Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुुद्रा सञ्चिति १८ प्रतिशतले बढ्यो

विदेशी मुुद्रा सञ्चिति १८ प्रतिशतले बढ्यो


काठमाडौं,असार ५

विदेशी मुुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले बढेर २०७७ वैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई अर्ब ४४ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति भने २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ वैशाख मसान्तमा बढेर एक खर्र्ब ६० अर्ब सात करोड रुपैयाँ पुगेको छ । २०७७ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिना दुुई दिनको वस्तु आयात र १० महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ८९ दशमलव सात प्रतिशत र ३१ दशमलव दुुई प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०७६ वैशाख मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ वैशाख मसान्तमा ६१ दशमलव पाँच प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर २७.८९ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ वैशाख मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १२९८.४० रहेकोमा २०७७ वैशाख मसान्तमा ३१ दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०८.४ पुगेको छ । २०७६ असार मसान्तको तुलनामा २०७७ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ नौ दशमलव २५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ दुुई दशमलव नौ प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय २० रुपैयाँ ५१ पैसा पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया