Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडकमा विद्युत् प्राधिकरणको अपराध, सडकको जग्गामा पोल गाड्छ पोल सार्न पैसा माग्छ पैसा तिर्दा पनि पोल हटाउन आलटाल

सडकमा विद्युत् प्राधिकरणको अपराध, सडकको जग्गामा पोल गाड्छ पोल सार्न पैसा माग्छ पैसा तिर्दा पनि पोल हटाउन आलटाल


काठमाडौँ, माघ १
नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार विकासका काममा सहजीकरण गर्नुको सट्टा ठाउँ–ठाउँमा अवरोध सिर्जना गर्दै सडक निर्माण तथा विस्तारमा पूर्णतया असहयोग गरेको छ । सडक निर्माण तथा विस्तारलगायतका कार्यमा सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, विभिन्न सडक डिभिजन कार्यालय, सडक योजना र आयोजनाहरु तथा स्थानीय र प्रदेश सरकारले पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि प्राधिकरणले अटेर गरेर विकासका काममा अवरोध सिर्जना मात्र गरिरहेको छ ।

प्राधिकरणको नेतृत्वको चरम बेइमानीको कारण विभिन्न निकायले निर्माण तथा विस्तार गरेका सडकको बीचमै पोल ठडिएका छन् । विभिन्न निकायले सडकको ट्र्याक खोलेपछि प्राधिकरणले सल्लाह नै नगरी सडकको दायाँ तथा बायाँ किनार र कुनामा निर्बाध रुपमा बिजुलीका पोलहरु गाड्ने गरेको छ । प्राधिकरणले यतिसम्म बेइमानी गरेको छ कि कतिपय सडकको डीपीआर भएपछि बिजुलीको पोल लगेर गाड्ने काम गरेको छ । त्यसपछि डीपीआरअनुसार सडक विस्तार गर्न नै रोकिएका छन् ।

ढुवानी गर्दा सस्तो पर्ने तथा निर्माण र मर्मतमा सहज हुने भन्दै सडकको दायाँ/बायाँ र कुना जता मन लाग्छ, त्यतै प्राधिकरणका कर्मचारीले पोल गाडिदिन्छन् । त्यसपछि सडक विस्तार तथा मर्मतका लागि काम थाल्न समस्या पर्छ । सडक निर्माण गर्ने निकायले प्राधिकरणलाई पोल हटाउन आग्रह गर्छ तर प्राधिकरणका अधिकारीहरु विभिन्न बहानाबाजी गर्न थाल्छन्, पैसा तिर्नुपर्छ अनि पोल सार्ने प्रक्रिया सुरु हुन्छ भन्छन् । सडकले पैसा तिर्छ । त्यसपछि प्राधिकरणका अधिकारीहरु भन्छन्, ‘अहिलेको समयमा बिजुलीको लाइन काटेर काम गर्न मिल्दैन । केही महिना पर्खिनुहोस् ।’

प्राधिकरणले भनेको समयसम्म पर्खिनको लागि सडक निर्माणमा नेतृत्व गरेको निकायले ठेकेदारको म्याद थप गर्नुपर्ने हुन्छ । तर, कतिपय यस्ता सडक छन्, जहाँ ठेकेदारलाई म्याद नै थप्न मिल्दैन । अनि ठेकेदारले पोलकै फेदमा पिच गरिदिन्छन् । त्यसपछि सञ्चारमाध्यममा समाचार बन्छ, ‘सडकको बीचको पोल नहटाई सडक पिच गरियो ।’ सामाजिक सञ्जालमा त्यस्ता फोटाहरु भाइरल बन्छन् । सबै दोष सडक निर्माण गर्ने निकायलाई दिन्छन् । तर, सडक निर्माणको काममा अवरोध गरेर अपराध भने प्राधिकरणले गरिरहेको हुन्छ ।

प्राधिकरणले पोल व्यवस्थापन नगरेको कारण कतिपय ठाउँमा पोलमै गाडी ठोक्किएर कतिले ज्यान गुमाइरहेका छन् । ‘सडकमा गहुँ सुकाएको कारण गाडी दुर्घटना भयो भने जसले सडकमा गहुँ सुकाउँछ त्यही व्यक्तिलाई सजाय गर्ने गरिएको छ’, सडक विभागका एक अधिकारीले भने, ‘पोल हटाउन पटक–पटक अनुरोध गर्दा पनि नहटाउने र त्यही पोलमा गाडी ठोक्किएर दुर्घटना भई मान्छेको ज्यान जान्छ भने प्राधिकरणको नेतृत्वलाई व्यक्ति हत्याको अपराध गर्न सहयोग गरेको भनेर पक्राउ गर्नुपर्छ । अनि मात्र सडकमा पोल गाडी प्रवृत्ति कम हुन्छ ।’ सोमबार राति दरबारमार्गबाट घर फर्किने क्रममा निधन भएका गायक निशान भट्टराईको गाडी पनि बानेश्वरको तीनकुनेमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । माइतीघरमण्डलामा पटक–पटक भएका दुर्घटना पनि बिजुलीको पोल नै मुख्य कारक बनेका छन् ।

प्राधिकरणले यतिसम्म चरम लापरबाही गरेर बिजुलीको पोल गाड्ने काम गरेको छ कि उसले सडक किनारमा मात्र होइन सडकको छेउकै नालीमा पनि पोल गाडेर पानीको निकास नै बन्द गरिदिने गरेको छ । साँघुरो सडक भएको भनेर स्थानीयले गुनासो गर्न थालेपछि संघको सडक कार्यालय, स्थानीय र प्रदेश सरकारले पनि सडक विस्तार गरिरहेका छन् । तर, प्राधिकरणले पोल सार्न टेरिरहेको छैन । त्यही कारण सडक विस्तारको काममै अवरोध आएको छ ।

‘प्राधिकरणले सडककै जग्गामा पोल गाड्छ । त्यो गाडेको पोल हटाऊ भन्दा पैसा माग्छ । पैसा दिएपछि अहिले हटाउन मिल्दैन, पछि हटाउँछु भनेर अटेर गर्छ’, सडक विभागका एक सीडीईले भने, ‘सडक विस्तारमा मुआब्जा माग्ने व्यक्तिहरुले बिजुलीका पोल गाडेको भने मुआब्जा माग्ने गरेका छैनन् । विकासको मेरुदण्ड सडक भन्ने अनि सबैतिरबाट सडकमाथि प्रहार गर्ने काम भएको छ । सडकको जग्गामा पोल गाडेपछि तत्काल हटाउनुपर्छ ।’

प्राधिकरणले स्थानीय र साना सडक मात्र होइन, राष्ट्रिय राजमार्गमा पनि सडकको किनारमा लगेर पोल गाडिदिएर सडक विस्तारलाई अवरोध गरेर अपराधजन्य काम गरिरहेको छ । अहिले काठमाडौंको स्वयम्भू क्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक विस्तार गरिरहेको छ । तर, प्राधिकरणले पोल हटाउन नमानेपछि ठेकेदार कम्पनीले पोल नै राखेर धमाधम पिच गर्न थालेको छ । यदि पिच नगर्ने हो भने उसले हर्जना तिर्नुपर्ने अवस्था छ । तर, प्राधिकरणका अधिकारीहरु सडकसँग पैसाको बार्गेनिङ्ग गरेर बसिरहेका छन् ।

स्वयम्भूमा मात्र होइन सामाखुसी, गोंगबु, महाराजगञ्जलगायतका रिङरोड पनि वर्षौँदेखि कालोपत्रे सडकमै बिजुलीका पोलहरु ठडिएका छन् । प्राधिकरणले त्यसलाई हटाउने काम नै गरेको छैन । काठमाडौं उपत्यकाभित्र मात्र होइन बाहिरका जिल्लाहरुमा जहाँ सहज तरिकाले जता पनि पोल गाड्न वा सार्न पाइन्छ त्यहाँ पनि प्राधिकरणले सडक विस्तारमा भाँजो हाल्ने काम मात्र गरिरहेको छ ।

‘सडक विभागले धेरै ठाउँका समस्या समाधान गर्न प्राधिकरणको नेतृत्वलाई पटक पटक आग्रह गरेको छ’, विभागका ती अधिकारीले भने, ‘बैठकमा हुन्छ भन्छ । तर, बाहिर गएपछि काम नै गर्दैन ।’ प्राधिकरणको असहयोगकै कारण देशभर सडकका धेरै काममा अवरोध खडा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया