Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमण बढेपछि अघोषित लकडाउन

संक्रमण बढेपछि अघोषित लकडाउन


काठमाडौं, साउन २८
काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरुमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले विभिन्न व्यवसाय र हिँड्डुलमा क्रमशः टाइट गर्दै अघोषित लकडाउन गरेको छ । सरकारले ठेलागाडामा सामान बिक्री गरेर हिँड्ने कामलगायत आन्तरिक र बाह्य हवाइ उडानको साथै अन्तर्जिल्ला सार्वजनिक सवारीसाधन तत्काल नखोल्ने निर्णय गरेको छ । साथै भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाका पनि बन्द गरेको छ । यसअघि सरकारले यही साउन ३२ गते आइतबारसम्मका लागि मात्र अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

लकडाउनको सुरुका दिनमा यसैगरी अन्तर्राष्ट्रिय नाका बन्द गर्नुको साथै सबै व्यवसाय बन्द गरेको थियो । पछि निश्चित व्यवसाय खुल्न दिएजस्तै अहिले केही निश्चित व्यवसायमा मात्र प्रतिबन्ध लगाएको छैन । लकडाउन घोषित रुपमा गर्दा कर संकलनका समस्या हुने भएकाले पनि सरकारले बन्द गर्नका लागि स्थानीय प्रशासनलाई अधिकार दिएको छ । जिल्लाहरुले भने निषेधाज्ञा नै जारी गरेका छन् ।

साउन ६ गते लकडाउन खोलेपछि कोरोना संक्रमितको संख्या बढेपछि सरकारले मानिसको आवतजावतमा कडाइ गर्दै व्यवसाय सञ्चालनमा पनि कडा नियम राख्नलागेको हो । अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेपछि मानिसको आवातजावत पूर्णतः बन्द भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रलगायत अन्य मित्रराष्ट्रले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी सङ्क्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन गत साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई भदौ ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिएका छौँ’, अर्थमन्त्री खतिवडाले भने ।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत् कायम राख्ने निर्णय गरेको छ ।

सरकारले उक्त आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ । बैठकले सरकारले विश्वव्यापी महामारीको रूमलिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवनरक्षाका लागि भएको जनाएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सीमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्णपालना गरी गराई सहयोग पु¥याउनु हुन सरकारले सबैसँग आग्रह गरेको छ । मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ ।

गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाइ सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा. खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् ।

सरकारले कोभिड–१९ सङ्क्रमणका सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ–संस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

ती निकायको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने निर्णय गरिएको गरेको छ । अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने, सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने निर्णय सरकारले गरेको छ ।

यस्तै मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य र सुरक्षालगायतका आधारभूत सेवाप्रवाहलाई निरन्तरता दिन जनशक्ति, जनशक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री, आवश्यक सुरक्षा प्रबन्ध र अनुकूल कार्य वातावरण बनाउन सम्बन्धित मन्त्रालयका सचिवले आवश्यक कार्ययोजना तयार गरी प्रभावकारीरूपमा कार्य सञ्चालन गर्ने/गराउने निर्देशन दिएको छ ।

बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएकाले धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने/नगराउनेसमेत निर्णय गरेको छ । सरकारले चाडपर्व आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउने भनेको छ । दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार निर्माणमा आवश्यक सामग्री आपूर्ति गर्दा सो कार्यमा संलग्न चालक, सहचालक तथा अन्य व्यक्तिले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनामा कमी भएको देखिएकाले सम्बन्धित व्यवसायी, उद्योगी एवं सामाजिक सङ्घ–संस्था, सामुदायिक संस्था र सहकारीले अनिवार्य रूपमा सामाजिक दूरी कायम गर्नुका साथै मास्क, स्यानेटाइजरजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्ने निर्देशन दिएको छ ।

थपिए ६३८ नयाँ सङ्क्रमित, चारको मृत्यु : मंगलबार नेपालमा थप छ सय ३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनामा गरेको पीसीआर परीक्षणबाट छ सय ३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार छ सय ९८ जनाको पीसीआर परीक्षण भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मंगलबार उपत्यकामा थप एक सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंका एक सय २१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन् । यस्तै, कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा एक सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार छ सय ६४ पुगेको छ । मंगलबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार दुई सय एक रहेको छ । अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या दुई सय २४ छ । आईसीयूमा ८५ सङ्क्रमित छन् । यीमध्ये तीन जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । देशभर आईसीयू शय्या जम्मा ११ हजार ३४ र भेन्टिलेटर जम्मा पाँच सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

मजदुरलाई उद्योगभित्रै राख्नुपर्ने : सरकारले उद्योग, कलकारखानालगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीले हाल उद्योग व्यवसाय सञ्चालन गर्न, निजी तथा सार्वजनिक निर्माणका काममा लगाइएका श्रमिकलगायतका जनशक्तिलाई अनिवार्यरूपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग र कलकारखाना, सार्वजनिक तथा निजी निर्माणको परिसरभित्रै सुरक्षितरूपमा खाने बस्ने व्यवस्था गर्ने निर्देशन दिएको छ ।

बैठकले हाललाई अन्यत्र स्थानबाट कामदार नल्याउने र कोभिड–१९ सङ्क्रमणका कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टाइन तथा आइसोलेसनलगायतका पूर्वाधारको प्रबन्धसमेत गर्न निर्देशन दिएको छ ।

यस्तै, मन्त्रिपरिषद्को निर्णयबमोजिम अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने दुई सय जना नेपाली नागरिकसमेत गरी दैनिक कुल पाँच सय जनाको सङ्ख्यामा नबढ्ने गरी उडान अनुमति दिएको छ । हाल सङ्क्रमणको दर बढेका, सङ्क्रमणको उच्च जोखिममा रहेका एवं आवश्यक मात्रामा स्वास्थ्यकर्मीको अभाव देखिएका स्थानमा स्वास्थ्य मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाई स्वास्थ्य सेवालाई सुदृढ र प्रभावकारी गराउने निर्णय गरेको छ ।

कुन–कुन नाकाबाट नेपाल प्रवेश गर्न पाइन्छ ? सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनका लागि १० सीमा नाका तोकेको छ । यसअघि २० वटा नाका तोकिएको १० वटा मात्र सीमित गरेको हो । काँकडभित्ता (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), बेलहिया (रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ ।

कोभिड–१९ को विश्वव्यापाी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्न ती नाका तोकिएका हुन् । ती नाकाबाट आउने व्यक्तिहरूको अभिलेख प्रदेश सरकारका समन्वय र नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले राखी ती व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछ ।

यस्तै भारततर्फको सीमावर्ती क्षेत्रमा रहेका बस्ती एवं बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिरहेका अवस्थालाई मध्यनजर गर्दै नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्न तोकिएका १० नाकाबाहेक अन्यत्र कुनै पनि स्थानबाट दैनिक रूपमा किनमेलका लागि आवतजावत गर्न, उद्योगका लागि कुनै पनि प्रकारको जनशक्ति र कामदार ल्याउन एवं कुनै पनि प्रकारको आवतजावत हुन नदिने व्यवस्था सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले मिलाउने जिम्मा दिइएको छ ।

खोल्न पूर्णतः प्रतिबन्ध लगाइएका व्यवसायहरु : बैठकले शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर तथा स्पा, स्विमिङपुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालनमा निषेध गरेको छ ।

यसैगरी बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड–१९ को सक्रिय सङ्क्रमित सङ्ख्या दुई सयभन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय प्रशासनको अनुमतिबाहेक आवतजावत रोक लगाएको छ । फुटपाथ र खुला ठाउँ र ठेलागाडा र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एव कवाडी सङ्कलनजस्ता कार्य जथाभावीरूपमा सञ्चालन हुँदा भीडभाड बढ्ने र कोभिड–१९ को सङ्क्रमण समुदायस्तरसम्म विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया