Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नू’

‘आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नू’


काठमाडौं ।
विश्व महामारी कोरोनाले उपत्यकासहित देशमा संक्रमणको उग्र रुप लिइरहेका बेला सरकारले भने नागरिकको कोरोना परीक्षण र उपचारको दायित्व नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले नागरिकको कोरोना परीक्षण र उपचार खर्च नव्यहोर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको, छ महिनायताको लकडाउनमा उपयुक्त योजना बनाउनुको साटो सत्ता खिचातानीमा पार्टीभित्रको राजनीतिमा अल्मलिएको भन्दै चौतर्फी आरोप लागिरहेका बेला सरकारको नागरिकप्रतिको बेवास्ताको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै अलोकप्रिय बनाउनेछ । सर्वोच्च अदालतले समेत नागरिकको रियलटाइम पीसीआर परीक्षण निःशुल्क गर्नू भन्ने आदेश दिइसकेको अवस्थामा ओली सरकारले भने निहत्था नागरिकलाई संकटको बेला आर्थिक अप्ठ्यारोमा पारिदिएको हो ।

प्रवक्ता गौतमका अनुसार स्वास्थ्य मन्त्रालयमा आइतबार बैठक बसेको थियो । सो बैठकले अतिअपांगता, ज्येष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण र उपचार भने सरकारले नै गर्ने निर्णय गरेको छ । यसबाहेक हाल नागरिकले सरकारी खर्चमा गराउँदै आएको निःशुल्क पीसीआर र अस्पतालको कोरोना उपचार खर्च अब आफैँले व्यहोर्नुपर्नेछ । अझ कोरोना संक्रमणपछि आईसीयू वा भेन्टिलेटरमा पुग्नुपर्ने अवस्था आएमा गरिब नागरिकले सारा झिटीसम्पत्ति त गुमाउने नै छन्, ज्यान बच्ने नबच्ने ‘ग्यारेन्टी’ समेत हुनेछैन । सरकारले उक्त व्यक्तिहरुमा लक्षण वा चिह्न देखिएमा निःशुल्क परीक्षण र उपचार गरिने तथा उनीहरुले बीमा गरेको भए सोही बीमामार्फत खर्च व्यहोरिने बताए ।

सरकारको निर्दयी निर्णयबाट सामान्य दैनन्दिन गुजार्न धौधौ पर्ने संक्रमित नागरिकहरु नराम्ररी प्रभावित हुने भएका छन् । यो निर्णय आइतबारदेखि नै कार्यान्वयनमा आएको प्रवक्ता गौतमले बताए । सांसददेखि मन्त्रीसम्मको कोरोना परीक्षण निःशुल्क गरिरहेको सरकारले सर्वसाधारणमाथि वज्रपात हुने निर्णय गरेपछि नागरिकहरु भने आक्रोशित भएका छन् । उनीहरुले आफूहरुले खाइनखाइ कमाएको सम्पत्तिबाट राज्यलाई कर तिरे पनि आवश्यक पर्दा राज्य दायित्वबाट पन्छिएको भन्दै कर तिर्न रोक्नुपर्ने बताएका छन् ।

२९ सय ४२ संक्रमित थपिए : नेपालमा कोरोना संक्रमितहरु पछिल्ला दिनहरुमा हजारको दरमा बढिरहेका छन् । आइतबार अपराह्नसम्मको पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४२ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म ९२ हजार १ सय ६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय २६ संक्र मित निको भएर घर फर्किएका छन् ।

त्यस्तै, हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर हाल ३०१ संक्रमितको अतिसघन कक्ष तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा गौतमले बताए । प्रदेश नं. १ मा ३५ संक्रमित अतिसघन कक्षमा र ११ भेन्टिलेटरमा, प्रदेश नं २ मा १२ संक्रमित अतिसघन कक्षमा, वाग्मतीमा १६६ संक्रमित अतिसघन कक्षमा र ४६ भेन्टिलेटरमा, गण्डकीमा २० संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, लुम्बिनीमा ५५ संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, सुदूरपश्चिममा ६ संक्रमित अतिसघन कक्ष र तीन भेन्टिलेटरमा तथा कर्णालीमा सात संक्रमित अतिसघन कक्ष र दुई जनाको भेन्टिलेटरमा भइरहेको जनाइएको छ ।

३९ हजार बढी सक्रिय संक्रमित : हाल देशभर ३९ हजार ३४१ सक्रिय संक्रमित छन् । छब्बीस हजार ४०८ संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । होम आइसोलेशनमा रहेका संक्रमित प्रदेश नं १ मा चार हजार १२०, प्रदेश नं २ मा ८१४, वाग्मतीमा १६ हजार ७६५, गण्डकीमा ९३०, लुम्बिनीमा दुई हजार २८१, कर्णालीमा ८०८ तथा सुदूरपश्चिम प्रदेशमा ६९० छन् । हाल चार हजार ८३१ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै हालसम्म प्रदेश नं १ मा सात हजार ९३४, प्रदेश नं २ मा १५ हजार ५७०, वाग्मतीमा ४० हजार २४४, गण्डकीमा चार हजार ७८७, लुम्बिनीमा ११ हजार ८७६, कर्णालीमा तीन हजार ८६८ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ८८७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौंमा दुई हजार संक्रमित : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएको डा गौतमले जानकारी दिए । थपिएका संक्रमितमध्ये काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

थप १२ संक्रमितको मृत्यु : नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको छ । शनिबार पनि १२ संक्रमितको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया