Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकरहरुको मोबाइल : घण्टी जान्छ तर कहिल्यै उठ्दैन

बैंकरहरुको मोबाइल : घण्टी जान्छ तर कहिल्यै उठ्दैन


सुरेश राउत
काठमाडौं, साउन २०
मोबाइल फोन भनेको सबै किसिमका मानिसहरुलाई सम्पर्क सूत्रमा बाँध्नका लागि हो । सबैले मोबाइल बोक्ने पनि त्यही भएर नै हो । यसबाट सबै जना सबैको सम्पर्कमा रहिरहन सकिन्छ । तर त्यो सबै हुुनुको लागि सम्बन्धित व्यक्तिले मोबाइलमा आएको फोनलाई रिसिभ गर्नुुपर्छ । यदि बारम्बार सम्पर्क गर्दा पनि फोन रिसिभ हुुँदैन भने त्यो व्यक्तिले जसले बारम्बार सम्पर्क गर्न खोजिरहेको हुन्छ, उसको लागि सम्बन्धित व्यक्तिले मोबाइल बोक्नु नबोक्नुले कुनै अर्थ नराख्न सक्छ ।

बैंकरहरु भनेका सार्वजनिक पदधारण गरेका व्यक्ति हुुन् । किनकि बैंक भएर नै बैंकर बनेका हुुन् । बैंक भनेको आम नागरिकको आर्जन गरेको रकम राख्नको लागि सरकारबाट अनुुमतिप्राप्त संस्था हो ।

सर्वसाधारणले विश्वास गरेर बैंकमा रकम जम्मा गरेका हुन्छन् । तर त्यही बैंकमा व्यवस्थापन प्रमुुख रहेका व्यक्तिले कहिले पनि सर्वसाधारणको फोन उठाउँदैन भने त्यो व्यक्ति वा व्यवस्थापन प्रमुुख कसरी सार्वजनिक व्यक्ति हुुनसक्छ ? सरकारी कार्यालयमा काम गर्ने उच्चपदस्थ अधिकारीहरुको केही अपवादबाहेक सबैको फोन सहजै उठ्छ । तर बैंकका प्रमुुख कार्यकारी अधिकृतहरुको फोन कहिल्यै उठ्दैन । त्यसमाथि ल्याण्डलाइनबाट गरिएको फोन त सायद उठ्दै उठ्दैन ।

साउन १९ गते अपराह्न १ बजेदेखि ३ बजेको बीचमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकका प्रमुुख कार्यकारी अधिकृतहरु धेरैजसोलाई ०१५९०२१३८ बाट सम्पर्क गरियो । सम्पर्क गरिनुुको खास कारण समाचारको लागि थियो । पटक–पटक फोन गर्दा पनि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको फोन नउठेपछि सोही विषयलाई समाचारको रुपमा उठान गरिएको हो ।

आखिर किन बैंकका प्रमुुख कार्यकारी अधिकृत फोन उठाउन चाहँदैनन् ? यो सुन्दा आफूलाई अचम्म लागेको तत्कालीन कमर्स एण्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । ‘फोन भनेको सम्पर्क गर्नकै लागि हो, व्यक्तिले पनि सम्झेर, बुुझेर नै फोन गरेको हुन्छ, तर ल्याण्डलाइनबाट फोन आयो भन्दैमा उठाउनै नहुुने त होइन नि !’, उनले आर्थिकसँग भने, ‘कसैले पनि सायद बेकाममा फोन गरेको हुँदैन, चिनेको छैन, आफू व्यस्त रहेको अवस्थामा छ भने व्यस्त छुु भन्दा भइहाल्यो नि, फोन नै नउठाउनु राम्रो होइन ।’

आफू जहिले पनि फोन सम्पर्कमा रहने र जो कोहीको फोन पनि सम्भव भएसम्म उठाउने गरेको भट्टराईले बताए । तर भट्टराईले यसो भनिरहँदा झण्डै एक दर्जन बैंकका प्रमुख कार्र्यकारीहरुले भने ल्यान्डलाइनबाट गरिएको फोनलाई ‘रेस्पोन्स’ नै गरेनन् ।

समाचार लेखनकै क्रममा सोमबार अपराह्न एकदेखि तीन बजेको बीचमा ०१५९०२१३८ नम्बरबाट बैंक अफ काठमाडौंका प्रमुुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई पटक–पटक फोन सम्पर्क गरियो तर फोन उठेन । सोपश्चात् नेपाल बंगलादेश बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाई सोही नम्बरबाट पटक–पटक फोन सम्पर्क गरियो, उनको फोन पनि उठेन ।

समाचार लेखनकै क्रममा बैंक पनि साथी पनि भन्ने नारा बोकेको एनआईसी एसिया बैंकका प्रमुुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई फोन गरियो, फोन उठेन । यसैगरी प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई पनि फोन गरियो, उनको फोन पनि उठेन । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई फोन गरियो, त्यो पनि उठेन । त्यसपछि हिमालयन बैंकका प्रमुुख कार्यकारी अशोक राणालाई फोन गरियो, त्यो पनि उठेन ।

समाचार लेखनकै लागि प्रभुु बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनलाई फोन गरियो, सोही ल्यान्डलाइनमार्फत गरिएको उनको फोन पनि उठेन । त्यसपछि सोही नम्बरबाट पटक–पटक नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई फोन गरियो । उनको नम्बर पनि उठेन । सोपश्चात् सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलाई फोन गरियो, उनको नम्बर पनि उठेन ।

यसबीचमा समाचार लेखनकै क्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाललाई सम्पर्क गरियो, उनको फोन तुरुन्तै उठ्यो । क्रस होल्लिङ सेयर र बिग मर्जरको बारेमा लामो कुराकानी भयो । बैंकिङ विज्ञको रुपमा रहेका अनलराज भट्टराईलाई फोन गरियो, उनको फोन पनि तुरुन्तै उठ्यो । क्रसहोल्डिङ सेयर र बिग मर्जरबारे लामो कुराकानी भयो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया