Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन ८३ जना कोरोना संक्रमित थपिए, ई–पासलगायत सवारीपास खारेज

एकै दिन ८३ जना कोरोना संक्रमित थपिए, ई–पासलगायत सवारीपास खारेज


काठमाडौं, वैशाख ३१
मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसहित नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या दुई सय १७ पुगेको छ । कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित बढ्न थालेका हुन् । मंगलबार राति थप २६ जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन ८३ जना पुगेको हो । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित बढ्दै गएका छन् । सोमबार मात्र २४ जना सङ्क्रमित देखापरेका थिए । नेपालमा मंगलबार देखिएको अहिलेसम्मको सङ्क्रमित सङ्ख्या सबभन्दा ठूलो हो । यसअघि यति ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका थिएनन् ।

नेपालका कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेकै दिन गृह मन्त्रालयले भोलि जेठ १ गतेदेखि लागू हुने गरी सबै जिल्लामा एक जिल्लाबाट अर्को जिल्ला जान यसअघि जारी गरिएको सबै ई–पासलगायत सम्पूर्ण सवारी पासहरु खारेज गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने छ ।

यस्तै, काठमाडौं बाहिरका जिल्लाले काठमाडौं उपत्यका प्रवेश गर्नका लागि पास गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने छ । काठमाडौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बरसमेत उल्लेख गर्नुपर्ने छ । काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका ८३ जनामा कपिलवस्तु जिल्लाका आठ जना, रुपन्देही जिल्लाका नौं जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका एक जना छन् । संक्रमित मध्ये कपिलवस्तुमा एकजना स्वास्थ्यकर्मी पनि छन् । कपिलवस्तुमा थपिएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । उनीहरू २० देखि ३२ वर्ष उमेर समूह र एक महिला रहेका छन् । यसअघि कपिलवस्तुमा वैशाख २५ गते मायादेवी गाउँपालिकामा दुई, वैशाख २७ गते मायादेवीमै दुई, शुद्धोधन गाउँपालिकामा एक, वैशाख २९ गते यशोधरा गाँउपालिकामा १२, वुद्धभूमि नगरपालिकामा चार र वैशाख ३० मा कपिलवस्तु नगरपालिकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लाका १० पालिकामध्ये पाँचमा कोरोना सङ्क्रमण देखिएको छ । कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले सोमबारदेखि एक साताका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको थियो ।

पर्सामा थपिएका संक्रमित मध्ये दुईजना पत्रकार छन् । पर्साम थपिएका ३९ जना मध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वाका हुन् । बाँकी १४ जना बैशाख १३ गते बागलुङबाट सडकको काम गरेर पर्सा आएकाहरु हुन् । उनीहरु छिपरमाई गाउँपालिकाको मंगल मध्यमिक विद्यालयको क्वारेन्टाइनमा थिए । पर्सामा मंगलबार साँझ थपिएका कोरोना संक्रमितहरुमा १८ जना छन् । महोत्तरी जिल्लाका दुई जना, धनुषा जिल्लाका दुईजना, भक्तपुरका दुई जना र काठमाडौं जिल्लाका एक जना तथा सर्लाही जिल्लाका एकजना छन् ।

नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरूपमा निको भई घर फर्किसकेका छन् । मंगलबार साँझसम्म ३४ जना घर फर्किसकेका छन् ।

अहिले १९ ठाउँमा पिसिआर र ७७ जिल्लामा आरडिटी परीक्षण गर्न थालिएको छ । अहिले दैनिक पिसिआरबाट एक हजार परीक्षण गरिएको छ । मंगलबार मात्र दुवै विधिबाट दुई हजार २ सय ३६ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म पिसिआरबाट १८ हजार ९ सय ६४ जना र आरडिटीबाट ५९ हजार छ सय २७ जनामा परीक्षण गरिएको छ ।

यस्तै, प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका बुधबारदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कोरोना परीक्षण : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ । सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी पिसिआर विधिबाट परीक्षण गरिएको हो ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीसहित १० जनाको पिसिआर परीक्षण गरिएको हो । मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ । कोभिड–१९ का कारण सङ्घीय संसद्मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण यसपालि संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७ सय ११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ । कोरोना परीक्षण गर्न बाँकी १६ सांसदमध्ये पाँच जना निलम्बित छन् । परीक्षण गर्न बाँकी सांसदलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउन सचिवालयले आग्रह गरेको छ ।

रुपन्देहीका पहिलो कोरोना संक्रमित डिस्चार्ज : रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति मंगलबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा वैशाख १९ गते भर्ना गरेर उपचार गरिएको थियो । रोजगारीका लागि भारतमा गएका उनी वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल पसेका थिए । गाउँलेले उनी आएको जानकारी स्थानीय प्रशासनलाई दिएपछि स्थानीय क्वारेन्टाइनमा पठाइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया