Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीलाई नयाँ थाल्न सुझाव

सहकारीलाई नयाँ थाल्न सुझाव


काठमाडौं, पुस २५
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै ‘एक घर एक सदस्य र एक सहकारी एक रोजगारी’ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी रोजगारी सिर्जना गर्ने थलो बन्न सक्ने बताइन् । सरकारले गरिबी निवारणको माध्यमका रूपमा सहकारीलाई अगाडि सारेको बताउँदै उनले त्यसको माध्यमको रूपमा भूमिलाई स्रोत सहकारीलाई माध्यम र गरिबीको अन्त्य गर्ने लक्ष्य लिएर मन्त्रालय अगाडि बढ्ने बताइन् ।

सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् । उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्ने बताइन् । विकासको बाधक बनेका कानुन राखेर प्रगति नहुँने भन्दै यस वर्ष सहकारीमैत्री कानुन निर्माणका लागि सक्रिय हुने जानकारी दिइन् । सहकारीले उद्यमशील समाज निर्माणका लागि उदमशीलता र व्यावसायिकतातर्फ अग्रसर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘अब आफ्नो विकासले आफैँ असुरक्षित हुने अवस्थाको अन्त्यका लागि पनि सहकारीले फरक ढंगले विकासको अवधारणालाई अगाडि ल्याउनुपर्छ ।’ उनले सन् २०३० भित्र नेपालको गरिबी शून्यमा झार्ने लक्ष्य रहेको बताइन् ।

उनले सहकारीको संख्या घटाउनका लागि मर्जन गर्ने र निस्कृय संघलाई खारेज गर्ने तयारीमा मन्त्रालय रहेको बताइन् । अन्तरसहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई महत्व दिइएको उनको भनाइ थियो । उनले अन्तरसहकारी चेक सटहीको कार्यलाई समेत छिटो निष्कर्षमा पु-याउने बताइन् । उनले भनिन्, ‘सहकारीमा लगातार एउटै नेतृत्व रहने विषयलाई पनि निरुत्साहित गर्नुपर्छ । नयाँ नेतृत्वको विकासमा विशेष ध्यान दिनुपर्छ ।’

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले आर्थिक वर्र्ष २०७५-०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी समाजिक व्यवसाय भएकाले यसको केन्द्रबिन्दु सदस्य हुने बताए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्त्री अर्यालले सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनिक गरिन् ।

महासंघका अध्यक्ष बडालले सहकारी अभियानको ब्याज सार्वजनिक गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री बालकृष्ण खाँड, सांसद पशुपति चौलागाई, सल्लाहकार गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, रजिष्ट्रार डा. टोकराज पाण्डेलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

आगामी चारवर्षे कार्यकालका लागि साधारणसभाले २२ सदस्यीय सञ्चालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समितिको चयनसमेत गर्नेछ । निर्वाचन शुक्रबार हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य तथा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन आएका पर्वत जिल्ला सहकारी संघका अध्यक्ष महेन्द्रजंग लामिछानेको गोंगबुबाट पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको कार्यलय आउँदै गर्दा असामयिक निधन भएकोमा सभाले श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया