Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदीय समितिको निर्देशनविपरीत धमाधम सुपारी आयात

संसदीय समितिको निर्देशनविपरीत धमाधम सुपारी आयात


विराटनगर ।कोभिड १९ को महामारीका कारण अहिले पूरै देश निषेधाज्ञामा भएको मौका छोपेर सुपारीको धन्धा गर्न पल्केका व्यवसायीले विभिन्न भन्सार नाकाहरूको प्रयोग गरी तेस्रो मुलुकबाट सुपारीको आयात सुरु गरेका छन् । सुपारी डनको उपनामले चिनिएका केही व्यवसायीले यो निषेधाज्ञाको समयमा तेस्रो मुलुकबाट सुपारीको आयात सुरु गरेका हुन् ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारीलाई नै नेपाली सुपारी बनाएर भारत निर्यात गर्न पल्केका व्यवसायीका लागि सरकार आफैँले कोटा वितरण गरेपछि हाल उनीहरू सुपारी आयातका लागि सक्रिय भएका छन् । नेपाली कृषकलाई नोक्सान भएपछि व्यापक विरोध सुरु भएर रोकिएको सुपारी आयात केही समयअघि सर्वोच्च अदालतको आदेशबाट तत्कालीन मन्त्री र सरकारी अधिकारीसँगको मिलेमतोमा आयात खुला गरी २५ हजार मेट्रिक टन सुपारीको कोटा पाएका विराटनगर र झापाका सुपारी डनहरूले नेपाल भित्र्याउन सुरु गरेका हुन् ।

कमाउन पल्केका सुपारी व्यापारीले कोरोना महामारी र लकडाउनका कारण मुलुक ठप्प बनेको मौका छोपेर पछिल्लो समय सुपारी आयातलाई तीव्रता दिएको सरोकारवालाहरू बताउन थालेका छन् ।सरकारले सुपारीको कोटा वितरण गरेपछि सुपारी आयातमा व्यवसायीको डरलाग्दो सेटिङको रहस्य सार्वजनिक भएको थियो ।

उक्त सेटिङ सार्वजनिकपछि राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको नेतृत्वमा संसदीय छानबिन समिति समेत बनेको थियो । उक्त संसदीय समितिले मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य विभागलाई लिखितरूपमा छानबिन पूरा नहुन्जेल आयात रोक्का गर्न निर्देशन समेत दिएको थियो । तर अहिले संसद् पनि नभएको संसदीय समितिको निर्देशन अमान्य रहेको भन्दै सुपारी डनहरू तेस्रो मुलुकबाट सुपारी आयात गर्न सक्रिय भएको घटना खुलेको हो ।

सरकार आफैँले निर्देशन गरी वाणिज्य विभागबाट देशभित्र सुपारीको अभाव भएको झुटो प्रतिवेदन तयार गरी तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन आयातका लागि कोटा निर्धारणको सूचना जारी गरेर आफ्ना निकटका सुपारी व्यवसायीलाई कोटा वितरण गरेको घटना दुई महिनापहिले नै सार्वजनिक भएको थियो । त्यसबेला पनि आयातका लागि ८५ वटा फर्म तथा कम्पनीले आवेदन दिएकोमा सरकार र सरकारी अधिकारीसँग सेटिङ मिलाउन सफल सुनसरी मोरङका छ व्यवसायीलाई मात्रै अनुमति दिएर हतार–हतार कोटा स्थगन गरेको रहस्य खुलेको थियो ।

सुपारीको कोटा वितरण गर्दा वाणिज्य विभागले झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्ससहितका फर्म तथा कम्पनीलाई मात्रै देशभित्र आवश्यक नै नरहेको सुपारी आयातको अनुमति दिएकोमा व्यापक विरोध भएको थियो । झापाका सुपारी व्यवसायी प्रदिप मित्तल, शंकर अग्रवाल, श्याम अग्रवाल, दिपक पोखरेल अनि मोरङका प्रदिप कुमार मुरारका र दिनेश राठीले मात्रै आयात अनुमति पाएपछि देशभरका सुपारी व्यवसायीले विरोध गरेपछि यो विषय छरफस्ट बनेकोे थियो ।

कोटा पाएका सबै सुपारी व्यवसायीलाई आयातको अनुमति दिलाउन सरकार र व्यवासयीबीचको सेटिङ सौर्य एयरका सञ्चालक दिपक पोख्रेलले मिलाइदिएको दाबी समाचारस्रोतले गरेको हो । त्यति मात्र नभएर विराटनगरका सुपारी व्यापारी दिनेश राठी र व्यवसायी प्रदिप मुरारकालाई पाँच–पाँच हजार मेट्रिक टनका दरले सुपारी आयातको कोटा समेत दिपक पोखरेल आफैँले बिक्री गरेको रहस्य पनि खुलेको थियो । यी सबै सुपारी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरी राखेको सुपारी भारतको पश्चिम बंगाल सीलगुडीका सुपारी व्यवसायी नारायण अग्रवालले खरिद गर्ने व्यवस्था पनि दिपक पोखरेल नै मिलाएको दाबी समाचारस्रोतले गरेको हो । अहिले तेस्रो मुलुकबाट आयात भएको सबै सुपारी वैधानिक र अवैधानिक बाटो हुँदै भारत लाने गरिएको विगतका घटनाहरूले नै पुष्टि समेत गरिसकेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया