Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग-कारखाना सञ्चालनमा कडाइ अन्तर्राष्ट्रिय उडान पनि नहुने

उद्योग-कारखाना सञ्चालनमा कडाइ अन्तर्राष्ट्रिय उडान पनि नहुने


काठमाडौं, साउन २७
सरकारले उद्योग- कलकारखाना सञ्चालनमा कडाइ गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि उद्योग सञ्चालन गर्न आवश्य पर्ने मजदुरहरु सोही उद्योगभित्रै क्वारेन्टाइनमा बस्नुपर्नेछ र स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

मजदुरहरु आवतजावत गर्दा भीडभाड बढेको भन्दै सरकारले सञ्चालन गर्न चाहने उद्योगीले सबै मजदुरलाई उद्योग-कलकारखानाभित्रै क्वारेन्टाइनमा राख्नुपर्नेछ । उद्योगहरु सञ्चालन हुनथालेपछि मजदुरहरु धमाधम काठमाडौंलगायतका सहरी तथा औद्योगिक नगरीमा प्रवेश गर्न थालेपछि भीडभाड बढेको छ । कपितय उद्योगमा भारतबाट समेत मजदुर आएका छन् ।

विभिन्न क्षेत्रबाट आएका कारण मजदुरहरुलगायतका विभिन्न व्यक्तिहरुमा कोरोना संक्रमण बढेको छ । ‘आवतजावत र भीडभाड बढेपछि कोरोना संक्रमण बढेको कारण केही समयका लागि कडाइ गर्ने निर्णय भएको छ’, मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाइ उडान तथा अन्तर्जिल्ला सार्वजनिक यातायात पनि तोकिएको मितिभन्दा १५ दिन थप बन्द गर्ने निर्णय भएको छ ।’

स्रोतका अनुसार भदौ १ गतेदेखि खुल्ने भनेको अन्तर्राष्ट्रिय हवाइ उडान पनि भदौ १५ गतेसम्मका लागि बन्द नै हुने भएको छ । अन्तर्राष्ट्रिय उडानको साथै आन्तरिक उडान र अन्तर्जिल्ला सार्वजनिक यातायातको साधन पनि भदौ १५ गतेसम्म नै बन्द हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान तथा सार्वजनिक यातायातको साधन भदौ १६ गतेबाट मात्र खोल्ने निर्णय गरेको छ । त्यतिबेला पनि अवस्था हेरेर निर्णय गरिने एक मन्त्रीले जानकारी दिए ।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भने भदौ १ गतेदेखि आन्तरिक हवाइ उडान र अन्तर्जिल्ला सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले भदौ १ गतेका सट्टा भदौ १५ गतेपछि मात्र त्यस्ता सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाउने प्रस्ताव गरेको थियो । त्यही प्रस्तावलाई सोमबारको मन्त्रिपरिषद् बैठकले पास गरेको हो ।

भारतबाट आउनेहरुमाथि थप कडाइ गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । भारतबाट आउनेबाट कोरोना संक्रमण बढेपछि सरकारले भारतबाट आउने नेपाली तथा भारतीय सबैमा कडाइ गर्न लागेको हो । सीसीएमसीको सिफारिसअनुसार नै भारतबाट नेपाल प्रवेश गर्ने विन्दुलाई बीसबाट दश स्थानमा झार्ने निर्णय गरेको छ ।

सरकारले भदौ १५ गतेसम्मका लागि विद्यार्थी भर्ना र शैक्षिक संस्था खोल्ने तथा परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । अब भर्ना र परीक्षा कार्यक्रम भदौ १६ गतेपछि मात्र खुल्ने छ ।

नगरपालिका फोरमको मागकाठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको छ । फोरमको सोमबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि काठमाडौँमा कोरोनाको सङ्क्रमण दरमा तीव्र वृद्धि भएको भन्दै तत्काल रोक लगाउन माग गरेको हो ।

अत्यन्त घनाबस्ती रहेको हुँदा कोरोना सङ्क्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थालाई मध्यनजर गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नसमेत माग गरिएको छ । त्यस्ता विन्दुबाट अवैधरुपमा अनधिकृतरुपमा समेत मानिस प्रवेश गर्ने गराउने कार्यलाई पूर्णतः नियन्त्रण गर्न फोरमले माग गरेको छ । यस्तै तेस्रो मुलुकबाट आउनसक्ने ठूलो सङ्ख्याको यात्रुलाई ध्यानमा राखेर क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्नुपर्नेमा सुझाव दिइएको छ ।

उपत्यकामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा हुने ¥याली, भेला, अनशन, जुलुसलगायतका गतिविधि गर्नसमेत कठिनाइका साथ निषेध गरिनुपर्ने तथा भीडभाड हुने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन फोरमले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै सङ्क्रमण हुनसक्ने सम्भवनालाई न्यूनीकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखी मास्क नलगाई आवतजावत गर्न तथा मास्कको उचित प्रयोग नगर्नेलाई कारबाही गर्न समन्वय गर्ने निर्णय फोरमको छ । उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई तत्कालका लागि तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आर्थिक गतिविधिलाई चलायमान गर्ने भन्दै सरकारले खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेष्टुराँ आदिमा कोरोनाको सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले त्यस्ता क्षेत्रमा यथाशक्य सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरी कारबाहीको दायरामा ल्याउने निर्णय भएको फोरमले उल्लेख गरेको छ ।

अनधिकृतरुपमा उपत्यका प्रवेश गरेका निर्माणकार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएका बढी देखिएको भन्दै उपत्यका फोरमले तरकारी व्यापारलाई साँझ बिहान मात्र सीमित गरी निर्माणकार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मका लागि निषेध गर्नुपर्ने निर्णय गरिएको जनाएको छ ।

उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको उपयुक्त व्यवस्था गरी मजदुरलाई त्यही रहने व्यवस्था गर्न र सुरक्षा मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने व्यवस्था गर्न निर्णयमा भनिएको छ । सामाजिक सुरक्षा भत्ता प्रायोजनका लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकामा उक्त म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भएकाले उक्त म्यादलाई बढाएर असोज मसान्तसम्म पु-याइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया