Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तरबैंक कारोबार घट्यो

अन्तरबैंक कारोबार घट्यो


काठमाडौं,भदौ १९
बैंकिङ क्षेत्रमा अन्तरबैंक अर्थात् बैंक तथा फाइनान्स कम्पनीहरुले एक आपसमा अल्पकालीन अवधिको लागि गर्ने पारस्परिक कारोबार रकम घटेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गतेदेखि एक सय २० दिनसम्म लकडाउन गरेपश्चात् यस अवधिमा बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको हो ।

सरकारले बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गर्ने सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखे पनि सिंगो मुुलुक नै लकडाउन भएकाले यस अवधिमा आर्थिक गतिविधि लगभग शून्य नै अवस्थामा अन्तरबैंक कारोबार पनि घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यही असार मसान्तसम्ममा सबै किसिमका गरी ६९ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले १६ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले मात्र आर्थिक वर्ष २०७६÷०७७ मा १५ खर्ब एक अर्ब ४५ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले भने एक खर्ब २९ अर्ब ४० करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा बैंक तथा फाइनान्स कम्पनीहरुले १९ खर्ब रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र १७ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले दुुई खर्ब नौ अर्ब ५५ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

गत आर्थिक वर्षमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले चैत ११ गतेदेखि एक सय २० दिन लकडाउन गरेको र उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाका धेरै शाखाहरु बन्द रहेकाले पनि अन्तरबैंक कारोबार अघिल्लो आवको तुुलनामा घटेको हो ।

सोही आधारमा २०७६ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ९७ प्रतिशत रहेकोमा २०७७ असारमा एक दशमलव २७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असारको चार दशमलव ५२ प्रतिशतको तुलनामा २०७७ असारमा शून्य दशमलव ३५ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ असारमा नौ दशमलव ५७ प्रतिशत रहेकोमा २०७७ असारमा आठ दशमलव ५० प्रतिशत कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७७ असारमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर छ दशमलव एक प्रतिशत र कर्जाको औसत ब्याजदर १० दशमलव ११ प्रतिशत रहेको छ । २०७६ असारमा यी ब्याजदर दरहरु क्रमशः छ दशमलव ६० प्रतिशत र १२ दशमलव १३ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया