Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगमको नेतृत्व मिसावटको अपराधलाई उन्मुक्ति दिंदै

आयल निगमको नेतृत्व मिसावटको अपराधलाई उन्मुक्ति दिंदै


काठमाडौं, वैशाख २२
नेपाल आयल निगमका केही अधिकारीहरु डिजेलमा सहुलियत मूल्यको मट्टितेल मिसाउने अपराधीलाई चोख्याउने योजनासहित ‘थप छानबिन’को नाटकमा संलग्न रहेको पाइएको छ । गत फागुन अन्तिम साता भारतको बरौनीबाट डिजेल लिएर आएका चारवटा ट्यांकरमा आधाभन्दा बढी मट्टितेल मिसावट गरेको पुष्टि भइसक्दा पनि निगमका अधिकारीहरु ‘थप छानबिन’ भन्दै मिसावटका अपराधमा संलग्न व्यवसायी र प्रयोग भएका चारवटा ट्यांकरलाई चोख्याउने खेलमा लागेका हुन् ।

निगमको नेतृत्वले ‘थप छानबिन’ गर्ने भनेर चोख्याउने योजना बनाइरहे पनि निगमका प्रवक्ता विनित उपाध्यायले भने भारतमा गएर डिजेल लोड गरेर आएका चारवटा ट्यांकरमा भारतबाटै मट्टितेल मिसावट गरेर काठमाडौं ल्याएको पुष्टि भइसकेको बताउँछन् । ‘गत फागुन अन्तिम साता भारतको बरौनीबाट लोड भएर आएको विभिन्न ट्यांकरमध्ये चारवटा डिजेलको ट्यांकरमा मट्टितेल मिसावट गरेको भेटिएको छ । उनीहरुको कारबाही टुंगिएको छैन । कानुन अनुसार कारबाही हुन्छ’, निगमका प्रवक्ता उपाध्यायले आर्थिक दैनिकसित भने, ‘मिसावट भएको पुष्टि भए पनि थप कारबाहीको लागि निगमको गुणस्तर नियन्त्रण तथा अनुगमन विभागले अनुसन्धान गरिरहेको छ ।’

मिसावट भएको पुष्टि भएपछि पनि थप अनुसन्धान गर्नुले निगमका उच्च अधिकारीहरु पेट्रोलिय डिलर्स एसोसिएसनका महासचिव विश्व अर्यालसँगको मिलेमतोमा मिसावटको अपराधलाई लकडाउनको मौकामा चोख्याउन लागेको देखिन्छ । उक्त मिसावटको घटनालाई चोख्याउन व्यवसायीहरुले प्रशस्त लगानी गरेको स्रोतको दाबी छ ।

गत फागुन अन्तिम साता निगमले भारतको बरौनीबाट डिजेल ल्याउन काठमाडौंबाट १६ वटा ट्यांकर पठाएको थियो । भारतबाट डिजेल ल्याउँदा धेरै भाडा आउने हुनाले पहुँचवाला व्यवसायीका ट्यांकर बरौनी पठाइएको थियो । बरौनी गएकामध्ये डिजेलमा मट्टितेल मिसावट भएका तीनवटा ट्यांकर फागुन २५ र एउटा फागुन २७ गते काठमाडौंको थानकोटस्थित निगमको भण्डारणस्थलमा आइपुगेका थिए । परीक्षणको क्रममा डिजेलमा मट्टितेल मिसावट भएको पुष्टि भएपछि ती ट्यांकर थानकोटको डिपोमै राखिएको छ ।

यो बीचमा पेट्रोलियम व्यवसायीहरुले धेरै चलखेल गरेको कारण कारबाही अझै टुंगिन नसकेको हो । निगमका अधिकारीहरु व्यवसायीको ठूलो आर्थिक प्रलोभनमा परेको कारण अनुसन्धानले पूर्णता नपाएको निगमकै केही अधिकारीहरु बताउँछन् । ‘डिजेलमा मट्टितेल मिसावट भएको पुष्टि भएपछि थप छानबिनको अर्थ छैन’, निगमका एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘मिसावट गर्ने व्यवसायी र निगमका उच्च अधिकारीहरुबीच लेनदेनको लागि बार्गेनिङ्ग भइरहेको कारण मात्र थप छानबिनको नाटक गरिएको हो । यो नाटक सफल भएमा ट्यांकर चालकलाई कारबाही गरेर व्यवसायी र ट्यांकरलाई उन्मुक्ति दिने काम हुन्छ ।’

डिजेलमा मट्टितेल मिसावट गरेर ल्याउने ना७ख २४७० नम्बरको ट्यांकर पुरुषोत्तम अर्यालको नाममा दर्ता छ । पुरुषोत्तम पेट्रोलिय डिलर्स एसोसिएसनका महासचिव विश्व अर्यालका सहोदर भाइ हुन् । चार दाजुभाइमध्ये विश्व माइलो हुन् भने उनका अर्का भाइ नरोत्तम हुन् । जेठो दाइ भने अहिले छैनन् । आफ्नो नाममा धेरै ट्यांकर भएपछि विश्वले नै भाइको नाममा उक्त ट्यांकर खरिद गरेको स्रोतको दाबी छ । ना७ख २४७० नम्बरको ट्यांकर पुरुषोत्तमको नाममा दर्ता गरिए पनि त्यसको वास्तविक मालिक भने विश्व नै भएको स्रोतको दाबी छ । विश्वका मामाको छोरा पुरुषोत्तम रेग्मी पनि पेट्रोलियम व्यवसायमै संलग्न छन् ।

महासचिव विश्वका सालो पनि नुवाकोटको बट्टारमा भैरवी पेट्रोल पम्प सञ्चालन गरेर बसेका छन् । उक्त पम्पले संगमचोकको खोल्सीको सार्वजनिक जग्गा मिचेको छ । उक्त पम्प विश्वले केही वर्षअगाडि मात्र खरिद गरेका हुन् । आफूले खरिद गर्दैमा खोला मिचिएको कारण यसमा आफ्नो दोष नरहेको उनले बताउने गरेका छन् । तर, जसको स्वामित्वमा पम्प छ उसैले कारबाही भोग्नुपर्ने कानुनमा व्यवस्था छ । स्रोतका अनुसार निगममा व्यवसायीको तर्फबाट सेटिङ्ग मिलाउने काम विश्वले गर्दै आएका छन् । देशभरका पेट्रोल पम्पहरुको कमिसन उनको खातामा जम्मा हुने र उनले नै सरकारी अधिकारीहरुलाई बुझाएर सेटिङ्ग मिलाउने गरेको स्रोतको दाबी छ । त्यही कारण उनको निगमका अधिकारीहरुसँग राम्रो साँठगाँठ छ ।

डिजेलमा मट्टितेल मिसाएर भारतबाट ल्याउने ना७ख ८३९ नम्बरको ट्यांकर केशव कुमार उप्रेतीको नाममा दर्ता छ भने ना५ख १३१० नम्बरको ट्यांकर प्रसाद कुमार श्रेष्ठ र ना४ख २९७९ नम्बरको ट्यांकर कुलवीर सिंहको नाममा छ । अर्यालको ट्यांकर फागुन २७ र अन्य तीनवटा ट्यांकर फागुन २५ गते थानकोट डिपोमा आइपुगेका थिए । ती ट्यांकरमा ८० हजार लिटर मिसावटयुक्त डिजेल छ ।

मिसावट पुष्टि भएपछि ट्यांकर जफत हुने र व्यवसायी पनि कारबाहीमा पर्ने भएको कारण अहिले राजनीतिक र प्रशासनिक कुरा मिलाएर ठूलो धनराशि खर्च गरेर भए पनि यो घटना चालकतर्फ मोड्ने प्रयास भएको छ । चालकलाई व्यवसायीले पैसा दिएर आफूले मिसाएको स्वीकार गर्न लगाउने प्रयास भएको स्रोतको दाबी छ । चालकले सिधै नमानेको कारण थप छानबिनको नाटक गरिएको हो । चालकले आफूले मिसाएको स्वीकार गरेमा यो घटना चाँडै टुंगिनेछ ।

मिसावट स्वीकार गरेपछि उनीहरुले ट्यांकर चलाउन पाउँदैनन् तर उनीहरुले अरु गाडी भने चलाउन पाउँछन् । त्यही भएर ती चालकलाई पैसा दिएर घटनालाई मोड्न लागिएको स्रोतको दाबी छ । पैसा पाएपछि ती चालकले ट्रक खरिद गरेर आफ्नो जीविकोपार्जन गर्न सक्छन् । त्यही प्रलोभनमा पार्ने प्रयास अर्यालले दिँदै आएको स्रोतको दाबी छ । अर्यालले कमिसन लिँदै ट्यांकर बनाउन लगाउने र निगमको तेल बोक्न लगाउने गरेका छन् । त्यसबाट पनि कमिसन लिने गरेका छन् । केही व्यवसायी भने पछिल्लो समयमा मर्कामा परेका छन् । विश्वले ट्यांकर बनाउन लगाएका केही व्यक्तिले अहिले ट्यांकर बनाए पनि निगमको तेल बोक्न पाएका छैनन् ।

चालकलाई आर्थिक प्रलोभनमा पार्ने काम भने नेपालमा नौलो होइन । यही लकडाउनकै बेला केही साताअगाडि थानकोट डिपोबाट सामाखुसीस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा ल्याइएको तेलमा पानी मिसाइएको फेला परेको थियो । त्यसमा निगम र प्रहरीका अधिकारी मुछिने भएपछि ट्यांकर चालकलाई केही पैसा दिएर पानी मिसाएर ल्याएको भन्न लगाइएको स्रोतको दाबी छ । सो घटनामा पनि चालक मात्र कारबाहीमा परेका थिए । नेपालमा नक्कली चालक खडा गर्ने र चालकलाई नक्कली काम गरेको भन्न लगाउने काम धन र पहुँचवालाले बेलाबेलामा गर्दै आएका छन् । गायक प्रविण गुरुङको हत्यामा पनि तत्कालीन शाहज्यादा पारसलाई जोगाउन नक्कली चालक खडा गरिएको थियो ।

डिजेल र मट्टितेलको मूल्य एउटै तर किन गरिन्छ मिसावट ? डिजेलमा मट्टितेल मिसावट गरेर बिक्री गर्दा गाडीको इन्जिन बिगार्ने र राजस्व कम उठ्न थालेपछि सरकारले केही वर्ष अगाडिदेखि डिजेल र मट्टितेलको एउटै मूल्य बनाएको छ । त्यसपछि मिसावट रोकिएको छ । तर, भारतबाट सिधै डिजेल बोकेर आउने गाडीहरुमा भने मिसावट हुने गरेको छ । भारतले विहारमा आफ्ना नागरिकलाई राहत दिनको लागि सहुलियतमा कोटा तोकेर मट्टितेल प्रतिलिटर आठ रुपैयाँ सस्तो दिने गरेको छ । व्यवसायीले नै मिलेमतो गरेर बरौनीको डिपोबाट तेल भेरर आएका ट्यांकरको डिजेल त्यहाँको पम्पवालालाई बिक्री गर्ने र त्यही सहुलियतको मट्टितेल लोड गरेर नेपाल ल्याउने गरिएको छ । प्रतिलिटर आठ रुपैयाँ नाफा हुने भएपछि ट्यांकर धनीले नै त्यसरी मिसावट गर्ने गरेको स्रोतको दाबी छ ।

एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारी वा कुनै वस्तुमा त्यस्तो वस्तुको गुणस्तर घट्ने गरी मिसावट गरी बिक्री गर्न वा कुनै वस्तुमा रहेको लेवल साट्न वा म्याद नाघेको वस्तु बिक्री गरेमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’को दफा १०९ मा उल्लेख गरिएको छ । कैद नै हुने डरले मिसावट गर्ने व्यवसायी त्रसित भएका हुन् । संहिता लागू हुनासाथ पनि उक्त प्रावधानको उनीहरुलले विरोध गरेका थिए ।

पाइपलाइनमा डिजेल आउँछ तर किन जान्छन् भारतमा ट्यांकर ? अहिले भारतबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाटै डिजेल आइरहेको छ । तर, कुनै कुनै बेला प्राविधिक कारणले गर्दा पाइपलाइनमा डिजेल आउन रोकिएपछि नेपालमा अभाव हुन नदिन ट्यांकर पनि बरौनीमै लोड गर्न पठाउने गरिएको छ । गत फागुनमा भारतले आफ्ना तेल प्रशोधन केन्द्रमा फिल्टर फेर्न लागेको कारण डिजेल आउन रोकिएको थियो । नेपालमा डिजेलको भण्डारण भए पनि लामो समय रोकियो भने अभाव हुने डलरले निगमले ट्यांकर भारतमा पठाएको थियो । त्यतिबेला भारतले युरो–६ को तेल उत्पादन गर्नको लागि आफ्ना प्रशोधन केन्द्रको फिल्टर फेर्न लागेको कारण तेल आउन रोकिएको थियो । पेट्रोल लिन भने अहिले पनि ट्यांकरहरु भारत जानुपर्ने बाध्यता छ । पाइपलाइनबाट डिजेल आए पनि पेट्रोल भने आउँदैन । तेलको अपराधमा विश्व अर्यालको अतिरिक्त शिवप्रसाद घिमिरे, खगेश्वर बोहरा र लिलेन्द्र प्रधान पटक–पटक मुछिने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया