Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमण नियन्त्रणबाहिर जाने संकेत

कोरोना संक्रमण नियन्त्रणबाहिर जाने संकेत


काठमाडौं, साउन २१
कोरोना महामारी सहर केन्द्रित हुनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञ र राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणबाहिर जाने त होइन भनेर विज्ञहरुसँग कसरी कोरोनामाथि नियन्त्रण जारी राख्ने भन्ने सुझाव लिएका छन् । गत ६ गते रातिदेखि सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि सहरी क्षेत्रमा कोरोनाको महामारी देखिन थालेको छ । वीरगञ्ज, विराटनगर, जनकपुर, राजविराज, नेपालगञ्जलगायतका सहरको साथै काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ ।

यही रुपमा कोरोना बढ्दै जाने हो भने जनस्वास्थ्य क्षेत्रमा कमजोर रहेको नेपालले कोरोनालाई नियन्त्रणमा राख्न हम्मेहम्मे पर्नेछ । कोरोना नियन्त्रणको लागि सर्वपक्षीय सहयोग जुटाउन प्रधानमन्त्री ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, स्वास्थ्यकर्मी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानभक्त ढकाललाई पनि परामर्श बैठकमा बोलाएका थिए । तर, प्रचण्ड भने ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने खेलको लागि वामदेव गौतमसँग वार्ता गर्न गएको कारण बैठकमा सहभागी भएनन् ।

सहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको र यही बेला लकडाउन अन्त्य हुँदा सहरमै मानिसको भीड बढेको छ । मानिसको भीड बढेको कारण नेपालले थोग्नै नसक्ने गरी कोरोना संक्रमण बढ्ने अनुमान गरिएको बेला सरकारले लकडाउन लगाउन लागेको अनुमान पनि गरिएको छ । मंगलबारको बैठकमा सहभागीमध्ये अधिकांशले पूर्णलकडाउन नगरी स्वास्थ्य सतर्कता अपनाउन अझै कडाइ गर्नुपर्ने सुझाव दिएका थिए । थोरै विज्ञहरुले मात्र पूर्णलकडाउन गर्नुपर्ने सुझाव दिएका थिए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या नियन्त्रणबाहिर जाने तरिकाले बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ भन्दा मुनि र ६० वर्षभन्दा माथिका कसैलाई पनि घर बाहिर ननिस्किन भनेको छ भने अरुलाई पनि अत्यावश्यक कामभन्दा बाहेक अरु बेला घरबाट ननिस्कन भनेको छ । मंगलबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा कोरोनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका थिए ।

विज्ञहरुको अनुसार यही रुपमा कोरोना संक्रमण बढ्दै जाने हो भने काठमाडौंमा तथा मुख्य सहरहरुमा कोरोना नियन्त्रण बाहिर जाने पक्काजस्तै छ । काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।

विज्ञहरुको कुरा सुनेपछि सरकारले कोभिड–१९ संकट व्यवस्थापन सेन्टरको निर्णय अनुसार थप कदम चाल्ने भएको छ । पूर्णलकडाउन लगाउँदा अर्थतन्त्र थला पर्ने भएकाले सरकारले तोकेका मापदण्ड पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न दिनेछ । तर, अन्तर्राष्ट्रिय सीमा र काठमाडौं प्रवेशमा भने थप कडाइ गर्ने देखिएको छ । अहिले पनि काठमाडौं उपत्यका प्रवेश गर्न साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि बन्द गरिएको छ । तर, भारी बोक्ने गाडीहरुलाई भने नियन्त्रण गरिएको छैन ।

केही विज्ञहरुले भने अब बढीमा दुई साता कोरोनाको संक्रमण बढ्ने भन्दै त्यसपछि पनि अन्तर्राष्ट्रिय सीमानाका भने बन्द नै गर्नुपर्ने सुझाएका थिए । विदेशबाट आउनेहरुमा कोरोना जोखिम धेरै भएको कारण सिमाना बन्दै गर्नुपर्ने सुझाव आएको हो । सरकारले यही साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका र हवाइ उडान बन्द गरेको छ । हवाइ उडान भदौ १ गतेबाट सञ्चालन गर्न दिने निर्णय भए पनि अझै एक साताको कोरोनाको अवस्था हेरेर उक्त निर्णयमा पुनर्विचार हुने बताइएको छ ।

सरकारले कोरोना परीक्षणको दायरा अझै फराकिलो पार्न काठमाडौं उपत्यकामा १४ वटा अस्पताललाई कोरोना परीक्षणको जिम्मा दिएको छ । ती अस्पतालमा गएर शंका लागेका सबैलाई परीक्षण गराउन मंगलबार स्वास्थ्य मन्त्रालयले सूचना नै जारी गरेर आग्रह गरेको छ । यसले पनि कोरोना संक्रमण तीव्र बढेको र नियन्त्रणबाहिर जानलागेको संकेत गर्छ । ती स्वाब सङ्कलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशुल्क परीक्षण गरिनेछ ।

पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्र तोकिएको छ ।

ती स्वाब सङ्कलन केन्द्रमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना सङ्कलन हुने जनाइएको छ । यसैगरी मन्त्रालयले तोकिएको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिनेछ । यसअघि मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब सङ्कलन गरेको छ ।

यसैगरी उपत्यकामा सङ्क्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब सङ्कलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब सङ्कलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब सङ्कलन गरी कोभिड–१९ परीक्षण गरेको छ ।

नेपालमा मंगलबारसम्म २१ हजार ९ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १५ हजार २६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने पाँच हजार ९२५ जना सक्रिय सङ्क्रमित र ५८ जना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३४ वटा प्रयोगशालाबाट चार लाख छ हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति फेर्नुपर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर सामना गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो यस विरुद्धको लडाइँ त्यति छिटो सफल हुने बताएका हुन् ।

यसैबीच, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको मंगलबार कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ । महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया