Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० महिनामा दुुई खर्ब १५ अर्बको तरलता प्रवाह

१० महिनामा दुुई खर्ब १५ अर्बको तरलता प्रवाह


सुरेश राउत
काठमाडौं, असार १४
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको १० महिनामा दुुई खर्ब १५ अर्ब एक करोड रुपैयाँबराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ३३ करोड र स्थायी तरलता सुविधामार्फत ९९ अर्ब ६८ करोड गरी कुल दुुई खर्ब १५ अर्ब एक करोड तरलता प्रवाह गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब दुुई अर्ब १५ करोड र स्थायी तरलता सुविधामार्फत १४ अर्ब ६५ करोड रुपैयाँ गरी कुुल एक खर्ब १६ अर्ब ८० करोड रुपैयाँबराबरको तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को दश महिनामा खुला बजार कारोबारमार्फत कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर ३ अर्ब १ करोड खुद खरिद गरी तीन खर्ब ४७ अर्ब २८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ५७ करोड खुद खरिद गरी दुुई खर्ब ९२ अर्ब आठ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब १८ करोड बिक्री गरी तीन खर्ब ६४ अर्ब ७४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ५० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी चार खर्ब ३३ अर्ब ६१ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७७ वैशाख मसान्तमा १६ अर्ब ६५ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा एक खर्ब १४ अर्ब १२ करोड र निर्यात पुनर्कर्जा ७४ करोड ४४ लाख उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ चैत मसान्तमा एक अर्ब ७९ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ९६ ऋणीले उपयोग गरेका छन् ।

राष्ट्र बैंकले वि.सं. २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण घरवासविहीन भएकाहरुको पुुनर्वासको लागि सहुुलियत कर्जाको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाअनुसार उपत्यकाबाहिर १५ लाख र उपत्यकाभित्र २५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको थियो । सो अनुरुप राष्ट्र बैंकले ग्राहकको तर्फबाट कर्जा माग गर्ने बैंक तथा फाइनान्स कम्पनीहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा दिने र उक्त कर्जालाई बैंक तथा फाइनान्स कम्पनीहरुले दुई प्रतिशत ब्याजमा भूकम्पपीडितहरुलाई दिने नीतिगत व्यवस्था गरेको थियो ।

सहुुलियत कर्जा भनिए पनि उक्त कर्जा प्रवाहमा प्रक्रियागत जटिलता देखिएपछि भूकम्पपीडित ग्राहकले भने यस किसिमको कर्जामा खासै चासो नदिएको, उक्त क्षेत्रमा हालसम्म प्रवाह भएको कर्जासम्बन्धी राष्ट्र बैंकको तथ्यांकबाट पनि देखिएको छ । राष्ट्र बैंकका २०७७ वैशाख मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार दुुई सय ६६ ऋणीको ५० अर्ब ७८ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पाँच हजार चार सय २१ ऋणीको तीन अर्ब ७० करोड रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया