Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकार्गो ढुवानीमा हेलिकोप्टर कम्पनीको मनोमानी

कार्गो ढुवानीमा हेलिकोप्टर कम्पनीको मनोमानी


महेन्द्र शाही ,
सोलुखुम्ब, पुस ६
सोलुखुम्बुको खुम्बु क्षेत्रमा कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियमविपरीत उडान भर्ने गरेको पाइएको छ । कैलाश र सिम्रिक एयरको हेलिकोप्टरले खुम्बुको विभिन्न क्षेत्रमा दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय सुरक्षा निकायसँगको समन्वयमा मात्रै उडान भर्ने भनी अनुमति दिए पनि हेलिकोप्टर कम्पनीले आफूखुसी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौंले सिम्रिक एयर प्रालिलाई २०७६ मंसिर १६ मा लेखेको चलानी नम्बर १०७८ को पत्र र २०७६ मंसिर २० मा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नम्बर ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ । यस विषयमा प्रशासन भने बेखबर देखिएको छ ।

हेलिकोप्टर कम्पनीले सदरमुकाम सल्लेरीबाट करिब दुई घण्टाको पैदलयात्रामा पुग्न सकिने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट सामान ढुवानी गरिरहेका छन् । दिनहुँ सामग्री ढुवानी गरिरहेको ती हेलिकोप्टरबारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपसार हुनसक्ने सम्भावना बढी रहेको बताउँछन् । विगतमा पनि यसैगरी समान ढुवानी हुने गरेको स्थानीयहरु बताउँछन् । यसमा स्थानीयदेखि उच्च तहका व्यक्तिहरुको समेत संलग्नता हुनसक्ने उनीहरुको आशंका छ । केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टरमार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ । कम्पनी प्रमुख जिल्ला अधिकारीले हेलिकोप्टरले सामान ढुवानी गरेबारे जानकारी नभएको बताइरहँदा हेलिकोप्टर कम्पनीहरुले भने स्थानीय प्रशासनसँगको समन्वयमै नै सामान ढुवानी गरिरहेको दाबी गरेका छन् । कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डे प्रशासनसँगको समन्वयमा नै उडान भरिरहेको बताउँछन् ।

उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन् । उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको बताए । नेपाल नागरिक उड्डयन कार्यालय फाप्लु सोलुखुम्बुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफूसँग कुनै समन्वय नगरेको दाबी गरे । कम्पनीले माथिको निर्णय भन्दै आफूखुसी उडान भर्ने गरेको उनको भनाइ छ । यता प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै उनले यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइए कारबाही गर्ने बताए ।

उडिरहेको हेलिकोप्टरबाट सामान खस्ने समस्या त छँदै छ, सुरक्षा जाँचविना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेर मात्रै उडान गर्ने गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ । गत भदौ १९ बिहीबार अपराह्न कैलाश एयरको उडिरहेको हेलिकोप्टरबाट सिरकलगायतको सामग्री खसेको थियो ।

फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयले प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । यस्ता घटना पटक–पटक हुदा समेत नियमनकारी निकाय मौन बसेको स्थानीय छिरिङ शेर्पाले गुनासो गरे । नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाइ सुरक्षाअन्तर्गत खनतलासी गर्नुपर्ने, दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन भनिएको छ । यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमतिबेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्तविपरीत हुने गरी वायुयान सञ्चालन गरेमा एक लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया