Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना कहरमा नेतृत्व : ट्रम्प, मोदी र ओली कति समान कति भिन्न ?

कोरोना कहरमा नेतृत्व : ट्रम्प, मोदी र ओली कति समान कति भिन्न ?


काठमाडौं ।
एकताका संसारभरको सबैभन्दा बढी कोरोनाग्रस्त देशका रुपमा प्रकट भएको अमेरिकाले यसै हप्ता नेपालको छिमेकी र खुला सीमा भएको देश भारतमा कोरोना महामारीले ‘सुनामी’को रूप लिएको ठहर ग-यो र आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न निर्देशन नै दियो ।

उसले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गर्नुको कारणमा भारतमा कोरोनाका संक्रमण बढ्ने क्रमसँगै स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थाल्नु रहेको बताइएको छ । त्यसमा सकेसम्म चाँडो भारत छाड्न भनेको अवस्थाले धेरै कुरा बताउँछ ।

यो चौथो तहको ट्राभल एडभाइजरी हो । यस्तो ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ । अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा भनिएको छ, ‘अमेरिकी नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आग्रह गरिन्छ ।’

भारत केही समययता संसारकै सबैभन्दा बढी कोरोनाग्रस्त देशका रुपमा प्रकट हुँदै छ । आफ्नो देशमा भारतीय नागरिकलाई प्रवेश गर्न निषेध गर्ने संसारभरका देशको संख्या पनि बढिरहेको छ । बेलायतलगायतका दर्जनौँ मुलुकहरुले पनि महामारीकै कारण देखाएर भारतबाट हुने उडान बन्द गरिसकेका छन् ।

विस्तार कस्तो भने यी पंक्ति लेखिँदाको दिनका पछिल्लो चौबीस घण्टामा मात्र तीन लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् भने करिब चार हजार जनाले ज्यान गुमाएका छन् । दिनहुँ सार्वजनिक भइरहेका समाचारअनुसार महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ ।

आजकै मिति वैशाख १७ मा भारतको ठाउँ संसारभर थपिएका संक्रमितमध्ये झण्डै आधा पुगेको भन्ने विवरणहरु आएका छन् । त्यो विवरण भन्छ – कोरोनाभाइरसको दोस्रो लहरमा पछिल्लो २४ घण्टामा संसारभर थपिएका संक्रमितमध्ये झण्डै आधा भारतमै पुष्टि भए ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, आज तीन लाख ८६ हजार आठ सय २९ संक्रमित थपिएका छन् । जब कि संसारभर आठ लाख ८६ हजार छ सय सात संक्रमित पुष्टि भएका छन् । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार दुई सय २५ पुगेको छ भने भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख आठ हजार तीन सय १३ पुगेको छ ।

भारतीय लेखक अरुन्धती रोयका अनुसार दिनहुँ महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको मात्र होइन, लास जलाउने ठाउँ र दाउराको पनि चरम अभाव देखिएको छ । माथिको यो विवरण दुईवटा कारणले यहाँ उल्लेख भएको हो ।

पहिलो, भारत नेपालको खुला सीमा र संसारभरकै ठूलो जनसंख्या भएको देश हो । नेपालले धेरै कुरा त्यहीँबाट आपूर्ति गर्नुपर्छ जो नेपालमा रोकथाम र अत्यावश्यक उपचार निर्भर हुन्छ । भारतमा नै त्यसको अभाव छ भने नेपालले कसरी पाउला ? यतिबेला अर्को समस्या थपिएको छ नेपालका लागि । नेपालबाट हुने उडान प्रयोग गरेर भारतीयहरु अन्यत्र जाने । यसले भारतमा देखिएको भयावहता त्यो देशमा मात्रै कायम रहला भन्ने मान्न सकिन्न ।

दोस्रो, यो देशले केहीपहिले मात्र कोरोनामाथि विजय प्राप्त भएको घोषणा गरेको थियो । त्यो घोषणाले नै बताउँछ नेतृत्वका आकलन कसरी असफल हुँदै छन् भन्ने । भारतीय एक जना वरिष्ठ पत्रकार पी. रमनको लेख (२७ अप्रिल) अनुसार उच्च नेतृत्वले कोरोनामा विजय प्राप्त गरेको भनी बताएपछिको अवस्थामा कोरोना झन् भयावह भयो ।

‘२५ मार्चमा उन(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी)ले महाभारत युद्ध १८ दिनमा सकिएजस्तै कोरोनाभाइरस नामको सैतानलाई पराजित गर्न जम्मा २१ दिन लाग्ने बताएका थिए । ‘जा, कोरोना जा’ भन्ने गीत ‘कोरोना भाइरस भुत’ लखेट्ने ‘मन्त्र’ बन्यो । प्रधानमन्त्रीले यस्ता निर्णयहरू लिइरहँदा सरकारका अन्य अंगहरू भने प्रधानमन्त्री कार्यालयका घोषणाहरूको संकेत ग्रहण गर्नका लागि मात्र छोडिएका थिए ।

सन् २०२१ को सुरुवातमा कोभिड–१९ को असर न्यून भएको समयलाई आफैँलाई बधाई दिने र उत्सव मनाउने क्षणको रूपमा लिइयो । १७ जनवरी २०२१ मा गृहमन्त्री अमित शाहले प्रधानमन्त्री मोदीलाई ‘मानवजातिले सामना गर्नुपरेको सबैभन्दा ठूलो संकटसँग सफलतापूर्वक जुध्न सफल भएकोमा’ बधाई दिए । १६ फेब्रुअरी २०२१ मा मोदी आफैँले कोभिड–१९ विरुद्ध भारतको सफल संघर्षले सिंगो विश्वलाई प्रेरणा दिएको दाबी गरेका थिए ।’

यहीँनेर जोडिन आउँछ– माथि उल्लिखित अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरी जसमा अमेरिकी नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आग्रह गरिएको प्रसंग ।

१६ फेब्रुअरी २०२१ मा मोदी आफैँले कोभिड–१९ विरुद्ध भारतको सफल संघर्षले सिंगो विश्वलाई प्रेरणा दिएको दाबी गरेका अवस्थामा त्यसको दुई महिना नबित्दै स्थिति यति भयावह भयो, सिंगो विश्वलाई प्रेरणा होइन सन्त्रास दिइरहेको रहेछ र संसार एकातिर र भारत अर्कातिर भएर संक्रमण विस्तार भइरहेको अवस्था पुगेछ । यसैकारण होला कोरोनाको विस्तार र नेतृत्वसँग साइनो जोडिँदो रहेछ भन्नुपरेको अवस्था । घटना विवरणले पनि त्यस्तै भन्छन ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत दिनेश न्यौपानेले कोरोनाको व्यवस्थापनले नेतृत्वको उत्थान र पतन नै गराएको अवस्थाको चित्रण गरेका छन् । उनका अनुसार ‘अमेरिकी राष्ट्रपतिको उम्मेदवार घोषणा हुने बेला धेरैले डोनाल्ड ट्रम्पका अगाडि जो बाइडेन कमजोर हुने आकलन गरेका थिए । तर, कोरोना भाइरसविरुद्ध लिएको रणनीति ट्रम्पको पराजयको एउटा प्रमुख कारण बन्न पुग्यो ।

केही महिना अगाडिसम्म अत्यन्तै शक्तिशाली देखिएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवस्था केही हप्ताको कोरोना आतंकले नाजुक बनाइदियो । कोरोनाको व्यवस्थापनमा त्रुटि हुनेबित्तिकै त्यसले स्थापित राजनीतिज्ञ र पार्टीको भविष्य पनि धरापमा पार्न सक्छ भन्ने यी उदाहरण मात्र हुन् ।

नेपाल सरकारले पनि कोरोना महामारीको सम्भावित क्षतिलाई बेलैमा आकलन गरेर प्रभावकारी कार्यक्रम ल्याउन सकेन भने सत्तारूढ पार्टी र धेरै नेताको राजनीति धरापमा पर्न सक्छ । यहाँ पार्टीको मात्र कुरा छैन; यदि राजनीति गर्ने मुख्य दलका नेताहरू संवेदनशील भएनन् भने महामारीले ठूलो असर त गर्छ नै, भर्खर वामे सर्दै गरेको लोकतन्त्रलाई पनि हित गर्दैन ।’

कोरोना नियन्त्रणमा त्यसबेला अमेरिकी नेतृत्वको कमजोरी प्रारम्भदेखि नै अन्यथा हुने गरी विश्वव्यापी भइसकेका थिए । जब नेतृत्वले महशुस गर्न थाल्यो, त्यसबेला धेरै ढिलो भइसकेको थियो । अब त त्यहाँको त्यो नेतृत्व नै रहेन । त्यो प्रसंग उदाहरणका लागि मात्र आफ्नो ठाउँमा रहन गयो । कोराना संकमणमा भारतको विद्यमान नेतृत्व कुन–कुन ठाउँमा चुक्यो र औषधि उपचारका कुरा त पर छाडौँ लास जलाउन दाउराको समेत अभाव झेलिरहेको छ भन्ने नेपालका लागि सिक्ने ठाउँ हुनुपर्छ तर त्यस्तो देखिएन ।

भारतमा करोड मान्छेको एक ठाउँमा जमघट भएको कुम्भदेखि चुनावी प्रचार संसारभर चर्चामा छन् कोरोना विस्तार हुनुका कारणमध्येमा । यसबारे थप चर्चा अर्को भागमा गरौँला । नेपालले त्यसबाट केही पाठ सिकेको छ त ? यतिबेला यो प्रश्न सबैभन्दा गम्भीर होलाजस्तो लाग्छ । तर पाठ सिकिएजस्तो देखिएको छैन । त्यसका साना–साना उदाहरण लिए पुग्ला ।

समाचार एक : बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘प्रधानमन्त्री आइसोलेसनमा हुनुहुन्न’, उनले भने ।

गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ । ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ । सरकारले नै जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै एमालेको बैठक बसेको थियो ।

समाचार दुई : गएको आइतबार (१२ वैशाख) बालुवाटारमा बसेको नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नेताहरु टोपबहादुर रायमाझी, खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको हो । केन्द्रीय सदस्य रिजालले बुधबार आफू संक्रमण भएको जानकारी फेसबुकमार्फत गराएका छन् । त्यस्तै, ऊर्जामन्त्री समेत रहेका रायमाझी सैनिक अस्पतालमा उपचार गराइरहेका उनको सचिवालयले जनाएको छ ।

संक्रमण बढिरहेका बेला कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै सत्तारुढ एमालेको बैठक बसेको थियो । समाचारको यो अंश पनि नोटमा राखियोस् । यो अनलाइनको यही ठाउँमा बालुवाटारको यो बैठककाबारे रिपोर्ट भइसकेको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेपछि नै १०/१२ वैशाखमा लगातार यस्तो बैठक चलेको थियो जसमा यी दिन त्यो ठाउँमा करिब १५ सयको संख्याका मान्छेहरु एक ठाउँमा भेला भएका थिए । यो आयोजक कमिटीको सदस्य संख्या नै २६५ को छ ।

जुन बेलामा नेतृत्वले आफ्नै आदेश उल्लंघन ग-यो, त्यहीँबाट कोरानाको संकमण फैलिएको यो घटनालाई संक्रमण विस्तारका सन्दर्भमा सामान्य मान्न हुँदैन । कोरोना संकमणको विस्तार हुनका लागि छिमेकी देश भारत र नेपालको नेतृत्वले मैदान बनाइदिएका उदाहरण थुप्रै छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया