Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन ५ सय ८६ जना संक्रमित

एकै दिन ५ सय ८६ जना संक्रमित


काठमाडौं, असार ४
नेपालमा एकै दिन बुधबार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलनमार्फत विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ४६ पुरुष र ४० महिलामा सङ्क्रमण देखिएको जनाएको हो ।

बुधबार देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १ सय ७७ पुगेको जानकारी दिए । उनका अनुसार तीमध्ये छ हजार ६ सय ३८ पुरुष र ५ सय ३९ जना महिला रहेका छन् । यसैबीच, कोेभिड–१९ का कारणले बुधबार थप एक जनाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड–१९ का कारणले मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

मिर्गाैलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पतालमा भर्ना भएकामा असार १ गते निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार ती महिलाको असार १ गते स्वाब सङ्कलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको थियो ।
नौ डिस्चार्ज

कोभिड– १९ को सङ्क्रमणबाट नौ जना पुरुष निको भई घर फर्किएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना रहेका छन् । अहिलेसम्म १ हजार १ सय ६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । तीमध्ये एक हजार ५५ पुरुष र १ सय १२ महिला रहेका छन् । यसैगरी अहिलेसम्म एक लाख ४९ हजार ७ सय ७२ जनामा पीसीआर, दुई लाख ३३ हजार ९ सय ४३ जनामा आरडीटी परीक्षण गरिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री भन्छन्– सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको छैन : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सेनाको व्यवस्थापनमा चीनबाट ल्याइनुपर्ने सबै स्वास्थ्य सामग्री र उपकरण स्वदेश आइसकेको जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको मन्त्री पोखरेलले जवाफ दिएका हुन् । उनले भारतबाट पनि आवश्यक प्रक्रिया पु¥याएर सामग्री ल्याउने प्रयास र तयारी भइरहेको बताए ।

मन्त्री पोखरेलले वर्तमान अवस्था र गाम्भीर्यलाई मनन गरी संसारका अन्य राष्ट्रले पनि कोभिडविरुद्धको प्रतिकार्यमा खरिद गर्न चाहेको परिमाणमा सामग्री आपूर्ति नभइरहेका अवस्थामा सेनासँग भएको जनशक्ति र औपचारिक जनसम्पर्क तथा कूटनीतिक माध्यमलाई प्रयोग गर्दै पारदर्शीता, प्रभावकारिता र छरितो ढङ्गबाट आपूर्ति गरी आम जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर सरकारसरकारबीच सेनामार्फत सामग्री खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको स्पष्ट गरे ।

सांसदको एक प्रश्नको जवाफमा उनले कोभिडलगायत महामारी नियन्त्रणका लागि पृथक ऐनको आवश्यकता महसुस भए पनि अहिले पुरानै महामारीसम्बन्धी ऐनलाई टेकेर काम गरिएको बताए । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका विभिन्न शीर्षकमा विनियोजित बजेटका सम्बन्धमा उठेको प्रश्नको सम्बन्धित मन्त्रीले आज बिहीबारको बैठकमा जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियसभाको अर्काे बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

त्यस्तै उनले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको सङ्गठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको बताएका छन् । उनले नियमावलीले विभिन्न जाति समुदायको आरक्षणसम्बन्धी कोटा निर्धारण गरेको स्पष्ट गरे । मन्त्री पोखरेलले भने, “एउटा कुरामा हामी प्रष्ट हुनुपर्छ, समूहगत बटालियन नेपाली सेनामा बन्दैन, जातिगत समूहको आधारमा क्लष्ट–क्लष्टर बन्दैन, तय गरेको योग्यतालाई मिट गर्ने र भर्ना हुन चाहने भर्ती हुन सक्छन् ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया