Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक अनुदान र ऋण वृद्धि

वैदेशिक अनुदान र ऋण वृद्धि


काठमाडौं, पुस २८
चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिना अर्थात् साउनदेखि मंसिर मसान्तसम्म नेपाललाई १२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ । उक्त अनुदान अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा एक सय ७८ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा वैदेशिक अनुदान चार अर्ब ४२ करोड मात्र प्राप्त भएको थियो । अर्थ मन्त्रालयका अनुसार अनुदानको साथै संघीय सरकारले वैदेशिक ऋण पनि चालू आर्थिक वर्षमा अघिल्लो वर्षको यही अवधिको तुलनामा वृद्धि गरेको छ । उक्त ऋण तथा अनुदान विकास कार्यमा खर्च गरिने भएकाले अघिल्लो वर्षभन्दा यस वर्ष विकास/निर्माणका काम धेरै हुने अपेक्षा सरकारले गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा संघीय सरकारले २७ अर्ब ९० करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब ६५ करोड रुपैयाँ मात्र ऋण प्राप्त भएको थियो । यस वर्षको पाँच महिनाको वैदेशिक ऋणको वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक सय चार दशमलव पाँच प्रतिशत बढी हो । दातृनिकाय तथा राष्ट्रहरुले सरकारलाई अनुदान तथा ऋण नपत्याएको प्रचार भइरहेको बेला चालू आर्थिक वर्षमा दुवै रकममा वृद्धि हुँदै गएको छ ।

संघीय सरकारले चालू आर्थिक वर्षमा वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख र वैदेशिक ऋण दुई खर्ब ९८ अर्ब ६३ करोड ३३ लाख लिएर बजेट घाटा पूर्ति गर्ने घोषणा गत जेठ १५ गते ल्याएको बजेटमा उल्लेख गरेको थियो । अनुदान सरकारले अपेक्षा गरेअनुसार वृद्धि भए पनि ऋणको अंक भने बढ्नसकेको छैन ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक समावेश भएको अर्थ बुलेटिनका अनुसार सार्वजनिक ऋण तथा वैदेशिक सहयोगमा वृद्धि हुँदा २०७६ मंसिरसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ९८ अर्ब पुगेको छ । उक्त ऋणमध्ये आन्तरिक तर्फको ऋण चार खर्ब ५१ अर्ब ५५ करोड र वैदेशिक ऋण छ खर्ब ४६ अर्ब ९५ करोड पुगेको छ । पाँच महिनामा संघीय सरकारले आन्तरिक ऋणतर्फ एक अर्ब ९४ करोडबराबरको सावाँ भुक्तानी र आठ अर्ब ८९ करोड ५४ लाखबराबरको ब्याज भुक्तानी गरिसकेको छ । त्यसैगरी, वैदेशिक ऋणतर्फ सावाँको सात अर्ब ३० करोड र ब्याज एक अर्ब ५० करोड ६१ लाख भुक्तानी गरेको छ ।

आन्तरिक आम्दानीलाई जोड दिएको सरकारले करको दायरा पनि वृद्धि गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत मंसिर मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताहरुको संख्या ३० लाख ६१ हजार सात पुगेको छ । गत असार मसान्तसम्म करदाताहरुको संख्या २१ लाख ७२ हजार दुई सय मात्र रहेको थियो । चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ३० हजार दुई सय ९४ नयाँ करदाताहरु मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका छन् । मंसिर मसान्तसम्म अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ९४ हजार एक सय ९९ पुगेको छ ।

यस्तै वस्तु निकासी पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ९७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६१ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु निकासी ११ दशमलव दुई प्रतिशतले बढेर ३७ अर्ब ५० करोड रहेको थियो । भारततर्फ ६८ दशमलव ३९ प्रतिशत, चीन तर्फ एक दशमलव ८१ प्रतिशत र अन्य देशतर्फ २९ दशमलव ८० प्रतिशतको निकासी अनुपात छ । भारततर्फको निकासी अघिल्लो वर्षको तुलनामा ४८ दशमलव ५८ प्रतिशतले बढे पनि चीनतर्फको ६ दशमलव २४ प्रतिशत र अन्य देशतर्फको निकासी तीन दशमलव २५ प्रतिशतले घटेको छ । पाँच महिनाको अवधिमा पाम आयल, भटमासको तेल, अलैंची, सल, दोसल्ला, पछ्यौरालगायतका वस्तुको निकासी बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया