Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदबाट पास नभए पनि एमसीसीको काम अगाडि बढ्ने

संसदबाट पास नभए पनि एमसीसीको काम अगाडि बढ्ने


काठमाडौं,भदौ १२

अमेरिकी सरकारको सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी र नेपाल सरकारबीच भएको कम्प्याक्ट सम्झौतालाई नेपालको संसद्ले पास नगरे पनि तत्काल काम अगाडि बढाउन बाधा नपर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अमेरिकाले उक्त कार्यक्रमका कामहरु अगाडि बढाएर दुवै देशको सहमतिमा पछि संसद्बाट पास गर्ने मिति तोक्न सकिने जानकारी गराएको छ । नेपालको संसद्बाट तोकिएको समयमा एमसीसी पास नभएपछि अर्थ मन्त्रालयले नयाँ मिति तोक्न पत्राचार गरेको थियो । तर, अहिले नै मिति तोक्न आवश्यक नभएको अमेरिकाले जानकारी गराएको छ ।

सत्तारुढ नेकपा महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ‘नेकपा समस्या समाधान सुझाव कार्यदल, २०७७’ ले बुँदा नम्बर १७ मा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी संसद्ले अनुमोदन गर्नुपर्ने सुझाव दिएको बेला अमेरिकाले तत्काल नेपालको संसद्बाट उक्त सम्झौता अनुमोदन नभए पनि काम अगाडि बढाउन बाधा नपर्ने जनाएको हो ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उक्त प्रतिवेदन केही दिनअगाडि नै बुझाइएको छ । नेकपाले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सोसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गर्नेछ । नेकपाको कमिटीमा उठेका प्रश्नको उत्तर सम्झौतामा हस्ताक्षर गर्ने दुवै पक्षले दिएपछि ती दुई कमिटीले परिमार्जन र संशोधनको आवश्यकता देखेन भने संसद्मा पेश गरिने नेकपा स्रोतको दाबी छ । उक्त सम्झौतालाई तत्काल पास गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तयार नै छ । किनकि उक्त सहयोग सम्झौतामा कांग्रेस सरकारमा भएको बेला सन् २०१७ मा हस्ताक्षर भएको थियो । त्यसमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोगमा अन्तर्देशीय विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मत तथा निर्माणको काम गरिनेछ । विद्युत् प्रसारणलाइन निर्माणको लागि नुवाकोटमा जग्गा अधिग्रहणको काम थालिए पनि कोभिड–१९ को महामारीको कारण हाल स्थगित छ । संसद्बाट अनुमोदन र जग्गा अधिग्रहणको काम रोकिए पनि काम अगाडि बढाउने अमेरिकी संकेतले कोरोना महामारी कम हुनासाथ काम सुरु हुने देखिन्छ । एमसीसी परियोजनामा अमेरिकी सैन्य सहयोग रहने प्रचार सो सम्झौताको विपक्षमा रहेकाहरुले गर्दै आएका छन् । तर, अमेरिकाले भने त्यसमा सैन्य सहयोग नहुने स्पष्ट पारेको छ ।

उक्त सहयोगको नाममा अमेरिकी सैनिक नेपाल आउने प्रचार गरिए पनि त्यसमा अहिलेसम्म सत्यता देखिएको छैन । सम्झौतालाई नेपालको संसद्को अनुमोदन किन खोजियो भन्ने बारेमा कसैले पनि स्पष्ट जवाफ दिएका छैनन् । तर, नेपालमा राजनीतिक अस्थिरता भएको बेला सम्झौता गरिएको कारण काम थालेपछि बीचमा राजनीतिक अवरोध नआओस् भनेर अमेरिकाले सहयोग सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुपर्ने शर्त राखेको थियो । अहिले राजनीतिक स्थिरता देखिएको कारण संसद्बाट अनुमोदन गरिरहनुपर्ने आवश्यकता नदेखिएको नेताहरुको भनाइ छ । अमेरिकाले भने उक्त कार्यक्रम लागू गर्नका लागि नेपालले कतै पनि सम्मिलित हुनु नपर्ने र थप सम्झौतमा हस्ताक्षर गर्न नपर्ने स्पष्ट पारिसकेको छ ।

उक्त सहयोगबाट काठमाडौंको लप्सीफेदीबाट नुवाकोट हुँदै बुटवल न्यूगोरखपुर अन्तर्देशीय विद्युत् प्रसारणलाइनको निर्माण हुनेछ । ६० अर्ब रुपैयाँ अमेरिकाले सहयोग दिनेछ भने त्यसमा नेपालले थप १५ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । उक्त परियोजनाको काम पाँच वर्षमा पूरा गर्नुपर्ने अमेरिकी शर्त छ । नेपालमा विभिन्न आयोजनाको काम तोकिएको मितिमा नभइरहेको बेला अमेरिकाले काम सुरु भएको पाँच वर्षमै सक्नुपर्ने कडा शर्त राखेको छ ।

विकासशील देशहरुलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्यका साथ अमेरिकी संसद्ले एमसीसी परियोजना सन् २००४ मा स्थापना गरेको हो । सन् २०१२ पछि भएका विभिन्न छलफलपछि सन् २०१७ मा नेपाल सरकार र अमेरिकी सरकारबीच वासिङटनमा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनामध्ये करिब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तर्देशीय प्रसारणलाइन निर्माणमा खर्च हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया