Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअसोज ५ गतेदेखि बस र हवाइ सेवा सञ्चालन हुँदै

असोज ५ गतेदेखि बस र हवाइ सेवा सञ्चालन हुँदै


काठमाडौं ।
सरकारले बन्द भएको करिब छ महिनापछि आउँदो असोज ५ गते सोमबारदेखि लामो दूरीको बस सेवा र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती दुवै सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।

चैत ११ गते लकडाउन सुरु हुनुअगाडि नै हवाइ र अन्तर्जिल्ला यातायात बन्द गरेको थियो । तर, चैत ११ गतेबाट भने ती सेवा पूर्णतया बन्द भएका थिए । सरकारले जिल्लाभित्रको लागि बससेवा खोल्ने र सञ्चालन गरे पनि अन्तर्जिल्ला बससेवा भने सञ्चालन गरेको थिएन ।

काठमाडौंमा बाहिरबाट आउनेले कोरोना ल्याउँछन् भनेर यसअघि अन्तर्जिल्ला बससेवा सञ्चालन नगरिए पनि अहिले बाहिरी जिल्लामा भन्दा काठमाडौंमा बढी कोरोना संक्रमित देखिएपछि सरकारले बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, बैठकले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी दिँदै सरकारको प्रवक्ता बनाएको छ । २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट पराजित गौतमले यसअघि पटक–पटक प्रतिनिधिसभामा आउने प्रयास गरेका थिए । उनले काठमाडौंका रामवीर मानन्धरलाई राजीनामा गराएर सो क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका थिए । तर, जनविरोध बढेपछि गौतम पछि हटेका थिए ।

त्यसपछि रवीन्द्र अधिकारीको निधनबाट रिक्त कास्कीमा चुनाव लड्ने योजना बनाए पनि पहिल्यै विरोध भएपछि उनले त्यहाँ पनि उठ्ने कोशिस गरेनन् । पछि डोल्पाका निर्वाचन सांसदलाई राजीनामा गराएर चुनाव लड्ने प्रयास गरे पनि त्यसमा सफल भएनन् ।

प्रतिनिधिसभामा चुनाव उठ्ने प्रयास असफल भएपछि गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्ने तयारी गरे । त्यसको चौतर्फी विरोध भएपछि उनी राष्ट्रियसभामै नजाने निचोडमा पुगेका थिए । त्यसपछि आर्थिक अपराधीहरुको उक्साहटमा गौतमले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको दुईवर्षे कार्यकाल सकिएको पदमा मनोनीत हुने इच्छा व्यक्त गरे ।

गौतमले पहिला नै राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरेका थिए भने स्थानीय र प्रदेश तहबाट निर्वाचित हुने पदमा उम्मेदवार बनाउने निर्णय हुने थियो । तर, गौतमले खतिवडालाई नै रोक्ने गरी उनकै पद खोजेर बसेपछि गौतममाथि करछली गर्ने आर्थिक अपराधीहरुको लगानी रहेको आशंका गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया