Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य सामग्री ढुवानीलाई विशेष प्राथमिकता

स्वास्थ्य सामग्री ढुवानीलाई विशेष प्राथमिकता


काठमाडौं ।
कोरोना संक्रमण बढ्दै जाँदा सरकारले निषेधाज्ञाको समयमा स्वास्थ्य सामग्री ढुवानीलाई विशेष प्राथमिकता दिएको छ । सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयलाई ढुवानी तथा आयातको लागि पहिलो प्राथमिकता स्वास्थ्य सामग्रीलाई राख्नको लागि निर्देशन दिएको छ । सोसँगै मन्त्रालयले सम्पूर्ण भन्सार कार्यालयहरूले द्रुतगतिमा स्वास्थ्य सामग्री जाँचपास गरी सहज आयातको वातावरण बनाइदिन आग्रह गरेको छ । मन्त्रालयका अधिकारीका अनुसार कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भनेर औषधि, औषधिका कच्चापदार्थ, स्वास्थ्य उपकरणलगायतका स्वास्थ्य सामग्री छिटो जाँचपास गर्न सम्पूर्ण भन्सार कार्यालयलाई निर्देशन दिइएको छ ।

यता गृह, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू रहेको द्रुत समूहले पनि स्वास्थ्य सामग्रीका ढुवानी आपूर्ति र वितरण प्रणालीलाई विशेष प्राथमिकता दिएको जानकारी दिएको छ । समूहले औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरण आयात तथा ढुवानी गर्दा कुनै समस्यामा भएमा आफूहरूलाई जानकारी गराउन समेत आग्रह गरेको छ । यस्तै समूहले मुलुकभित्र रहेको औषधि, औषधिजन्य सामग्री तथा स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनमा समेत विशेष ध्यान दिएको पाइन्छ ।

सोही क्रममा अक्सिजन उद्योगहरूमा विद्युत् तथा पानीको नियमित एवं निर्बाध रुपमा आपूर्तिको सुनिश्चितता गर्न खानेपानी मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ । उक्त कार्यमा आवश्यक समन्वयको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत अनुरोध गरिएको बताइएको छ । समूहले अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग तथा प्लान्टहरूमा भरपर्दो सुरक्षा व्यवस्था उपलब्ध गराउन गृहलाई जानकारी गराएको छ भने गृहले सुरक्षा प्रदान गर्नको लागि आफूहरू तयार गरेको प्रतिक्रिया समेत दिएको छ ।

सरकारले औषधिजन्य सामग्री उपकरण र अक्सिजनलगायतका सामग्रीहरूमा भन्सार महसुल पूर्ण रुपमा छुट गरेको छ । उद्योग मन्त्रालयका अनुसार स्वास्थ्य सामग्रीका साथै खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको सहज ढुवानीको व्यवस्था मिलाएको छ । हाल विभिन्न भन्सार कार्यालयबाट खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यासलगायतका अत्यावश्यक सामग्रीहरू आयात भइरहेको जनाएको छ ।

मन्त्रालयले हाल दैनिक करिब पाँच अर्ब रुपैयाँबराबरको सामग्री आयात भइरहेको जानकारी दिएको छ । निषेधाज्ञामा खाद्यान्न, तरकारी, औषधिजन्य सामग्रीको आयात सामान्य अवस्थासरह हुँदा सवारीसाधन, मेसिनरी सामग्री, हवाइ तथा सवारीसाधनका पार्टपुर्जा, विद्युतीय सामग्रीको आयातमा भने कमी आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया