Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६० सहसचिवको सरुवा सिनियरलाई जबर्जस्ती प्रदेशमा

६० सहसचिवको सरुवा सिनियरलाई जबर्जस्ती प्रदेशमा


काठमाडौं,भदौ ११

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । कतिपय सिनियर सहसचिवलाई जबर्जस्ती प्रदेश मन्त्रालयमा सरुवा गरिदिएको छ । यसरी अन्याय पर्नेमा प्राविधिकतर्फका सहसचिव छन् । सिनियरहरुलाई जबर्जस्ती प्रदेशको मन्त्रालयको सचिव बनाएर पठाउँदा सरकारले सोचेजस्तो काम हुन समस्या पर्नेछ । कतिपयले भने प्रदेशमा सरुवा मागेर गएको कारण कामले गति लिनेछ ।

सामान्यले प्रदेश ५ स्थायी ठेगाना भएका गोपाल प्रसाद सिग्देललाई कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव बनाएर पठाइदिएको छ । सहसचिव सिग्देल अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छन् । उनको दरबन्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर कर्णाली प्रदेश पठाइएको हो । सहसचिव सिग्देल मात्र होइन, प्रदेशमा सरुवा भएका अधिकांश सहसचिवले असन्तुष्टि व्यक्त गरेका छन् । ‘इच्छाविपरीत सरुवा गर्नाले काम गर्ने जाँगर नै आउँदैन’, प्रशासन तर्फकै एक सहसचिवले आर्थिक दैनिकसित भने, ‘कतिपयलाई जबर्जस्ती प्रदेशमा पठाइएको छ ।

यसले गर्दा सोचेजस्तो काम नहुनसक्छ ।’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा, सञ्चार मन्त्रालयकी सहसचिव राधिका अर्याललाई वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, पुनर्निर्माण प्राधिकरणका चूडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रालयमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।

यस्तै, लोकसेवा आयोगका खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयका राजेन्द्र कुमार पौडेललाई प्रदेश १ को कानुन मन्त्रालयमा, गृह मन्त्रालयका इन्दु घिमिरेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, पर्यटन मन्त्रालयका कमल प्रसाद भट्टराईलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा, अर्थ मन्त्रालयका श्रीकृष्ण नेपाललाई सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव उत्तर कुमार खत्रीलाई प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ । त्यस्तै, अर्थ मन्त्रालयअन्तर्गत रहेर कार्यरत रमेश प्रसाद सिवाकोटीलाई गृह मन्त्रालय ल्याइएको छ । गृहका महेश आचार्यलाई अर्थ मन्त्रालय ल्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख सञ्जीव बराललाई वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडा सरुवा गरिएको छ । सिँचाइ मन्त्रालयमा उनले क्षमतावान् सहसचिवको छवि बनाएका छन् । स्रोतका अनुसार बरालले छानेरै वाग्मती प्रदेश गएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया