Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतमा पाम तेलको प्रतिबन्धले नेपाली उद्योगलाई अर्बौंको क्षति

भारतमा पाम तेलको प्रतिबन्धले नेपाली उद्योगलाई अर्बौंको क्षति


विराटनगर, पुस २७
भारत सरकारले गत बुधबार अर्थात् जनवरी ८ तारिखदेखि एक्कासि पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । पाम आयल नेपालको प्रमुख निकासी वस्तु भएको हुँदा नेपालको औद्योगिक वातावरण नै तरंगित बन्न पुगेको छ । पाम आयलको नेपालमा उत्पादनको सबै हिस्सा भारतमा निकासी हुँदै आएको अवस्थामा भारत सरकारले गरेको प्रतिबन्धका कारण नेपाली उद्योगहरु रुग्ण अवस्थामा पुग्ने प्रबल सम्भावना रहेको छ । चालू आवको पाँच महिना साउनदेखि मंसिर महिनासम्ममा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ ।

कुल निर्यातमा पाम तेलले २४.२५ प्रतिशत धानेको अवस्था रहेको थियो । पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड मात्र रहेको कुरा भन्सार स्रोतले बताएको छ । स्रोतका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बुधबार अर्थात् जनवरी ८ तारिखका दिन भारतीय भन्सारहरुलाई पत्र लेखी वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हुँदा कुनै पनि भन्सारसम्बन्धी काम नगर्न निर्देशन गरेको छ । नेपाली उद्योगीहरुका अनुसार पाम उत्पादकहरु नेपालका लागि यो नटबोल्ट प्रविधिमा आधारित उद्योग हो ।

इन्डोनेसियाबाट कच्चापाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो । नेपालको उत्पादन नभएकाले कच्चा वस्तुदेखि निकासी हुँदासम्म यसले विभिन्न चरणका मूल्य सिर्जना गर्नुपर्ने मूल्यवृद्धिको लाभ नेपाललाई थिएन । तर पनि नेपाली उद्योगहरुले जोखिम मोलेर आयात गरी नेपाल भित्र्याउँदै पुनः भारततर्फ निकासी गर्दै आएकोमा यस्तो निर्णयले सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित पाँच उद्योगहरुको भविष्य अनिश्चित बनेको दाबी उद्योगी तथा व्यवसायीको थियो । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएका पशुपति खाद्य तेल उद्योग, बाबा भेजिटेबल आयल, श्रीराम रिफाइनरी उद्योग, स्वस्तिक आयल र क्वालिटी आयल उद्योगहरु पछिल्लो भारतीय प्रतिबन्धका कारण नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

नेपाली उद्योगीले दिएको जानकारीअनुसार भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने इन्डोनेसिया या मलेसियाजस्ता राष्ट्रबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तोकिएको थियो । नेपालले भारतमा निकासी गर्दा भन्सार लाग्दैन थियो । त्यसकारण इन्डोनेसियाबाट पाम तेल ल्याउँदा नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो । नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार अल्पविकसित मुलुकका रुपमा नेपालले भारतीय बजारमा निकासी गर्दा भन्सार लाग्दैन थियो । तर कुनै पनि वस्तु निकासी गर्दा नेपालमा ३० प्रतिशत गुणवत्ता अभिवृद्धि भएको हुनुपर्थ्यो ।

३० प्रतिशत भन्सार महसुलको फरकको लाभकै कारण नेपालमा इन्डोनेसियाबाट पाम आयल आयात गरेर सामान्य प्रशोधनपछि भारत पठाउने क्रमले तीव्रता पाएको थियो । चालू आवको पहिलो पाँच महिनामा नेपालले इन्डोनेसियाबाट १० अर्ब १२ करोडको पाम तेल आयात गरेको कथन उद्योगीको थियो । पाम तेल आयातले इन्डोनेसिया आयाततर्फ भारत र चीनपछि तेस्रो प्रमुख व्यापारिक साझेदारका रूपमा देखिएपछि भारत सरकारले हठात् रुपमा पाम तेलमा प्रतिबन्ध लगाएको दाबी उद्योगी तथा ब्यवसायीको हो ।

नेपाल–भारत सन् १९९६ को उदार वाणिज्य सन्धिले नेपालबाट भारतमा निकासी वृद्धि भएको थियो । जसमा वनस्पति घिउ, तामाको तार, जिंक अक्साइडजस्ता वस्तु प्रमुख निकासीका रूपमा थिए । तर, भारतले सन् २००४ मा निकासीमा कोटा प्रणाली तोकिदिएपछि सम्बन्धित उद्योग संकटमा परेका थिए । अहिले आएर फेरि पाम तेलमा प्रतिबन्ध लगाएसँगै नेपाली तेल उद्योगहरु संकटमा पर्न पुगेका छन् । केही वर्षअघि सुपारी निर्यातमा पनि यस्तै समस्या देखिएको थियो ।

नेपालमा उत्पादन भएको परिमाणभन्दा भारतमा बढी सुपारी निकासी हुनथालेपछि भारतले प्रश्न उठाएर रोकिदिएको घटना अहिले नेपाली उद्योगिहरुका लागि अविस्मरणीय रहेको भनाइ औद्योगिक करिडोरका उद्योगीको हो । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ११ अर्ब ५२ करोड रुपैयाँको पाम तेल निर्यात गरेको थियो । यो अवधिमा एकल वस्तु निर्यात गरेर देशले आर्जन गरेको सबैभन्दा ठूलो रकम भएको दाबी पनि उद्योगीको छ । आश्चर्य लाग्दो कुरा के हो भने नेपालले आफैं पाम तेल उत्पादन गर्दैन । नेपाली व्यापारीहरूले यसलाई कच्चा मालको रूपमा इन्डोनेसिया, मलेसिया र थाइल्यान्डजस्ता मुलुकबाट आयात गर्ने गर्दछन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित पशुपति खाद्य तेल उद्योग, श्रीराम रिफाइनरी आयल प्रोडक्ट, स्वस्तिक आयल इण्डष्ट्रिज, बाबा भेजिटेबल आयल इण्डष्ट्रिज र क्वालिटी आयल रिफाइनरी प्रालि समेत गरी मोरङ र सुनसरीमा पाँचवटा उद्योगले कच्चा पाम आयल आयात गर्ने गर्दछन् । ती उद्योगले चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा छ अर्ब ७३ करोड ९३ लाख मूल्यबराबरको पाम आयल आयात गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ७४ करोड ६७ लाख मूल्यबराबरको पाम आयल यहाँका पाँच उद्योगले आयात गरेका थिए । त्यसबाट गत आर्थिक वर्षको पाँच महिनामा नेपाल सरकारलाई भन्सार महसुलबापतको १९ करोड ४६ लाख राजस्व प्राप्त भएको थियो ।

चालू आवको पाँच महिनामा भने ४१ करोड ६७ लाख २४ हजार राजस्व प्राप्त भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भारत सरकारले यसरी हठात् गरेको निर्णयले नेपालका खाने तेल उद्योगीहरू चिन्तित भएका छन् । निर्बाध रूपमा तेल निर्यात भइरहेको कारण नेपाली उद्योगीहरूले ठूलो परिमाणमा कच्चा पाम आयल मगाएका छन् । अहिले पनि इनण्डोनेसिया र मलेसियाबाट विराटनगरका लागि २५ अर्ब मूल्यबराबरको कच्चा पाम आयलको सौदा उद्योगीहरुले गरिसकेको बताएका छन् । उक्त पाम तेल अब नेपाली उद्योगीहरुको लागि निल्नु न ओकल्नु भएको उद्योगीहरुले बताएका छन् । गत बुधबार भारत सरकारको एकपक्षीय रुपमा आएको सो निर्णयले गर्दा विराटनगर भन्सार नाकाबाट भारत निकासी हुनलागेको पाम आयल भन्सार नाकामै रोकिएको छ । तयारी माल पनि अब गोदाममै थन्क्याएर राख्नुपर्ने अवस्था सृजना भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया