Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीको पानी कहिले आउने अझै टुंगो लागेन

मेलम्चीको पानी कहिले आउने अझै टुंगो लागेन


काठमाडौं, असार ११
मेलम्चीको पानी कहिलेसम्म काठमाडौंका धाराबाट झार्न सकिन्छ भन्नेबारे सरकारी अधिकारीहरु अझै अन्योलमा देखिएका छन् । विगतमा विभिन्न बहाना बनाएर पानी झार्ने मिति सार्दै आएका खानेपानी मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई अहिले ठूलो बहाना मिलेको छ, कोरोना भाइरस र लकडाउन । लकडाउनमा पनि निर्माण जारी थियो । तर, अझै कहिले पानी आउँछ भन्नेबारे उनीहरुले ठोस जवाफ नै दिनसकेका छैनन् ।

कोरोना भाइरस र लकडाउन भए पनि खानेपानी मन्त्री बिना मगरले आउँदो साउन महिनाभित्रै मेलम्चीको पानी काठमाडौंको धाराबाट झार्ने भाषण गर्दै आएकी थिइन् । तर, बुधबार संघीय संसद्को विकास तथा प्रविधि समितिमा सांसदहरुले प्रश्न गर्दा उनले त्यसको जवाफ दिन सकिनन् । पानी कहिले काठमाडौं आउँछ भन्ने प्रश्नमा उनको कुनै ठोस जवाफ नै आउन सकेन । सचिव र आयोजना प्रमुखको भनाइलाई नै उनले साथ दिइन् । तर, सचिव र आयोजना प्रमुखले पनि कुन मितिमा मेलम्चीको पानी काठमाडौंका धाराबाट झार्न सकिन्छ भन्ने ठोस जवाफ नै दिएनन् ।

बुधबारको बैठकमा खानेपानी सचिव माधव बेल्वासेले मेलम्चीको पाइप परीक्षण, थप पाइप बिछ्याएर पानी झार्न अझै करिब एक वर्ष लाग्ने बताए । तर, कुन मितिमा पानी ल्याउन सकिन्छ भन्ने उनले केही बताएनन् । सांसदहरुले गरेको प्रश्नमा अस्पष्ट जवाफ मात्र उनले दिए ।

मन्त्री मगरले पनि बाहिर भाषणमा बोलेभन्दा फरक कुरा गर्दै सचिव र आयोजना प्रमुखकै भनाइप्रति सहमति जनाउँदै तत्काल मिति तोक्न नसक्ने र भौतिक निर्माणको काम सकेर परीक्षणपछि मात्र पानी ल्याउन सकिने जवाफ दिइन् । आयोजना प्रमुख तिरेश कुमार खत्रीले मेलम्चीका सबै भौतिक संरचनाको निर्माण पूरा हुन आउँदो पुससम्म लाग्ने बताएका थिए । त्यसपछि परीक्षण गरेर मात्र पानी हाल्ने उनको भनाइ थियो । तर, कुन मितिमा पानी हाल्न सकिन्छ भन्नेबारे उनी पनि बेखबरजस्तै थिए ।

समिति बैठकमा सांसदहरुले मेलम्ची सम्पन्न गर्ने मिति लम्ब्याउँदा लागत धेरै बढ्न जाँदा जनताले थेग्नै नसक्ने अवस्था भएको भन्दै छिटो काम सक्न पटक–पटक आग्रह गरेका थिए । तर, मन्त्री, सचिव र आयोजना प्रमुखले लागतबारे कुनै जवाफ नदिई कामको म्याद अझै लम्ब्याउने आशय मात्र व्यक्त गर्दै थिए । मेलम्चीमा अनियमित तरिकाले खर्च भएको महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरिसकेको छ । तर, आयोजनाको काम नसकिएको कारण अहिले नै त्यहाँको भ्रष्टाचारबारे छानबिन भइसकेको छैन । लकडाउन अघिसम्म चार सय कामदारले काम गरिरहेकामा अहिले एक सय ६६ जनाले मात्र काम गरिरहेको दाबी आयोजनाको छ ।

आयोजनाका अनुसार अहिलेसम्म आयोजनाको कुल प्रगति ९७ प्रतिशत पुगेको छ । त्यसमध्ये सुरुङ निर्माणको प्रगति ९९ प्रतिशत छ भने हेडवक्र्सको प्रगति ६५ प्रतिशत मात्र छ । डीआई पाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत पूरा भएको छ । सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत पूरा भएको छ भने पानी प्रशोधन केन्द्रको कारण पनि शतप्रतिशत नै पूरा भएको छ । प्रशोधन केन्द्रको क्षमता दैनिक एक सय ७० करोड लिटर रहेको छ ।

मेलम्ची आयोजना हेडवक्र्स निर्माणमा अझै सुस्त छ । इन्टेकको काम ६५ प्रतिशत मात्र पूरा भएको छ भने बाँधको छ मिटर उचाइसम्मको मात्र कंक्रिट गर्ने काम भएको छ । बाँध दश मिटर उचाइको बनाउनुपर्नेछ । त्यस्तै, स्टिलिङ बेसिनको काम ७० प्रतिशत मात्र भएको छ । अझै पनि पुल, एप्रोच रोड, हाइड्रोमेकानिकल उपकरण जडान, एस४ जडान, इन्स्ट्रमेण्टेसन जडानको काम भएकै छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया