Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रमा ११ अर्बले बढ्यो लगानी प्रतिबद्धता

उद्योग क्षेत्रमा ११ अर्बले बढ्यो लगानी प्रतिबद्धता


काठमाडौं ।
कोभिड १९ को कारण उत्पन्न परिस्थितिका बाबजुद पनि मुलुकको उद्योग क्षेत्रमा गरिने लगानीमा वृद्धि भएको छ । गत आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को अवधिको तुलनामा चालू आवको सोही अवधिमा मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा ३६ प्रतिशत अर्थात् ११ अर्ब ६१ करोड २० लाख रुपैयाँले बढेको छ ।

उद्योग विभागका अनुसार चालू आवको दुई महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत मुलुकको उद्योग क्षेत्रमा ४३ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेका छन् । उनीहरुले उक्त लगानी प्रतिबद्धता ३३ वटा उद्योग स्थापना तथा दुई हजार तीन सय ३७ जनालाई रोजगारी दिने उद्देश्यका साथ गरेका हुन् । गत आवको सोही समयमा लगानीकर्ताहरुले ३२ अर्ब दुई करोड ४६ लाख गरेका थिए । उनीहरुले उक्त प्रतिबद्धता ६० वटा उद्योग स्थापना तथा तीन हजार छ सय १८ जनालाई रोजगारी दिनको लागि गरेका थिए ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले कृषि तथा वन पैदावार, ऊर्जा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योग स्थापनाका लागि प्रतिबद्धता जनाउँदै आएका छन् । चालू आवको सोही समयमा लगानीकर्ता तथा उद्योगीहरुले सबैभन्दा बढी ऊर्जामा ३७ अर्ब १८ करोड तथा त्यसपछि क्रमशः उत्पादनमा दुई अर्ब १७ करोड ५६ लाख, सेवामा एक अर्ब ६८ करोड, पर्यटनमा एक अर्ब ४४ करोड ३२ लाख र सबैभन्दा कम कृषि तथा वन पैदावारजन्य उद्योगमा एक अर्ब १५ करोड ७० लाख लगानी प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले उक्त लगानी प्रतिबद्धता क्रमशः सात÷सात वटा ऊर्जाजन्य, उत्पादनमूलक र पर्यटनमूलक तथा १० वटा सेवामूलक, दुईवटा कृषि तथा वन पैदावरजन्य गरी कुल ३३ वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरुले ती छ प्रकारका ३३ वटा उद्योगमा दुई हजार तीन सय ३७ जनालाई रोजगारी दिने समेत बताएका छन् ।

त्यसैगरी उद्योगीहरुले गत आवको सोही समयमा सबैभन्दा बढी ऊर्जामा २२ अर्ब ६९ करोड ७६ लाख, त्यसपछि क्रमशः पर्यटनमा तीन अर्ब ९९ करोड ८० लाख, उत्पादनमा तीन अर्ब ५२ करोड ४० लाख, सेवामा एक अर्ब ४१ करोड ५० लाख र सबैभन्दा कम कृषि तथा वन पैदावरमा १३ करोड ५० लाख लगानी प्रतिबद्धता जनाएका थिए । यस्तै गत आवमा दुईवटा सूचना, प्रसारण तथा सञ्चार प्रविधिजन्य उद्योगमा २५ करोड ५० लाख लगानी प्रतिबद्धता जनाएकोमा चालू आवमा भने प्रतिबद्धता आएको पाइँदैन ।

उनीहरुले उक्त लगानी प्रतिबद्धता १२ वटा ऊर्जाजन्य, १४ वटा उत्पादनमूलक, २२ वटा पर्यटनमूलक, नौवटा सेवामूलक, एउटा कृषि तथा वन पैदावरजन्य गरी कुल ६० वटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै उनीहरुले ती छ प्रकारका ६० वटा उद्योगमा तीन हजार छ सय १८ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

विभागका सूचना अधिकारी एवं प्रशासन तथा सुविधा शाखाका निर्देशक विनोद खड्काले ऊर्जा क्षेत्रमा ठूलो लगानीको जलविद्युत् निर्माणको लागि लगानी आउनुले गर्दा प्रतिबद्धता रकम बढेको बताए । ‘स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताहरु ऊर्जा क्षेत्रमा आकर्षित भएका छन्’, उनले भने, ‘त्यसैले गर्दा रकम धेरै देखिएको हो ।’ असहज परिस्थितिमा विदेशी लगानीकर्ताहरुले भने नेपालमा रहेका प्रतिनिधिहरुमार्फत उद्योगमा प्रतिबद्धता जनाएका हुन् ।निर्देशक खड्काले कतिपय लगानीकर्ताहरु भने नेपालमा पनि बस्दै आएका छन् भने कतिपय उद्योगीका एजेन्ट नेपालमा रहेको हुँदा उद्योग स्थापनाका लागि गृहकार्य थालेको बताए ।

त्यसैगरी विभागले मुलुकमा उद्योग स्थापना तथा सञ्चालन गर्ने भनी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) समेत आएको बताएको छ । गत आवभन्दा प्रतिबद्धता रकममा कमी आए पनि प्रतिबद्धता रकम भने आएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया