Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ का कारण व्यापार घाटा घट्यो

कोभिड १९ का कारण व्यापार घाटा घट्यो


सुरेश राउत
काठमाडौं, भदौ ९
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापीरूपमा एक सय २० दिन लकडाउन गर्दा यसको प्रत्यक्ष प्रभाव मुुलुकको वैदेशिक व्यापारमा परेको छ । लकडाउनकै कारण सीमा नाका र आम नागरिकको दैनिक क्रियाकलापमा समेत रोक लगाइँदा वस्तुु आयात घटेको छ भने निर्यातमा सामान्य अंकले मात्र वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा मुुलुकको कुुल वस्तुु आयातमा १५ दशमलव छ प्रतिशतले कमी आएर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँमा सीमित रहेको छ । यस अवधिमा मुलुकको कुुल वस्तुु निर्यात भने शून्य दशमलव छ प्रतिशतले मात्र बढेर ९७ अर्ब ७१ करोड रुपैयाँ सीमित रहेको छ । सोही आधारमा मुुलुकको कुुल वैदेशिक व्यापार घाटा १६ दशमलव आठ प्रतिशतले घटेर गत आर्थिक वर्षमा १० खर्ब ९९ अर्ब नौ करोड रुपैयाँमा सीमित हुुन पुुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा भने यस्तो व्यापार घाटा १३ दशमलव पाँच प्रतिशतले बढेको थियो । यसैगरी उक्त अवधिमा कुुल वस्तु आयात १३ दशमलव नौ प्रतिशतले बढेको थियो भने कुुल वस्तु निर्यात १९ दशमलव चार प्रतिशतले बढेको थियो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ दशमलव दुुई प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात आठ दशमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात छ दशमलव आठ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा गन्तव्यका आधारमा भारततर्फको निर्यात ११ दशमलव आठ प्रतिशतले बढ्दा चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ४३ दशमलव र १८ दशमलव दुुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लाष्टिकका भाँडा, फलफूललगायतका वस्तुको निर्यात बढेको भए पनि यस अवधिमा जस्तापाता, तार, धागो, तयारी पोशाक, उनी गलैँचालगायतका वस्तुुहरूको निर्यातमा भने कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव नौ प्रतिशत, ११ दशमलव पाँच प्रतिशत र पाँच दशमलव तीन प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको भए पनि पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि देशव्यापीरूपमा लकडाउन गर्दा पेटोलियम पदार्थको मागमा कमी आउँदा यसको आयात पनि घटेको हो ।

यसैगरी निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा कमी आएको छ । लकडाउनकै कारण भारतसँग जोडिएको अधिकांस भन्सार नाका बन्द हुँदा त्यस्ता नाकाहरूबाट हुुने निर्यातमा कमी आएको हो । प्रतिवेदनअनुुसार आयाततर्फ पनि सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा समेत गिरावट आएको छ ।

एक वर्षमा भित्रियो आठ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यास : मुलुकले गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब तीन करोड रुपैयाँ रेमिट्यास भित्र्याएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा यस्तो रेमिट्यास १६ दशमलव पाँच प्रतिशतले बढेकोमा गत आवमा भने यस्तो रेमिट्यास शून्य दशमलव पाँच प्रतिशतले घटेको हो । अमेरिकी डलरमा भने रेमिट्यास तीन दशमलव तीन प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो रेमिट्यास सात दशमलव आठ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २० दशमलव पाँच प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२ दशमलव छ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने गत आवमा ३४ दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो आवमा यस्तो संख्या पाँच दशमलव चार प्रतिशतले बढेको थियो ।

शोधानान्तर स्थिति दुई खर्ब ८२ अर्ब रुपैयाँले बचतमा :राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा मुुलुकको शोधनान्तर स्थिति दुुई खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा गत आर्थिक वर्षमा दुुई अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया