Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ महामारीका कारण आयात घट्यो

कोभिड–१९ महामारीका कारण आयात घट्यो


काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) का कारण आयात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी भदौ मसान्तसम्मको प्रतिवेदनअनुसार यस अवधिमा कुल वस्तु आयात २२ दशमलव एक प्रतिशतले घटेर एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव दुुई प्रतिशतले घटेको थियो ।

यस अवधिमा कुल वस्तु निर्यात १० दशमलव ५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको दुई महिनामा आयात घटेको र निर्यात बढेकै कारण कुुल वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४ दशमलव नौ प्रतिशतले कमी आई एक खर्ब ५८ अर्ब ४० करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू आवको दुई महिनामा आयाततर्पm नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । गन्तव्यका आधारमा भारततर्फ १८ दशमलव सात प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४ दशमलव नौ प्रतिशत र दुई दशमलव नौ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधि, चाउचाउ, जडीबुटी, जुटका सामान, पश्मिनालगायतका वस्तुको निर्यात बढेको भए पनि पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापातालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव पाँच प्रतिशत, ४० दशमलव एक प्रतिशत र २३ दशमलव छ प्रतिशतले घटेकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको भए पनि पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा तीन दशमलव एक प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुुद्राको सञ्चिति बढ्यो : विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुुई दशमलव तीन प्रतिशतले बढेर २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।

दुई महिनामा भित्रियो एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स : चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह आठ दशमलव एक प्रतिशतले बढेर एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव छ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव छ प्रतिशतले घटेकोे थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९ दशमलव दुुई प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव दुई प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६ दशमलव पाँच प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव चार प्रतिशतले बढेर एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो ।

चालू खाता २६ अर्ब सात करोड रुपैयाँले बचतमा : चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दुई महिनाको अवधिमा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा तीन दशमलव ३७ प्रतिशतले कमी आई एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३ दशमलव तीन प्रतिशतले वृद्धि भई दुई अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया