Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको निर्यात व्यापार १ खर्ब बढी

मुलुकको निर्यात व्यापार १ खर्ब बढी


काठमाडौं ।
मुलुकको निर्यात व्यापार एक खर्ब रुपैयाँमाथि पुगेको छ । सोसँगै सरकारको एक दशकअघिको निर्यात व्यापार लक्ष्य हाल आएर पूरा भएको छ । २०६४ मा सरकारले ल्याएको तीन वर्षीय अन्तरिम योजनाले निर्यात मूल्य १ खर्ब रुपैयाँ पु-याउने लक्ष्य लिएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप चालू आर्थिक वर्षको १० महिनाको अवधिमा निर्यात व्यापार एक खर्ब आठ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यातमा ३२.१९ प्रतिशतले वृद्धि हुँदा निर्यात एक खर्ब रुपैयाँभन्दा माथि हुन गएको हो । आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिमा भने निर्यात व्यापार ८२ अर्ब छ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

निर्यातजन्य प्रमुख वस्तुहरुमा सोयाबिन तेल, धागो (तयारी पोसाक), पश्मिना, हस्तकलाका सामग्री, फुटवयेर, गलैँचा, चियालगायतका उत्पादनहरु छन् । १० महिनाको अवधिमा सबैभन्दा बढी सायोबिन आयल निर्यात भएको छ । विभागका अनुसार १० महिनाको अवधिमा ३५ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ सायोबिन आयल, पाँच अर्ब ९७ करोड ९४ लाखको अलैँची, करिब चार अर्बको धागो (तयारी पोशाक), तीन अर्ब १६ करोडको चिया निर्यात भएको छ ।

उत्पादनमा वृद्धि हुनु तथा कच्चा पदार्थ आयात गरी तयारी वस्तु उत्पादनमा वृद्धि हुनुले गर्दा निर्यात व्यापार बढेको विभागको भनाइ छ । कोभिड १९ को असहज परिस्थितिमा समेत निर्यात बढ्नु सुखद पक्ष मान्न सकिन्छ तथा बन्दाबन्दीमा पनि उद्योग धन्दा चलायमान बनाउनुको परिणामको रुपमा समेत यसलाई हेर्न सकिन्छ ।

यस्तै गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयातमा भने २२.३४ प्रतिशतले वृद्धि हुँदा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको पाइन्छ । गत आवमा भने १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको आयात भएको थियो । नेपालमा कृषिजन्य सामग्रीका साथै विद्युतीय सामग्री, सवारीसाधन तथा त्यसका पार्टपुर्जा, मोबाइललगायतका सामग्री आयात गरिन्छ जसले गर्दा ठूलो रकम आयातमा खर्च हुने गरेको पाइन्छ ।

१० महिनाको अवधिमा मुलुकको व्यापारघाटा गत आर्थिक वर्षको तुलनामा २१.४८ बढेको छ । चालू आर्थिक वर्षमा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ व्यापारघाटा मुलुकले व्यहोर्नुपरेको छ । यस्तै गत आर्थिक वर्षको सोही अवधिमा भने मुलुकको व्यापारघाटा नौ खर्ब ४३ अर्ब सात करोड रुपैयाँ रहेको विभागले जनाएको छ । उच्च आयात र न्यून निर्यातका कारण नेपालले भारतलगायत तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोर्नुपरेको छ ।

यसैबीच सोही अवधिमा कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको तुलनामा २३.७ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षमा १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ कुल वैदेशिक व्यापार रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा भने ११ खर्ब सात अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

यसैबीच विभागले अबको दुई महिनामा निर्यात वृद्धि हुने भन्दै करिब २० अर्बले निर्यात बढ्न सक्ने आँकलन गरेको छ । व्यापार विज्ञहरुले मुलुकको व्यापारघाटा कम गर्नका लागि उत्पादनमा जोड दिई नजिकका भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकमा बजार प्रवर्द्धन गर्नसक्ने बताउँदै आएका छन् तर सरकारको उत्पादनमा वृद्धि गर्ने नीति सही हुन नसक्दा निर्यात व्यापार न्यून हुने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया