Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमित ह्वात्तै बढेपछि ‘कोरोना बीमा पोलिसी’ बिक्रीबाट कम्पनीहरु पछि हटे

संक्रमित ह्वात्तै बढेपछि ‘कोरोना बीमा पोलिसी’ बिक्रीबाट कम्पनीहरु पछि हटे


काठमाडौं,जेठ २३

बीमा कम्पनीहरुले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी पोलिसीको बिक्री बन्द गर्ने भएका छन् । सरकारले आगामी आर्थिक वर्षको २०७७÷०७८ को बजेटमा कोभिड १९ को बीमासम्बन्धी प्रावधान समेटे पनि बीमा कम्पनीहरुले भने पोलिसी बिक्री गरेको छोटो समयमा नै पोलिसी बिक्री कार्य बन्द गर्न लागेका हुुन् ।

बीमा समितिले बिहीबार मात्रै तत्कालका लागि शुक्रबारबाट कोरोना बीमा पोलिसी बिक्री स्थगनको निर्णय गरेको थियो । नियामक निकायको निर्णयलगत्तै कम्पनीहरुले कोरोना बीमा पोलिसी नबेच्ने भएका हुन् । सरकारले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामको लागि ०७६ चैत ११ गते नै लकडाउनको घोषणा गरेको थियो ।

सो समयमा नेपालमा कोभिड १९ को संक्रमितको संख्या एक जना मात्र रहेको थियो । तर पछिल्लो समय अर्थात् जेठ २२ गतेसम्म कोभिड १९ बाट संक्रमित हुुनेहरुको संख्या २६ सय नाघिसकेको छ ।

‘संक्रिमतको संख्या बढ्दै गएको अवस्थामा बीमा कम्पनीहरुको भुक्तानी दायित्व बढ्नसक्ने र त्यो दायित्व बीमा कम्पनीहरुले थेग्न नसक्ने अवस्था आउन सक्ने भन्दै जेठ २३ देखि कोेभिड १९ को बीमा प्रक्रिया बन्द गर्ने निर्णय गरेका हौँ’, निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघका महासचिव एवं प्रवक्ता चंकी श्रेष्ठले भने ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठका अनुसार बीमक संघको आग्रहकै आधारमा समितिले कोभिड २९ को बीमा पोलिसीको बिक्री कार्य तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

अनुुदान र पोलिसी बिक्रीसम्बन्धी स्पष्ट कार्यविधि आएपछि कोभिड १९ को पोलिसी बिक्री सुरु हुुन पनि सक्ने उनले बताए ।हाल नेपालमा ४० वटा बीमा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् ।

सोमध्ये १९ वटाले जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् भने २० वटाले निर्जीवन बीमासम्बन्धी कारोबार गरिरहेका छन् । यीबाहेक एउटा पुुनर्बीमा कम्पनी सञ्चालनमा छ ।

सोमध्ये निर्जीवन बीमा कम्पनीहरुले शुुक्रबारबाट नै कोभिड १९ को बीमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको र सोको जानकारी बीमा समितिमा पठाएको ती प्रमुुख कार्र्यकारी अधिकृतले जानकारी दिए ।

बन्द होइन, स्थगित गरेका हौँ :अधिकारी
बीमा समितिको कार्यकारी निर्देशक निर्मल अधिकारीले कोरोना भाइरस (कोभिड १९) को बीमासम्बन्धी कार्यक्रम बन्द नभई तत्कालको लागि स्थगित गरिएको बताएका छन् । पछिल्लो समय नेपालमा कोभिड १९ बाट संक्रमित हुुनेहरुको संख्या बढ्दै जाँदा सोहीअनुरुप जोखिम पनि बढ्दै गएको देखिएपछि निर्जीवन बीमा कम्पनीहरु समेतको सुझावको आधारमा हालको लागि कोभिड १९ को बीमा पोलिसीको बिक्री कार्य बन्द गरेको अधिकारीले बताए ।

‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बीमामा ५० प्रतिशत अनुुदान दिने घोषणा गरिसकेको र उक्त बजेट संसद्बाट अनुमोदन हुुन बाँकी रहेको तथा कोरोना भाइरस बीमासम्बन्धी अनुुदानको कार्यविधि समेत नआएको अवस्थामा तत्कालको लागि स्थगित गरेका हौं, रोकेका होइनौँ’, अधिकारीले भने । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंँगै हालसम्म तीन लाख जनाले कोरोनासम्बन्धी पोलिसी खरिद गरिसकेका छन् ।

यसअन्तर्गत कम्पनीहरुले प्रतिग्राहक ५० हजार र एक लाख रुपैयाँसम्मको पोलिसी बिक्री गरेका छन् । यसबाट झण्डै १६ करोड रुपैयाँ प्रिमियम संकलन भइसकेको छ । तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भुक्तानी दायित्व उच्च हुने उनले बताए ।‘कोरोना बीमासम्बन्धी स्पष्ट कार्यविधि आएपछि कसरी पोलिसी बिक्री गर्ने भन्ने स्पष्ट हुन्छ’, कार्यकारी निर्देशक अधिकारीले आर्थिक दैनिकसँग भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया