Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डद्वारा प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ विधि लागू

धितोपत्र बोर्डद्वारा प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ विधि लागू


काठमाडौं, साउन २९
नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ‘ग’ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डको यही साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका, २०७७ लागू गरेको हो ।

निर्देशिकाअनुसार संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम रोड शो सञ्चालन गर्नुुपर्नेछ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्नेछ ।

बोर्डका अनुसार संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुुपर्नेछ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमासहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत धितोपत्र निष्काशन गर्नुपर्नेछ ।

कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुुपर्नेछ । बोर्डका अनुसार स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (बिडिङ्ग) प्रणाली सञ्चालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली सञ्चालनमा नआउन्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्णरुपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफमूल्य र सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई मागबमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।

निर्देशिकाअनुसार सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्नेछ । सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनेछ । प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक हुने, निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्नसक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने विश्वास लिएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानीसम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको सुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरेको बोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया