Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभदौ १५ गतेसम्म आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात नखुल्ने

भदौ १५ गतेसम्म आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात नखुल्ने


काठमाडौं, साउन २६
भदौ १ गतेदेखि खुल्ने भनिएको आन्तरिक हवाइ उडान र अन्तर्जिल्ला सार्वजनिक सवारीसाधन तत्काल सञ्चालन नहुने भएको छ । यही साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक हवाइ उडान र अन्तर्जिल्ला सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले भदौ १ गतेका सट्टा भदौ १५ गतेबाट मात्र त्यस्ता सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ ।

सीसीएमसीले सिफारिस गरेको विषयलाई मन्त्रिपरिषद्ले सामान्य मिति हेरफेर वा त्यसैलाई सदर गर्दै आएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिने बताइएको छ । साथै सरकारले विद्यार्थी भर्ना पनि भदौ १ गतेबाट गर्ने निर्णय यसअघि नै गरेको थियो । भर्नाको लागि विद्यार्थी स्वयं विद्यालयमा जानुपर्दैन । विद्यार्थी भर्ना स्थगित गर्ने भए मात्र सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्नेछ र स्थगित नगर्ने भए कुनै निर्णय गर्नेछैन । सीसीएमसीले बैंक तथा वित्तीय संस्थाको काम ५० प्रतिशत कर्मचारीबाट मात्र गर्न वा ५० प्रतिशतलाई घरबाटै काम गर्ने वातावरण मिलाउने गरी निर्णय गर्न सिफारिस गरेको छ । सीसीएमसीले भारतीय सीमामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

काठमाडौंलगायतका सहरी क्षेत्रमा कोरोना संक्रमण उच्च दरमा वृद्धि हुनुमा भारतीय नागरिकको नेपाल प्रवेश मुख्य भएको ठहर गर्दै नेपाल प्रवेश गर्ने नाकाको संख्य घटाउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । यसअघि २० वटा नाकाबाट नेपाल प्रवेश गर्न दिइए पनि अब केही दिनका लागि १० वटा प्रवेश विन्दुबाट मात्र स्वास्थ्यसम्बन्धी प्रक्रिया पूरा गरेर नेपाल आउन दिनुपर्ने प्रस्ताव सीसीएमसीले गरेको छ ।

बैठकले भारतीय बजारमा गएर किनमेल गर्ने र भारतीय कामदार नेपाल ल्याउने कार्य तत्कालका लागि बन्द गर्नुपर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । भारतीय बजारमा कोरोना संक्रमितको संख्या अधिक मात्रामा बढेको कारण सरकारले भारतीय बजारमा किनमेल गर्न जाने कार्य बन्द गर्न लागेको हो । सीमा क्षेत्रका अधिकांश नागरिकको दैनिक उपभोग्य सामान खरिद गर्ने बजार नै भारतीय बजार बन्दै आएको छ ।

भारतमा हजारौंको संख्यामा कोरोना संक्रमितको संख्या बढ्दै आएको छ भने दैनिक करिब एक हजारको दरले कोरोनाबाट मृत्यु भइरहेको छ । नेपालसँग सीमा जोडिएका अधिकांश भारतीय जिल्लामा कोरोनाको संक्रमण दर अत्यधिक छ । त्यही कारण भारतीय बजारमा जान केही दिनका लागि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था देखिएका आएको छ । सरकारले अन्तर्राष्ट्रिय सिमानामा यही साउन ३२ गतेसम्मका लागि बन्द गरेको छ । तर, कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सीमा बन्दलाई भदौ १५ गतेसम्म पु-याउन लागेको हो ।

भारतसँग सीमा जोडिएका नेपालका अधिकांश तराईका जिल्लाहरुमा पछिल्लो समयमा कोरोना संक्रमितको दर बढेको छ भने काठमाडौंमा पनि भारतबाट आएका अधिकांशमा कोरोना देखिएपछि भारतीय कामदार तत्कालका लागि ल्याउन रोक्नुपर्ने प्रस्ताव सीसीएमसीको बैठकले गरेको छ । तर, यसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गरेपछि मात्र हुनेछ । बैठकले जिल्ला, गाउँ तथा नगरमा क्वारेन्टाइन र आइसोलेसन थप गर्नुपर्ने ठहर गर्दै त्यसका लागि जिल्लास्थित जिल्ला संकट व्यवस्थापन केन्द्र र स्थानीय तहको समन्वयमा त्यस्तो काम गर्नुपर्ने ठहर गरेको छ । कोरोनाको दर बढ्न थालेपछि विभिन्न जिल्लामा स्थानीय प्रशासनले लकडाउन र कफ्र्युसमेत लगाउन थालेका छन् ।

सीसीएमसीले आन्तरिक हवाइ उडान र अन्तर्जिल्ला सार्वजनिक सवारीका साधन सञ्चालनको म्याद १५ दिन थप गर्न सिफारिस गरे पनि अन्तर्राष्ट्रिय हवाइ उडान के हुने भन्ने अझै अनिश्चित नै छ । त्यस बारेमा पनि सोमबारकै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ । तर सार्क देशबाट हुने उडानको म्याद भने अर्को १५ दिन थपिने स्रोतले जानकारी दिएको छ । भारतमा कोरोना संक्रमितको संख्या अत्यधिक रहेको कारण भारतलाई हेरेर सार्कसम्बन्धी नै निर्णय सरकारले लिनलागेको हो । अरु तेस्रो देशबाट हुने उडानबारे भने सोमबार नै निर्णय हुने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया