Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण वैदेशिक सहयोगका सडक निर्माण अलपत्र

कोरोनाको कारण वैदेशिक सहयोगका सडक निर्माण अलपत्र


काठमाडौं, असार २१
कोरोना भाइरस कोभिड–१९ को कारण नेपालमा वैदेशिक सहयोगमा सञ्चालित अधिकांश सडक आयोजनाहरु अलपत्र परेका छन् । कोभिड–१९ कै कारण देखाएर पछिल्लो समयमा नेपालकै पुरानोमध्येको एक सडक काठमाडौं–त्रिशूलीको रानीपौवा–पिपलटार खण्डको ३४ किलोमिटर सडकको ठेक्का तोडिएको सार्वजनिक भएको छ । उक्त सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण हुँदै गरेको थियो । ठेकेदारले एकलौटी ठेक्का तोडेपछि सरकारले पनि तोडेको हो ।

ठेक्का तोड्ने एक भारतीयसहित दुई नेपाली निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी सुरु भएको छ । त्यसो त उक्त सडकको पहिलो खण्ड बालाजु–रानीपौवा खण्ड पनि ठेकेदारकै कारण अलपत्र छ । एक जना नेपाली ठेकेदार नेकपाका अध्यक्ष प्रचण्डका घरधनी शारदा प्रसाद अधिकारीको कारण सरकारले चाहेर पनि ठेक्का तोडिन सकेको छैन ।

कोरोनाकै कारण नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्नसकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । काठमाडौंमा लकडाउन खुकुलो भए पनि अझै पनि उक्त सुरुङमार्गको काम सुरु भएको छैन । सो आयोजनाको निर्माण सुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुनसकेको छैन ।

नेपाल सरकारले ४२ महिनामा निर्माण सक्ने गरी जापानको हाज्मा आङ्लो कर्पाेरेसनलाई निर्माणको जिम्मेवारी दिएको छ । सो सुरुङमार्गमा जापान सरकारको ऋण सहयोग रहेको छ । यस्तै, वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले पनि निर्माण ठप्प बनेको छ ।

सरकारले तत्काल अन्तर्राष्ट्रिय उडान खुलाउने अवस्था नभएकाले आफ्नो देश फर्किएकाहरु नेपाल आउने सम्भावना कम छ । काठमाडौं त्रिशूली सडक, नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौँ चक्रपथ सडक विस्तार, स्याफ्रुबेंसी सडकलगायतका योजना लकडाउनको कारण नराम्रोसँग प्रभावित बनेका छन् । सरकारले गत चैत ११ मा बन्दाबन्दी घोषणा गरेसँगै देशभरका अधिकांश सडक योजनासहितका वैदेशिक सडक योजनाको पनि निर्माण रोकिएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपहिले निर्माणस्थलमा रहेका विदेशी आआफ्नो देश फर्किएका छन् ।

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले दोस्रो खण्ड विस्तारका लागि अध्ययन गरिसकेको छ । पहिलो खण्डमा संरचना हटाउँदै निर्माण अघि बढाउँदा समयभन्दा केही ढिलाइ भएको थियो । दोस्रो खण्डमा भने सरकारले सडक निर्माणस्थल खाली गरेपछि मात्रै निर्माण सुरु गर्ने चिनियाँ पक्षसँग सहमति भएको थियो ।

सरकारले निर्माणस्थल खाली गरेर चिनियाँ पक्षलाई हस्तान्तरण गर्नुभन्दा पहिले नै कोभिड–१९ को त्रासका कारण उनीहरु चीन फर्किएका थिए । जापान सरकारको सहयोगमा निर्माण सुरु भएका र अध्ययन भइरहेका योजना पनि अघि बढेका छैनन् । काठमाडौँ उपत्यकाको सबैभन्दा बढी जाम हुने जडीबुटीमा फ्लाई ओभर वा सुरुङमार्ग निर्माणका लागि जापान सहयोग नियोग (जाइका)ले अध्ययन गरिरहेको थियो । त्यस्तै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकासँग सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागिसमेत सरकारसँग छलफल भइरहेको छ । काम भने अगाडि बढेको छैन ।

काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गाको सडक चापको समस्या समाधानको उपायका रुपमा अघि बढाइएको नागढुङ्गा सुरुङमार्ग निर्माण पनि अहिले ठप्प छ । जापान सरकारको ‘सफ्ट लोन’मा निर्माणाधीन सो सुरुङमार्ग निर्माण सुरु भएको केही महिनामा नै रोकिएको छ । अहिले पनि थोरै व्यक्ति त्यहाँ कार्यरत रहेका छन् । यस्तै, विश्व बैंकको सहयोगमा नौबिसे–नागढुङ्गा सडक विस्तारका लागि अध्ययन भइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया