Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनामा चीनबाट ११ अर्बको आयात

एक महिनामा चीनबाट ११ अर्बको आयात


काठमाडौं, भदौ १६
आयातमा निर्भर हाम्रो बजारमा पछिल्लो एक महिनामा चीनबाट मात्र ११ अर्ब १७ करोड ८९ लाख रुपैयाँबराबरको सामग्री आयात भएको छ । चीनबाट विशेषगरी लसुन, प्याज, तरकारी, मसला, खाद्यान्नका साथै लत्ताकपडा कम्प्युटर, टेलिभिजनलगायतका सामग्रीहरु व्यवसायीहरुले आयात गर्ने गरेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले व्यवसायीहरुले धेरै परिमाणमा चीनबाट लसुन, प्याज ल्याउने गर्छन् भने त्यसका अलावा स्याउ, विभिन्न प्रकारका मसलाहरु आयात गर्ने गरेको बताए ।

चालू आवको प्रथम महिनामा चीनबाट व्यवसायीहरुले पाँच करोड ४० लाख मूल्य बराबरको करिब साढे छ लाख टन चिसो र सुकेको लसुन आयात गरेका छन् भने सुकेको लसुन मात्रै चार करोड ५८ लाख मूल्यबराबरको करिब साढे चार सय टन तथा सुकेको प्याज ३६ लाख ८३ हजार मूल्यबराबरको करिब आठ टन आयात गरेका छन् ।

व्यवसायीहरुले लसुन प्याजका अलावा सिमी, ओखर, स्याउ, चियापत्तीलगायतका सामग्री समेत आयात गरेको भन्सार विभागले बताएको छ । उक्त अवधिमा व्यवसायीहरुले २२ लाख ७० हजार मूल्यबराबरको २३ टन सुख्खा सिमी, २३ करोड ९४ लाख ९९ हजार मूल्यबराबरको करिब २७ सय टन स्याउ, तीन करोड १९ लाख मूल्यबराबरको करिब एक सय एक टन ओखर, एक लाख ४६ हजार मूल्यबराबरको सात सय ३६ किलो चियापत्ती, ६७ लाख दुई हजार मूल्यबराबरको २७ टन दालचिनी, ५४ हजार मूल्यबराबरको पाँच सय ८५ किलो मसलाको मिश्रण आयात गरेका छन् ।

त्यसैगरी व्यवसायीहरुले चीनबाट आयात गर्नेमा खाद्यवस्तु समेत रहेको पाइन्छ । कृषिप्रधान देश भने पनि सिँचाइ, मलजस्ता कृषिका लागि अति आवश्यक वस्तु पनि सरकारले उपलब्ध गराउन नसक्दा खाद्यान्न समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थामा मुलुकमा रहेको पाइन्छ ।

यस्तै व्यवसायीहरुले चीनबाट प्रथम महिनामा ६७ हजार मूल्यबराबरको एक हजार सात सय किलो गहुँ तथा दुई करोड २९ लाख ५९ हजार मूल्यबराबरको एक सय ३२ टन गहुँबाट बनेका विभिन्न प्रकारका खाद्य वस्तुहरु, हजार मूल्यबराबरको एक केजी मकै तथा सात लाख ४८ हजार मूल्यबराबरको छ टन विभिन्न प्रकारका खाद्यान्न आयात गरिएको छ ।

चीनबाट आयात हुनेमा तेल, मासु, चक्लेटलगायतका वस्तु समेत रहेका छन् । एक महिनाको अवधिमा ८९ हजार मूल्यबराबरको नौ सय लिटर तेल तथा सात लाख ८७ हजार मूल्यबराबरको एक हजार पाँच सय किलो विभिन्न प्रकारका तेलजन्य पदार्थ, ३७ लाख ५२ हजार मूल्यबराबरको १६ टन बंगुरको मासु (मासुजन्य पदार्थ), ४८ लाख ७४ हजार मूल्यबराबरको २० टन चक्लेट तथा १३ हजार मूल्य बराबरको सात किलो चक्लेटको कच्चा पदार्थ (कोको), २७ हजार मूल्यबराबरको पाँच सय २० किलो पास्ता, ३१ लाख ९६ हजार मूल्यबराबरको करिब १६ सय टन बेकरीका सामग्री रहेका छन् ।

यस्तै चीनबाट आयात गरिएकोमा ३१ लाख ५३ हजार मूल्यबराबरको करिब २४ टन च्याउ, तीन लाख ४१ हजार मूल्यबराबरको करिब चार टन मटर, १३ लाख १५ हजार मूल्यबराबरको करिब आठ टन विभिन्न किसिमका तरकारी तथा २५ हजार मूल्यबराबरको दुई सय किलो तरकारी तथा फलफूल र ५४ लाख ६९ हजार मूल्यबराबरको छ टन जुस व्यवसायीहरुले आयात गरेका छन् ।

उक्त वस्तुहरु व्यवसायीहरुले साउन महिनामा आयात गरेका हुन् भने सोही समयमा ७० लाख ४३ हजार मूल्यबराबरको करिब ३४ टन मर्चा पाँच लाख ३५ हजार मूल्यबराबरको एक टन बेकिङ पाउडर, एक लाख ३९ हजार मूल्यबराबरको छ सय २४ किलो टोमाटोलगायतका ससहरु तथा ७५ लाख ७६ हजार मूल्यबराबरको १० टन ससका कच्चापदार्थ, ५७ लाख पाँच हजार मूल्यबराबरको करिब पाँच टन पाचकलगायतका वस्तुहरु, ३३ लाख ६० हजार मूल्यबराबरको करिब ३३ टन प्रोटिनयुक्त वस्तुहरु, ५२ लाख ९७ हजार मूल्यबराबरको करिब ३५ टन तयारी खानेकुराहरु चीनबाट नेपाल ल्याइएको छ ।

त्यसैगरी पशुजन्य आहार समेत चीनबाट ल्याउने गरेको पाइन्छ भने एक महिनाको अवधिमा एक करोड पाँच लाख २८ हजार मूल्यबराबरको एक सय २९ टन आहार व्यवसायीहरुले आयात गरेका छन् । यसैगरी ३१ लाख ३९ हजार मूल्यबराबरको करिब तीन टन फलफूलका बिरुवा, दुई लाख ४९ हजार मूल्यबराबरको दुई टन सूर्यमुखीको बीउ, छ लाख ८० हजार मूल्यबराबरको २० किलो काउलीको बीउ तथा ४८ लाख ७१ हजार मूल्यबराबरको तीन सय ५७ किलो तरकारीका बीउहरु र छ लाख एक हजार मूल्यबराबरको दुई टन फलफूल बीउहरु समेत चीनबाट आयात गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया