Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्याक्सिनको पर्खाइमा चिनियाँ कामदार

भ्याक्सिनको पर्खाइमा चिनियाँ कामदार


काठमाडौं ।
कारोना भाइरसविरुद्धको खोप (भ्याक्सिन)को पर्खाइका कारण भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आउनुपर्ने चिनियाँ कामदार चीनमा नै रोकिनपुगेका छन् । चीनमा मत्थर र नेपालमा भने बढ्दो क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाएर मात्र नेपाल आउने तयारी गरेका चिनियाँ कामदारहरु खोप नपाउँदा नेपाल आउन नसकेको विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘करिब ३५ जना चिनियाँ दक्ष कामदार तथा इन्जिनियर आयोजनामा आउनुपर्ने हो’, आयोजना प्रमुख अधिकारीले भने, ‘खोप लगाएपछि मात्र नेपाल आउने उनीहरुले जानकारी गराएका छन् ।’

नेपालमा पनि संक्रमण बढ्दो क्रममा रहेकोले गर्दा तत्काल आऊ भन्नसक्ने अवस्था भने नरहेको उनले बताए । यसैबीच आयोजनामा २८ जना चिनियाँ कामदार हाल पनि कार्यरत छन् भने कुल ८० जना कामदारले काम गर्दै आएका छन् । आयोजना प्रमुख अधिकारीले दक्ष चिनियाँ कामदार ल्याउनको लागि महिनौं अघिदेखि पहल थालेकोमा सरकारले पछिल्लो समय नेपाल आउनको लागि अनुमति दिएको थियो । उनले सरकारलाई कामदारको आवश्यकताको बारेमा जानकारी गराएपछि जनस्वास्थ्य प्रोटोकल अपनाई नेपाल आउने दिने तयारी गरेको थियो ।

चिनियाँ कामदार तत्काल नेपाल नफर्किने विषयमा भने चीनस्थित नेपाली दूतावासले आयोजनालाई जानकारी गराएको थियो । आयोजनामा आउनको लागि चीनमा रहेका नागरिकलाई आवश्यक खोप भने माग गरिरहेको बताइएको छ । ‘नेपाल आउने चिनियाँ कामदारलाई आवश्यक पर्ने खोपको माग गरिएको त्यहाँस्थित कामदार रहेको कम्पनीले हामीलाई जानकारी गराएको छ’, आयोजना प्रमुख अधिकारीले भने, ‘त्यसैले गर्दा खोप जतिसक्दो छिटो मिल्यो, उनीहरु चाँडै फर्किन्छन् भन्ने आशा छ तर पछिल्लो समय नेपालमा फैलिएको संक्रमणले गर्दा भने अन्यौल थपिएको छ ।’

पछिल्लो समय नेपालमा समुदायस्तरमा कोरोना फैलिन क्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी चिनियाँ कामदारहरु फर्किन नपाउँदा विमानस्थल निर्माणकार्य भने प्रभावित बन्नपुगेको छ । ‘आयोजनाको काम नै चाहिँ रोकिएको छैन तर उपकरण चलाएर गर्नुपर्ने कामहरु भने उनीहरु विना सम्भव नहुँदा आयोजना अघि बढ्नसकेको छैन’, उनले भने, ‘उपकरण जडान तथा सञ्चालन गर्नका लागि चिनियाँ कामदारहरु आवश्यक पर्छ, जुन दक्ष जनशक्ति मुलुकमा अभाव रहेको छ ।’

सामान्य अवस्थामा भने दैनिक ४०/४५ चिनियाँ कामदार आयोजनामा काम गर्थे भने ठूलो संख्यामा (करिब दुई सय/तीन सय) चिनियाँ दक्ष कामदार आयोजनामा काम गर्न आउने/जाने क्रम चल्ने गरेको थियो । यसैबीच परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले आयोजनामा आवश्यक कामदार तथा विदेशी नागरिक नेपालमा आउन दिने काम कूटनीतिक छलफलबाट सम्भव भएको बताइन् । ‘नेपाल आउन चाहने विदेशी नागरिकलाई मन्त्रालयले भिसा सहजीकरण गर्ने गर्दा उनीहरु नेपाल आउनसकेका हुन्’, सहसचिव लम्सालले भनिन्, ‘आवश्यकताअनुरुप कूटनीतिक तह तथा औपचारिक वार्ताबाट विदेशी नागरिक नेपाल भित्रिन दिएका हौँ । यसको लागि विदेशमा रहेका नेपाली दूतावासले रचनात्मक भूमिका निर्वाह गरेका छन् ।’

यसरी सरकारले सहजीकरण गर्दा अर्को निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक चिनियाँ कामदार भने फर्किसकेका छन् । विमानस्थल प्रमुख विनेश मुनकर्मीले ६४ जना चिनियाँ कामदार आएको तथा बाँकी कामदार भने आउने क्रममा रहेको बताए । ‘पछिल्लो समय १६/१७ जनाको संख्यामा आएका थिए भने २६ जना कामदारले नेपाल आउनको लागि भिसा पाइसकेका छन्’, उनले भने, ‘अब विस्तारै आवश्यक कामदारहरु आयोजनामा आउनेछन् ।’

उनले आयोजनामा हाल एक सय ८० जना चिनियाँ कामदार र एक सय २० जना नेपाली कामदारले काम गरिरहेको बताए । त्यसैगरी रसुवागढी जलविद्युत् अयोजनामा कार्यरत भारत र चीनमा रोकिएको व्यवस्थापक तथा कामदार समेत आउने क्रममा रहेको बताइएको छ । यद्यपि भारतीय कामदारलाई भने नेपालमा आउनको लागि भिसा आवश्यक छैन । ठूलो आयोजनामा कार्यरत भारतीयलाई भने श्रम इजाजत आवश्यक पर्छ ।

विदेशी कामदारहरु भिजिट भिसा र पर्यटक भिसामा आउने र त्यसलाई परिणत गरी काम गर्ने गरेका छन् । पोखरा विमानस्थल निर्माणको कुल लागत २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ भने भैरहवा विमानस्थल निर्माणको कुल लागत छ अर्ब ८२ करोड रुपयाँ रहेको छ । यो रकम जग्गा अधिग्रहणबाहेकको हो भने जसमध्ये एसियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया