Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनले धितोपत्र बजारमा व्यापक परिवर्तन

लकडाउनले धितोपत्र बजारमा व्यापक परिवर्तन


सुरेश राउत
काठमाडौं, असार १५
नेपाल धितोपत्र बोर्डले लकडाउनको अवधिमा धितोपत्र बजार विकासका लागि भएका प्रयासहरू र बजार सञ्चालन हुने व्यवस्था सम्बन्धमा जानकारी सार्वजनिक गरेको छ । बोर्डले आइतबार कोरोना महामारीबाट सिर्जित लकडाउनको कारण केही महिनायता धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहेकोमा लगानीकर्ता तथा सम्बद्ध पक्षहरूको सुझावलाई समेत मध्यनजर गरी बजारलाई थप गतिशील बनाउने निर्णय गरेको हो ।

अर्थमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा धितोपत्र बजारसम्बन्धी विद्यमान अवस्था र सुुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा छलफल हुँदा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायहरुले सुुधार गर्नुुपर्ने कार्यहरु गर्न निर्देशन दिएको जानकारी समेत बोर्डले दिएको छ ।

सोहीबमोजिम बोर्डले धितोपत्रको दोस्रो बजार कारोबार पूर्णरूपमा यन्त्रीकरण गर्नको लागि सीडीएससीले सेयर खातामा रहेको सेयर ब्रोकरले परीक्षण गरी आदेश सम्पन्न गर्न प्रक्रिया चाल्न र ईडीआईएसमार्फत विद्युतीय माध्यमबाटै सेयर ट्रान्सफर हुने व्यवस्था गरेको छ । यसैगरी नेप्सेलाई बैंक खाता र सेयर खाता समग्र कारोबार प्रणालीमा आबद्ध गरी सेयर लगानीकर्ताहरूलाई पूर्ण अनलाइन सेवा दिने व्यवस्था गरी जानकारी गराउन पत्राचार गरिएको, नेप्सेबाट सबै लगानीकर्ता, ब्रोकरहरूलाई एक हप्ताअगावै सूचना र विज्ञप्ति जारी गरी बैंक खाता कनेक्ट आईपीएस, युुजर आईडी, पासवर्ड आदि कारोबारको लागि चाहिने कुराहरू तयार गर्न सूचित गरिएको जानकारी पनि बोर्डले दिएको छ ।

लगानीकर्ताहरूले यही असार मसान्तसम्म सबैले मेरो सेयर खाता खोल्न, युजर आईडी र पासवर्ड लिन कुनै पनि शुल्क नलाग्ने हुँदा बढीभन्दा बढी लगानीकर्ताले उक्त सुविधा लिन प्रोत्साहन गरिएको, लकडाउनअघि धितोपत्र बिक्री गर्दा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताहरुको डिम्याट खातामा धितोपत्र रहे/नरहेको सम्बन्धमा कारोबार प्रणालीमार्फत एकीन गर्नसक्ने व्यवस्था रहेकोमा हाल उक्त व्यवस्थालाई परिमार्जन गरी ब्रोकरमार्फत (अफलाइन) कारोबार हुुँदा समेत कारोबार प्रणालीमार्फत डिम्याट खातामा धितोपत्र रहे/नरहेको एकीन गर्न सकिने व्यवस्था गरिएको जानकारी पनि बोर्डले दिएको छ ।

लकडाउनअघि लगानीकर्ताले धितोपत्र बिक्रीपश्चात् मेरो सेयरमार्फत प्रविष्टि गरेको भारित औसत लागत गणना राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा हाल राफसाफ सदस्यहरुले म्यानुुअल प्रविष्टि नगरी प्रणालीमार्फत एकमुष्ठ रुपमा प्रविष्टि हुुनसक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यसैगरी बोर्डले नागरिक लगानी कोषको अगुवाइमा स्थापना हुनलागेको स्टक डिलर कम्पनीको अनुुमतिको लागि बोर्डमा निवेदन प्राप्त भइसकेको जनाएको छ । सेयर निष्काशन गर्दा बुक बिल्डिङ पद्धतिबाट पनि निष्काशन गर्नसक्ने व्यवस्था मिलाउन कार्यविधि तयार गरी सात दिनको समयभित्र सरोकारवालाहरूलाई कुनै सुझाव भए पेस गर्न अनुुरोध गरिएको जानकारी पनि बोर्डले दिएको छ ।

ब्रोकरहरूको सेयर खरिदबिक्रीको कमिसनका सम्बन्धमा हालको बजारको अवस्था अध्ययन गरी अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा आवश्यक सुझाव पेश गर्न बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन भई अध्ययन कार्य अगाडि बढाइएको, लगानीकर्ताले ब्रोकर अफिसमा राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुन्जेल त्यसको लागतबापतको रकम लगानीकर्तालाई सम्झौताबमोजिम तिर्नुपर्ने कानुुनी व्यवस्था थप गरी लगानीकर्तालाई सहज हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

सेयर बजार आजबाट खुल्ला हुुने : सेयर बजार आज सोमबारबाट खुल्ला हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् सेयरबजार खोल्ने निर्णय गरिएको हो । सरकारले विश्वव्यापी महामारी नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि नै देशव्यापीरुपमा लकडाउन घोषणा गरेसँगै सेयरबजार अनिश्चितकालीन समयको लागि बन्द भएको थियो ।

यसबीचमा नेप्सेले वैशाख ३१ गतेदेखि दैनिक दुुई घण्टाको दरमा अर्थात् ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय गरेको थियो । तर उक्त समय दुुई दिन नै बजारमा नेगेटिभ सर्किट ब्रेक लागेपछि बजार पुुनः अनिश्चितकालीन समयको लागि बन्द भएको थियो । ‘सरकारले लकडाउनलाई केही खुुकुलो बनाएर दैनिक जीपनयापनलाई सहज बनाएसँगै धितोपत्र बोर्डले सेयरबजार खोल्न निर्देशन दिएपश्चात् हामीले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर बजार खोल्ने निर्णय गरेका हौँ’, नेप्सेका प्रमुुख कार्यकारी अधिकृत साउदले भने ।

प्रमुुख कार्यकारी साउदका अनुसार आजबाट बजार पहिलेजस्तै नियमितरुपमा खुल्ला हुुनेछ । पहिला सेयर बजार ११ बजदेखि तीन बजेसम्म हप्तामा पाँच दिन बजार खुल्थ्यो । ‘पछिल्लो समय हामीले परीक्षणको रुपमा सेयर बजार खुल्ने समय बढाएर ११ बजेदेखि ४ बजेसम्म पु-याएका थियौँ । तर लकडाउनपछि अर्थात् आजबाट खुल्ने बजारलाई भने पहिलाको जस्तो अर्थात् शुुक्रबारबाहेकका दिनमा ११ बजेदेखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको र सोहीबमोजिम बजार खुल्छ’, प्रमुुख कार्यकारी साउदले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया