Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबंगलादेशसँग पारवहन र पर्यटन क्षेत्रमा सम्झौता हुने

बंगलादेशसँग पारवहन र पर्यटन क्षेत्रमा सम्झौता हुने


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमबार बंगलादेश जाँदै छिन् । भ्रमणको क्रममा दुई देशबीच पारवहन तथा वाणिज्य, पर्यटनलगायतका विषयमा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–बंगलादेशको सम्बन्ध थप प्रगढ बन्न मद्दत पुग्ने बताइन् ।
यस्तै भ्रमणको क्रममा नेपाल र बंगलादेशबीच हुने रोहणपुर (बंगलादेश) – सिंहावाद (भारत) कार्गो रेल सञ्चालन लागि दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।यस्तै नेपाल र बंगलादेशबीच हुने कार्गो रेल सेवाको समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी प्रदान गरेको सोमबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

यसैबीच सचिव भट्टराईलाई दुई मुलुकबीच कार्गो रेल सञ्चालन गर्ने विषयमा धेरै अघिदेखि छलफल हुँदै आएको बताए । ‘दुई मुलुकबीच व्यापार सहज गर्ने उद्देश्यले कार्गो रेल सञ्चालनको विषयमा विभिन्न समयमा छलफल हुँदै आएको थियो, यो तत्काल उठेको विषय होइन’, उनले आर्थिक दैनिकसँग भने, ‘अहिले भने कार्यान्वयन अर्थात् सम्झौताको चरणमा जानलागेको हो, त्यसको लागि मन्त्रिपरिषद्ले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।’

यस्तै मन्त्रिपरिषद्ले नेपाल र बंगलादेशबीच हुने मानव, पशुपन्छी र बोटबिरुवाको स्वस्थतामा सहकार्य (स्ट्रेंगदनिङ सेनेटरी र फाइटोसेनेटरी कोअपरेसन) गर्नेसम्बन्धी मस्यौदामा नेपालको तर्फबाट हस्ताक्षर गर्नका लागि पनि सचिव भट्टराईलाई अख्तियारी प्रदान गरेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणको क्रममा दुई पक्षबीच ‘पर्यटन सहयोग’ र ‘नेपाल र बंगलादेशको सांस्कृतिक कार्यक्रम आदानप्रदान कार्यक्रम २०२२–२०२५’ मा समेत हस्ताक्षर हुने भएको छ ।भ्रमणमा राष्ट्रपति भण्डारीका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै विभिन्न मन्त्रालयका सचिवहरु सहभागी हुनेछन् । यसैबीच कति सदस्यको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाने लागेको विषयमा भने परराष्ट्रले खुलाएको छैन ।

यस्तै सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्ष पदमा अमरगढी नगरपालिका –८ डडेल्धुराका विनोदकुमार जोशीलाई नियुक्त गरेको छ ।वाणिज्य र पर्यटन क्षेत्रमा सम्झौता हुने भनिए पनि दुई मुलुकबीच सम्झौता तथा सहकार्य हुने अन्य विषयबारे भने परराष्ट्र जानकार नरहेको बताइएको छ । परराष्ट्र स्रोतले भने पारवहन, पर्यटनका साथै ऊर्जामा समेत दुई पक्षबीच सम्झौता हुने बताएको छ । सन् २०१९ नोभेम्बर १२–१५ तारिखमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमण गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया