गर्ने अनुमति पाउनु चानचुने कुरा थिएन । तर, प्रयास गरेपछि भौतिक मन्त्रालय यसमा सफल भयो । यसको जस मन्त्रालय मात्र होइन विभाग र डिभिजनलाई पनि जान्छ । गराउने निकायले गर मात्र भनेर हुने थिएन, कार्यान्वयन गर्ने तल्लो निकाय अर्थात् डिभिजनले गर्ने हिम्मत नलिएको भए काठमाडौंका सडक चिल्लो र रंगीन हुने थिएन । सबैको एकमत भएको कारण पनि काठमाडौंका सडक हेर्नलायक बन्दै गएका हुन् । काठमाडौंको सडकलाई यही मौकामा बनाउनुपर्छ भनेर प्रशासनले पनि जुन सहयोग ग-यो त्यो पनि सह्राहनीय नै छ ।

काठमाडौंमा त धमाधम काम गर्न दिएको छ यहाँ किन नदिने भनेर अन्य जिल्लाको सडकका प्रमुखहरुले प्रशासनलाई भनेपछि क्रमशः अनुमति लिँदै काम गर्न थाले । लकडाउनको बेला काठमाडौं र जुम्ला सडक डिभिजन काम गर्नेमा अग्रमोर्चामै देखिए । त्यस्तै मोर्चामा काठमाडौंको नजिकको अर्को राष्ट्रिय महत्वको सडक गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढीले पनि लकडाउनको बेलामा पुलको मात्र काम गरेको छैन कटिङ्गको काम पनि धमाधम गरिरहेको छ । अन्य सडक डिभिजनहरुले पनि अहिले धमाधम काम सुरु गरेका छन् ।

सबै सडकका प्रमुखहरु अहिले जिल्लाजिल्लामा पुगेका छन् । सबैले काम गर्दै प्रगतिको विवरण सडकका महानिर्देशक शर्मालाई पठाउने गर्दै छन् । तर, सुरुवात भने काठमाडौं डिभिजनबाटै भएकोमा त्यसमा दुईमत छैन । ‘काठमाडौं डिभिजनमा काम भयो भनेर समाचारहरु आउन थालेपछि अन्य डिभिजन र आयोजनाले पनि अब हामीले पनि काम गर्नुपर्छ भनेर थालेका हुन’, सडक विभागका एक अधिकारीले भने, ‘काठमाडौंको सडकको प्रचारले अरुलाई पनि काठमाडौ छाडेर डिभिजन र योजना तथा आयोजनाको कार्यालयको ढोका खोल्न बाध्य पा-यो ।’

कतिपयले काठमाडौं डिभिजनले गरेको कामलाई पचाउनसकेका छैनन् । पहिला नै ठेक्का लागेको थियो, सडकमा रंग लगाउने काम त हो नि भनेर भौतिक मन्त्रालय तथा मातहतको विभाग तथा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले नै आलोचना गरिरहँदा काठमाडौं डिभिजनले क्रमशः निर्माणको कामलाई पनि गति दिन थालेको छ । काठमाडौंको पुतलीसडकमा वर्षौदेखि देखिँदै आएको पानी पर्नासाथ डुबान हुने समस्यालाई अहिले दीर्घकालीन रुपमा हटाउने प्रयासस्वरुप ठूला–ठूला ह्युम पाइप राख्ने काम जारी छ भने कतैकतै ‘ओभरले’ अर्थात् पिचमाथि पिच गर्ने काम पनि सुरु भएको छ ।

त्यो मात्र होइन कयौँ वर्षदेखि गाईजात्रा हुँदै आएको नुवाकोट जाने छोटो नाका टोखा–गुर्जेभन्ज्याङ्ग सडकलाई आउँदो वर्षामा सजिलैसँग चल्ने बनाउने गरी अहिले धमाधम काम भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी दिए । उनका अनुसार अहिले गुर्जेखण्डमा धमाधम सडक ढलान, नाली बनाउने, वाल लगाउनेलगायतका काम भइरहेको छ । यही गतिमा काम हुने हो भने वर्षात्अगाडि उक्त सडकको स्तरोन्नतिको धेरै काम भइसक्नेछ । त्यहाँ विगतको जसरी नेताहरुले साबेल चलाउने, सडकमा खेत रोप्ने काम गर्नुपर्नेछैन । यो वर्षदेखि वर्षात्मा पनि गाडी गुड्नेछ ।

काठमाडौं डिभिजनले गुर्जेभन्ज्याङ्गको काठमाडौं–नुवाकोटको सीमाबाट पाँच सय मिटर नुवाकोटतर्फको सडक पनि ढलान गर्नेछ । ठाडो उकालो, धेरै पानी पर्ने र चिसो ठाउँ भएको कारण उक्त क्षेत्रमा सडक ढलान गर्नुको अर्को विकल्पै थिएन । त्यही भएर अहिले धमाधम काम भइरहेको छ । यदि लकडाउन भएको थिएन भने पनि काठमाडौं डिभिजन प्रमुख नेपालीले दुई जिल्लाको प्रशासनसँग वार्ता गरेर भए पनि सडक नै बन्द गरेर ढलान गर्ने योनजा बनाएका थिए ।

काठमाडौं डिभिजनले अहिले जोरपार्टीबाट थली, डाँछी हुँदै सिन्धुपाल्चोक जाने सडकको पनि निर्माण सुरु गरेको छ । तर, चाबहिल–गौशाला खण्डलाई यही लकडाउनको अवधिमा कालोपत्रै गरिसक्ने योजनालाई भने केही तत्वले तुहाउने प्रयास गरेका छन् । उक्त सडकको लागि चाहिने कच्चा पदार्थ ल्याउन रोकिएको छ । दोलालघाट र रोशीबाट बालुवा, गिट्टी, पेवललगायतका कच्चा पदार्थ ल्याउन रोकिएको छ । स्थानीय तहहरुले पनि वडाहरुलाई समेत पत्राचार गरेर कच्चा पदार्थ लैजान नरोक्न भने पनि क्रमशःबाट कच्चापदार्थ उठाउन दिइएको छैन । चाबहिल–गौशाला खण्डको काम रोकिए पनि १२/१५ वटा साइडको काम क्रमशः सुरु भएको डिभिजन प्रमुख नेपालीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया